महोत्तरी जिल्लामा विकासका कामहरु कसरी भइरहेका छन् ? मुख्यगरी अपराधको अखडा मानिने तराईका जिल्लामा महोत्तरीको वर्तमान अवस्था र भावी योजनाका बारेमा तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसँग गरेको कुराकानीको सम्पादित अंशः
०सुरक्षा व्यवस्थाको अवस्था कस्तो छ ?
सुरक्षा व्यवस्था चुस्त दुरुस्त छ । हामीले शान्ति सुरक्षालाई प्रभाव पार्ने अथवा मादक पदार्थ सेवन गर्ने, मदिरा सेवन गर्ने, सार्वजनिक बस र स्थानहरुमा झैझगडा गर्ने द्वन्द्व गर्नेलगायत कामहरु नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले विषेश जोड दिएर लागिरहेको छ । यसलाई र यस्ता खालका राजनीतिक द्वन्द्वलाई कम गर्न लागिपरेका छौँँ । जसका लागि एक आपसमा समन्वय गर्ने र समझदारी गर्नेलगायत कामहरु पनि भएका छन् । निश्चित समय, स्थान र मात्रामा मात्र मदिरा सेवन गर्न पाउने व्यवस्था पनि हामीले गरेका छौँँ । यसैगरी यहाँ मदिरा बिक्री वितरण गर्न अनिवार्य रुपमा नियुक्ती लिनुपर्ने व्यवस्था गरेका छौँँ । यदि उक्त स्थानभन्दा बाहिरबाट कसैले मदिरा सेवन गरेमा कारबाही गर्नेलगायत कार्य योजनाबद्ध तरिकाले हामीले काम गरिरहेका छौँँ ।
०कसरी नियन्त्रण गर्नुभएको छ, अपराध ?
हामीले अपराध नियन्त्रणका लागि पहिलो चरणमा गस्ति बढाउने भनेका छौँ । प्रहरीले सोहीअनुसार प्रहरी परिचालन पनि गरेको छ । साथै विभिन्न स्थानहरुमा चेकजाँचको कडा व्यवस्थासमेत गरिएको छ । सुरक्षाकर्मीहरुको परिचालन व्यापक रुपमा र सक्रियता बढाउने काम गरेका छौँ । यसले शान्ति सुरक्षालाई मजबुद र भरपर्दो बनाएको छ । २ नम्बर प्रदेशको अन्य जिल्लाको तुलनामा महोत्तरीमा त्यस्ता अप्रिय घटनाहरु भएका छैनन् ।
० नजिकै बोर्डर भएकाले तराइमा हिंसाका गतिविधि बढि हुन्छन् । महोत्तरीमा के छ अवस्था ?
यो हरेक क्रस बोर्डरको समस्या हो । बोर्डर क्षेत्रमा हिंसाका घटनाहरु बढी नै हुन्छन् । नेपालबाट अपराध गरेर भारत जाने र भारतबाट हिंसाका घटना गरेर नेपाल आउनेलगायत कामहरु भइरहेका हुन्छन् । हामीले यस्ता खालका हिंसा न्यूनीकरण गर्नका लागि भारतस्थित छिमेकी जिल्लासँग समन्वयकारी भूमिका खेलेका छौँ । यसले हाम्रो समस्या समाधानमा समेत टेवा पुगेको छ । त्यस्ता गतिविधि न्यूनीकणका लागि त्यस्ता व्यक्तिहरुको सूचना संकलन गर्ने उनीहरुलाई निगरानमिा राख्नेलगायत कामहरु पनि हामीले गर्दै आएका छौँ । यसले विगतमा भन्दा अहिले केही मात्रामा भए पनि जिल्लामा आपराधिक गतिविधि नियन्त्रणमा लिएका छौँ ।
० भारतले सीमा क्षेत्रमा मदिरा निषेध गरेको छ । यसले नेपालतर्फ कस्तो असर पारेको छ ?
भारतले सीमा क्षेत्रमा मदिरा पूर्णरुपमा निषेध गरेपछि सीमा क्षेत्रमा हलचल बढ्नु सामान्य नै हो । यसले सीमाको व्यापार व्यवसायमा समेत टेवा पु¥याएको छ । तर, उताबाट सीमा वारि आएका अपरिचित व्यक्तिहरुले जुनसुकै बेला जस्तासुकै घटना गराउन सक्ने भएकाले हामीले पनि ५ सय