काठमाडौं । बालेन नेतृत्व रास्वपा सरकार बनेको पाँच महिनामा सिंहदरबार सुनसान अवस्थामा गुज्रिइरहेको छ । सिंहदरबारका बगैँचाहरु पहिला सरसफाइ र गोडमेल गरेर सजिसजाउ गर्ने चलन थियो । तर, अहिले बालेन सरकार बनेको ५ महिनाको अवधिमा सिंहदरका बगैंचाहरु लथालिङ्ग भएका छन् । बगैंचामा अहिले देबो र झार पलाएको छ । मन्त्रालयको परिसरमा सरकारी गाडीहरुको ताँती लागिरहेको छ भने सेवाग्राहीहरु सुनसान छन् । तामाकोशी प्रतिनिधिले एक मन्त्रालयमा गएर, ‘गाडीहरुको ताँती छ, कर्मचारीहरु कार्यालयमा कम भनिन्छन्, सेवाग्राही सिंहदरबारभित्र आउँदैनन अनि यहाँ के काम हुन्छ ? भन्ने प्रश्न गर्दा कर्मचारीहरुले ‘सरकारले राम्रो काम गरेको छ, सेवाग्राही खुसी छन्, अनलाइन स्टिमबाट काम भएको छ,’ भनेर सरकारको गुनगान गाएको सुनिन्छ । अनलाइन सिस्टमबाट काम भइरहेको छ, अनलाइनबाट काम हुने भएकाले सिंहदरबारमा सेवाग्राही नआउने गरेको बताउँछन् । तर, पटक–पटक बत्ती जाने, सप्टवेयरले काम नगर्ने, साइबर ह्याक हुने कारणले गर्दा सेवाग्राहीहरुले काम लिन सकेका छैनन् ।
त्यसैगरी अधिकांश मन्त्रालयमा स्वकीय सचिव, सचिव र सल्लाहकारहरुको ताँती लागेको छ । तिनीहरुले राज्यबाट सेवासुविधा लिइरहेका छन् । ती सल्लाहकार र स्वकीय सचिवको काम मन्त्रीलाई सल्लाह, सुझाव दिने, सेवाग्राही आएको खण्डमा उनीहरुलाई सहयोग गर्ने नाममा आम्दानीको स्रोत बटुल्ने र रास्वपाका कार्यकर्ताहरुलाई जागिर खुवाउने थलो यतिबेला मन्त्रालय बन्ने गरेको छ । जेनजी युवाहरु पनि जागिर माग्नको लागि रास्वपाको सिफारिस लिएर पूर्वाधार विकास मन्त्रालयदेखि विभिन्न मन्त्रालयमा आफ्नो नाम दर्ता गराउने र कोठासम्म खोजिदिन भन्ने समाचार हामीले केही साता अगाडि पनि सम्प्रेषण गरेका थियौं ।
साउन महिना लागेपछि केही मन्त्रालयका ज्यालादारी, अस्थायी र करारका कर्मचारीलाई काम गर्न नदिएर पन्छाएपछि ती खाली भएका दरबन्दीहरुमा जेनजी कर्मचारीहरु भर्ना गर्ने तयारी रहेको बताइन्छ । तर, भदौ १० को बाढीपहिरोको कारण सो काम रोकिएको स्रोतले बताइन्छ । दल निकट कर्मचारीहरुलाई यो नियम र त्यो नियम ल्याउने भन्दै जागिरबाट हटाउने खेलोफड्को भइरहेको छ । केही कर्मचारी फाजिलमा राख्ने र कामको जिम्मेवारी नदिने प्रवृत्ति बढेपछि ५ सयभन्दा माथि कर्मचारीहरुले राजीनामा दिइसकेका छन् । राजीनामा दिनुको मुख्य कारण सरकारले कहिले नियमबिपरीत काम लगाउने र जथाभावी सरुवा गर्न थालेपछि कुन अवस्थामा कहाँ फसिने हो भन्ने डरले पनि कर्मचारीहरुले राजीनामा दिने गरेका हुन् । अहिले केही उच्च तहका कर्मचारीहरुलाई फाजिलमा राखेर काम लगाइएको छैन । फाजलमा रहेका कर्मचारीहरुलाई आकास्मिक ठाउँमा पठाउने र काम नगरेको खण्डमा जागिर छोड्न वाध्य बनाउने काम भइरहेको छ । सरकारले सबैतिरबाट पेलान गरेपछि कर्मचारीहरु कि जागिरबाट राजीनामा दिन थालेका छन् कि त सरकारको चाकडी गर्न वाध्य भएका छन् ।

