मेरो कार्यकालमा सुर्यविनायक नगरपालिकालाई व्यवस्थित र सुन्दर बनाउँन पहल गरेसँगै घर नक्सादेखि सामाजिक सुरक्षा भत्तासम्म डिजिटल प्रणाली लागु गरिएको छ

अन्तरवार्ता प्रमुख राजनीति विविध समाचार

बासुदेब थापा, नगरप्रमुख, सुर्यविनायक नगरपालिका

स्थानीय सरकार गठनपछि सूर्यविनायक नगरपालिकाले विकास र पूर्वाधार निर्माणमा विभिन्न काम अघि बढाएको छ । २०७४ सालदेखि नगरको नेतृत्व गर्दै आएका नगर प्रमुख वासुदेव थापाको दुई कार्यकालमा सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन र डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिइएको छ । ५० शय्याको नगर अस्पताल, मेलम्ची खानेपानी आयोजना, शिव सर्किट र प्रविधिमैत्री सेवा प्रवाह नगरपालिकाका प्रमुख योजनाका रूपमा अघि सारिएका छन्। प्रस्तुत उपलब्धि, विकासको प्रभाव, निर्माणाधीन योजना, सेवा प्रवाहका चुनौती र आगामी प्राथमिकताबारे नगर प्रमुख थापासँग तामाकोसी सन्देश प्रतिनिधिले गरिएको कुराकानी  :

० २०७४ सालदेखि निरन्तर नगरको नेतृत्व गर्दै आउनुभएको छ। एक दशकको अवधिमा सूर्यविनायकमा के–कस्ता परिवर्तन गर्न‘भयो ? आफ्नो सबैभन्दा ठूलो उपलब्धि केलाई मान्नुहुन्छ ?

२०७४ सालमा हामीले स्थानीय सरकारको नेतृत्व सम्हाल्दा सूर्यविनायक नगरपालिका संस्थागत रूपमा विकासको प्रारम्भिक चरणमा थियो। स्थानीय तहको संरचना नयाँ थियो। आवश्यक कानून, प्रशासनिक संरचना, भौतिक पूर्वाधार र सेवा प्रवाहका संयन्त्र निर्माण गर्न‘पर्ने अवस्था थियो। त्यतिबेला हाम्रो मुख्य उद्देश्य नगरपालिकालाई व्यवस्थित संस्थागत आधार प्रदान गर्दै नागरिकले स्थानीय सरकारको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न‘ थियो। त्यसयता हामीले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई विकासका मुख्य आधार बनाएर काम ग¥यौँ। सडक पूर्वाधारमा उल्लेखनीय विस्तार भएको छ। विगत नौ वर्षमा नगरभित्र १५९.२ किलोमिटर सडक कालोपत्रे, ३६.७ किलोमिटर सडक ढलान र ८१.७ किलोमिटर सडक स्तरोन्नति तथा ग्राभेल गरेका छौँ। विभिन्न बस्तीलाई जोड्न ४४ वटा पक्की मोटरेबल पुल र ९ वटा झोलुङ्गे पुल निर्माण गरेका छौँ। खानेपानीतर्फ २६ वटा ठूला ट्याङ्की र १२३ किलोमिटर पाइपलाइन विस्तार गरेका छौँ। स्वास्थ्य क्षेत्रमा जगातीमा ५० शय्याको सुविधासम्पन्न नगर अस्पताल निर्माण गरेका छौँ। नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन ‘एक घर, एक स्वास्थ्य बीमा’ कार्यक्रममार्फत प्रतिपरिवार एक हजार रुपैयाँ प्रिमियम अनुदान दिने व्यवस्था गरेका छौँ। निःशुल्क रगत, निःशुल्क आधारभूत औषधि र घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ। शिक्षा, पर्यटन, सामाजिक विकास र सुशासनमा पनि काम गरेका छौँ। सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान, स्थानीय पाठ्यक्रम निर्माण, प्रविधिमैत्री शिक्षण र छात्रवृत्ति वितरण गरेका छौँ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै १५ वटा शिवालयलाई जोड्ने शिव सर्किटको अवधारणा अघि सारेका छौँ। डिजिटल घरनक्सा पास, डिजिटल घर नम्बरिङ र सम्पत्ति अभिलेखको अङ्कीकरणमार्फत नगरपालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएका छौँ। मेरो विचारमा सबैभन्दा ठूलो उपलब्धि भनेको सूर्यविनायक नगरपालिकालाई संस्थागत रूपमा व्यवस्थित गर्दै विकासका धेरै क्षेत्रमा एकैपटक आधार तयार गर्न‘ हो। विकास भनेको सडक र भवन निर्माण मात्र होइन, नागरिकले शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा र सहज सरकारी सेवा प्राप्त गर्न‘ पनि हो। हामीले भौतिक पूर्वाधारसँगै नागरिकको जीवनस्तर सुधार गर्ने सामाजिक क्षेत्रलाई पनि प्राथमिकता दिएका छौँ। अहिले सूर्यविनायक हिजोको तुलनामा पूर्वाधार, सेवा प्रवाह र संस्थागत क्षमताका हिसाबले फरक अवस्थामा पुगेको छ। आगामी दिनमा यी उपलब्धिलाई अझ गुणस्तरीय र दिगो बनाउँदै समृद्ध नगर निर्माण गर्ने हाम्रो लक्ष्य हो।

० नौ वर्षमा १५९ किलोमिटर सडक कालोपत्रे र ४४ वटा पक्की पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ। यी पूर्वाधारको गुणस्तर र दिगोपन कसरी सुनिश्चित गर्नुभएको छ ?

हामीले पूर्वाधार विकासलाई नगरको समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा लिएका छौँ। सूर्यविनायकका सबै वडाका बस्तीलाई सडक सञ्जालसँग जोड्ने, नागरिकको आवागमन सहज बनाउने र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सडक तथा पुल निर्माणलाई प्राथमिकता दिएका हौँ। विगत नौ वर्षमा १५९.२ किलोमिटर सडक कालोपत्रे, ३६.७ किलोमिटर सडक ढलान, ११.५ किलोमिटर सडकमा ब्लक बिछ्याउने र ८१.७ किलोमिटर सडक स्तरोन्नति तथा ग्राभेल गरेका छौँ। त्यस्तै, ४४ वटा पक्की मोटरेबल पुल निर्माण गरेका छौँ, जसमध्ये पाँचवटा निर्माणाधीन छन्। नौवटा झोलुङ्गे पुलसमेत निर्माण भएका छन्। सडकसँगै ४७.६ किलोमिटर ढल निकास र ६३.४ किलोमिटर सडक सीमांकन तथा सुरक्षा पर्खाल निर्माण गरेका छौँ। तर हाम्रो बुझाइमा सडक कालोपत्रे गर्न‘ वा पुल निर्माण गर्न‘ मात्रै विकास होइन। निर्माण भएको संरचना कति टिकाउ छ, नागरिकले कति सहज रूपमा प्रयोग गर्न पाएका छन् र त्यसले स्थानीय आर्थिक गतिविधिमा कस्तो प्रभाव पारेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसैले पूर्वाधार निर्माण गर्दा आवश्यक प्राविधिक अध्ययन, लागत अनुमान, गुणस्तर परीक्षण र प्राविधिक अनुगमनलाई महत्त्व दिएका छौँ। निर्माण व्यवसायीले सम्झौताअनुसार काम गरे नगरेको, प्रयोग भएका निर्माण सामग्रीको गुणस्तर र कामको प्राविधिक मापदण्ड पूरा भए नभएको विषयमा सम्बन्धित प्राविधिकमार्फत अनुगमन गर्ने व्यवस्था छ। त्यस्तै, सडकको दिगोपनका लागि ढल निकास र पानीको उचित व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सडक निर्माण गर्ने तर वर्षाको पानी निकास नहुने हो भने सडक चाँडै बिग्रने जोखिम हुन्छ। त्यसैले सडकसँगै आवश्यक स्थानमा ढल, नाली, तटबन्ध र सुरक्षा पर्खाल निर्माणलाई पनि प्राथमिकता दिएका छौँ। अबको हाम्रो ध्यान नयाँ सडक निर्माणसँगै निर्माण भइसकेका सडक तथा पुलको नियमित मर्मतसम्भारमा केन्द्रित हुनेछ। सार्वजनिक लगानीबाट बनेका संरचना लामो समयसम्म उपयोगी हुनुपर्छ। त्यसैले पूर्वाधारको गुणस्तर, संरक्षण र मर्मतसम्भारलाई आगामी विकास योजनाको महत्त्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाएका छौँ।

० ५० शय्याको नगर अस्पताल र ‘एक घर, एक स्वास्थ्य बीमा’ कार्यक्रम सञ्चालनमा छन्। नगर अस्पतालबाट नागरिकले अपेक्षाअनुसार स्वास्थ्य सेवा पाइरहेका छन् ?

स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो। नागरिक बिरामी हुँदा सहज रूपमा गुणस्तरीय उपचार पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। पहिले सामान्य उपचारका लागि पनि नगरवासीले अन्य अस्पताल धाउनुपर्ने अवस्था थियो। त्यसलाई क्रमशः कम गर्दै नगरभित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले जगातीमा ५० शय्याको सूर्यविनायक नगर अस्पताल निर्माण गरेका हौँ।अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, प्रयोगशाला र विद्युतीय प्रणालीबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेका छौँ। आवश्यकताअनुसार विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने दिशामा पनि काम भइरहेको छ। नगरवासीलाई अस्पतालसम्म पुग्न सहज होस् भनेर निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेका छौँ।स्वास्थ्य उपचारको खर्च धेरै परिवारका लागि आर्थिक भार बन्ने गरेको छ। त्यसैले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउन ‘एक घर, एक स्वास्थ्य बीमा’ कार्यक्रम ल्याएका हौँ। यस कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रतिपरिवार एक हजार रुपैयाँ स्वास्थ्य बीमा प्रिमियम अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। हाम्रो उद्देश्य आर्थिक अवस्थाका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने हो।त्यसैगरी, नगरवासीलाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ। नगरका १४ वटै वडाका स्वास्थ्य संस्थाबाट आधारभूत निःशुल्क औषधि वितरण भइरहेको छ। नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै वडानजिक पाऊन् भन्ने उद्देश्यले घुम्ती विशेषज्ञ स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएका छौँ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हासिल गर्ने भक्तपुर जिल्लाकै पहिलो पालिका बन्नु पनि स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि हो।हामीले अस्पताल निर्माण गरेपछि सबै समस्या समाधान भयो भन्ने दाबी गरेका छैनौँ। अस्पताललाई नागरिकको विश्वास जित्ने संस्थाका रूपमा विकास गर्न निरन्तर सुधार आवश्यक हुन्छ। विशेषज्ञ चिकित्सकको उपलब्धता, दक्ष स्वास्थ्यकर्मी, आधुनिक उपकरण, सेवा विस्तार र आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ।अबको प्राथमिकता नगर अस्पताललाई थप व्यवस्थित बनाउँदै उपलब्ध पूर्वाधारको पूर्ण उपयोग गर्न‘ हो। अस्पतालमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार तथा उपचारको गुणस्तर सुधारमा जोड दिनेछौँ। नागरिकले सामान्य उपचारदेखि आवश्यक विशेषज्ञ सेवासम्म आफ्नै नगरभित्र प्राप्त गर्न सक्ने अवस्था निर्माण गर्न‘ हाम्रो लक्ष्य हो।

० सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक दरबन्दी मिलान र स्थानीय पाठ्यक्रम लागू गर्न‘भएको छ। विद्यार्थीको सिकाइ उपलब्धिमा कस्तो सुधार आएको छ ?

हाम्रो प्राथमिकता सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणमा मात्र सीमित छैन, गुणस्तरीय शिक्षा प्रदान गर्न‘ पनि हो। विद्यालयमा भवन बनाएर, डेस्क–बेन्च राखेर र अन्य पूर्वाधार विकास गरेर मात्रै शैक्षिक गुणस्तर सुधार हुँदैन। त्यसका लागि दक्ष शिक्षक, प्रभावकारी शिक्षण विधि, नियमित अनुगमन, विद्यार्थीको मूल्याङ्कन र विद्यालय व्यवस्थापनमा सुधार आवश्यक हुन्छ। यही मान्यताका आधारमा हामीले सूर्यविनायक नगरपालिकाको शैक्षिक क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरेका छौँ।

सबैभन्दा पहिले सामुदायिक विद्यालयमा रहेको शिक्षक दरबन्दीको असमान वितरणलाई सम्बोधन गरेका छौँ। कुनै विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक हुने र कुनै विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक अभाव हुने अवस्थालाई अन्त्य गर्न ८७ वटा शिक्षक दरबन्दी मिलान गरेका छौँ। यसले शिक्षकको उपलब्धतालाई विद्यार्थी संख्याका आधारमा व्यवस्थित गर्न सहयोग पुगेको छ।त्यसैगरी, हाम्रो नगरपालिकाको आफ्नै पहिचान, संस्कृति, भूगोल, इतिहास र सामाजिक परिवेशलाई समेटेर कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा ल्याएका छौँ। विद्यार्थीले आफ्नो समाज, संस्कृति, स्थानीय सम्पदा र भूगोलबारे आफ्नै विद्यालयमा अध्ययन गर्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो।विद्यालयमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिएका छौँ। सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी, कम्प्युटर प्रयोगशाला र शुद्ध पिउने पानीको व्यवस्था गरेका छौँ। प्रधानाध्यापक नियुक्तिमा समेत पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकबीच खुला प्रतिस्पर्धा गराउने र कार्यसम्पादन करार गर्ने अभ्यास सुरु गरेका छौँ। यसले विद्यालय नेतृत्वलाई थप जिम्मेवार र परिणाममुखी बनाउने अपेक्षा गरेका छौँ।कक्षा ८ को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईकै ढाँचामा सांकेतिक सङ्केत नम्बर प्रयोग गरी निष्पक्ष रूपमा सञ्चालन गर्ने व्यवस्था गरेका छौँ। यसबाट विद्यार्थीको वास्तविक मूल्याङ्कन गर्ने र परीक्षालाई व्यवस्थित बनाउने प्रयास भएको छ। साथै, जेहेन्दार तथा लक्षित वर्गका ३ हजार २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छौँ।हामीले अहिलेसम्म धेरै आधार तयार गरेका छौँ। अबको मुख्य चुनौती ती आधारलाई विद्यार्थीको सिकाइ उपलब्धि, प्रतिस्पर्धात्मक क्षमता र व्यवहारिक ज्ञानसँग जोड्नु हो। आगामी दिनमा सामुदायिक विद्यालयको नतिजा विश्लेषण, शिक्षकको क्षमता विकास, डिजिटल शिक्षण र नियमित अनुगमनलाई थप प्रभावकारी बनाउँदै सामुदायिक विद्यालयलाई अभिभावकको पहिलो रोजाइ बनाउने हाम्रो लक्ष्य छ।

० ‘शिव सर्किट’ लगायत धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास गर्न‘भएको छ। सूर्यविनायकलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन र स्थानीय रोजगारी सिर्जना गर्न अबको योजना के छ ?

सूर्यविनायक नगरपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटनका दृष्टिले अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो। यहाँ धार्मिक आस्थासँग जोडिएका ऐतिहासिक मठमन्दिर छन् भने प्राकृतिक सौन्दर्य, डाँडाकाँडा र पर्यटकीय क्षेत्र पनि प्रशस्त छन्। हाम्रो सोच यी सबै सम्भावनालाई एकीकृत गरेर सूर्यविनायकलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हो।यसै उद्देश्यले नगरभित्र रहेका १५ वटा ऐतिहासिक शिवालयलाई जोडेर ‘शिव सर्किट’ अवधारणा अघि सारेका छौँ। डोलेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, अनन्तलिङ्गेश्वर, धर्मेश्वर, छरखण्डीलगायत धार्मिक स्थललाई व्यवस्थित रूपमा जोडेर पर्यटकलाई एकैपटक धेरै धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमण गर्न सक्ने वातावरण बनाउने हाम्रो उद्देश्य छ। यी क्षेत्रको पहुँच मार्ग, आवश्यक पूर्वाधार, सरसफाइ, सूचना तथा सुविधाका विषयलाई पनि प्राथमिकता दिएका छौँ।त्यसैगरी, रानीकोटलगायत प्राकृतिक तथा पर्यटकीय सम्भावना भएका क्षेत्रको विकासमा पनि ध्यान दिएका छौँ। धार्मिक पर्यटनसँगै प्रकृतिमा आधारित पर्यटन, पदयात्रा, स्थानीय संस्कृति र परम्परासँग जोडिएका गतिविधिलाई प्रवद्र्धन गर्न सके सूर्यविनायकमा पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।हामी पर्यटनलाई मन्दिर र सडक निर्माणमा मात्र सीमित गर्न चाहँदैनौँ। पर्यटनको विकासले स्थानीय नागरिकको आयआर्जन र रोजगारीमा प्रत्यक्ष योगदान दिनुपर्छ। त्यसैले स्थानीय युवालाई पर्यटनसम्बन्धी सीप, आतिथ्य सत्कार, होटल तथा होमस्टे व्यवस्थापन, हस्तकला र स्थानीय उत्पादनको बजारीकरणसँग जोड्ने योजना छ।

अर्कोतर्फ, नगरभित्रका महिला, युवा तथा विपन्न समुदायलाई लक्षित गरेर सीपमूलक तालिम र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। सिलाइकटाइ, मखमली जुत्ता निर्माण, ऊनी वस्त्र बुनाइ, हस्तकला, ब्युटी पार्लरलगायतका तालिमले स्थानीय स्तरमा स्वरोजगारको आधार तयार गरेका छन्। आगामी दिनमा यस्ता कार्यक्रमलाई पर्यटन र स्थानीय उत्पादनसँग जोड्नेछौँ।हाम्रो लक्ष्य सूर्यविनायकमा पर्यटक आउने मात्र होइन, पर्यटकको आगमनबाट स्थानीय व्यवसाय फस्टाउने, युवाले आफ्नै ठाउँमा रोजगारी पाउने र नगरपालिकाको आर्थिक गतिविधि विस्तार हुने वातावरण निर्माण गर्न‘ हो। यसका लागि निजी क्षेत्र, स्थानीय समुदाय र सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्नेछौँ।

० डिजिटल घरनक्सा, घर नम्बरिङ र विद्युतीय सेवा विस्तारलाई सुशासनको उपलब्धि मान्नुभएको छ। भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहमा के सुधार गर्नुभयो ?

सुशासन भनेको नागरिकले सरकारी सेवा लिनका लागि अनावश्यक दुःख पाउन नपर्ने, सेवा प्रवाहमा पारदर्शिता हुने, कर्मचारी जवाफदेही हुने र सार्वजनिक स्रोतको सही उपयोग हुने अवस्था हो। हामीले स्थानीय सरकार सञ्चालनको सुरुदेखि नै प्रशासनिक सुधार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छौँ।पहिले घरनक्सा पास गर्न नागरिकले पटकपटक नगरपालिका धाउनुपर्ने, कागजात बोकेर विभिन्न शाखामा पुग्नुपर्ने र प्रक्रियाबारे पर्याप्त जानकारी नपाउने अवस्था थियो। त्यसलाई अन्त्य गर्न घरबाटै आवेदन दिन र आवश्यक प्रक्रिया पूरा गर्न सकिने विद्युतीय घरनक्सा पास प्रणाली लागू गरेका छौँ। यसले सेवाग्राहीको समय र खर्च बचत गर्न‘का साथै प्रक्रियालाई पारदर्शी बनाउन सहयोग गरेको छ।त्यसैगरी, पुराना घरनक्सा, लालपुर्जा तथा नागरिकका सम्पत्तिसम्बन्धी महत्त्वपूर्ण अभिलेखलाई डिजिटल रूपमा सुरक्षित गर्ने काम गरेका छौँ। नगरभित्रका घरहरूमा क्युआर कोडसहितको डिजिटल घर नम्बरिङ गर्ने काम पनि अघि बढाएका छौँ।

यसलाई भौगोलिक सूचना प्रणाली (जीआईएस), राजस्व प्रशासन र विपद् व्यवस्थापनसँग जोड्ने हाम्रो योजना छ। यसबाट नगरभित्रका सम्पत्तिको व्यवस्थित अभिलेख राख्न, सेवा प्रवाहलाई सहज बनाउन र योजनाबद्ध सहरी विकास गर्न मद्दत पुग्नेछ।सामाजिक सुरक्षा भत्ता वितरण र व्यक्तिगत घटना दर्तालाई पनि बैंकिङ प्रणाली तथा बायोमेट्रिक औँठाछाप प्रणालीसँग जोडेर पारदर्शी बनाएका छौँ। यसले वास्तविक लाभग्राहीको पहिचान र भुक्तानी प्रक्रियालाई व्यवस्थित गरेको छ।हामीले सुशासनलाई प्रविधिमा मात्र सीमित राखेका छैनौँ। कर्मचारीको जिम्मेवारी, सेवाग्राहीप्रतिको व्यवहार, प्रशासनिक प्रक्रियाको सरलीकरण र सार्वजनिक खर्चको जवाफदेहितालाई पनि महत्त्व दिएका छौँ।

नगरपालिकाबाट प्रदान हुने सेवामा नागरिकले अनावश्यक झन्झट बेहोर्न‘ नपरोस् भन्ने हाम्रो मान्यता छ।भ्रष्टाचार नियन्त्रणका विषयमा पनि हाम्रो स्पष्ट धारणा छ। सार्वजनिक पदमा बसेको व्यक्तिले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हित र नागरिकको सेवामा केन्द्रित हुनुपर्छ। त्यसैले निर्णय प्रक्रिया, राजस्व संकलन, योजना छनोट र कार्यान्वयनमा पारदर्शिता कायम गर्ने प्रयास गरेका छौँ। सार्वजनिक स्रोतको सदुपयोग र कामको गुणस्तरमा सम्झौता हुनु हुँदैन भन्ने कुरामा हामी सचेत छौँ। तर सुशासन एकपटक प्रविधि लागू गरेर पूरा हुने विषय होइन। यसलाई निरन्तर सुधार गर्न‘पर्छ। आगामी दिनमा नगरपालिकाका सेवाहरूलाई थप डिजिटल बनाउने, अभिलेखलाई एकीकृत गर्ने, नागरिकका गुनासा सम्बोधन गर्ने प्रणाली प्रभावकारी बनाउने र कर्मचारीलाई परिणामप्रति जिम्मेवार बनाउने दिशामा काम गर्नेछौँ। अन्ततः नागरिकले सरकारी कार्यालयमा आएर होइन, सहज रूपमा सेवा प्राप्त गरेर स्थानीय सरकारको अनुभूति गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *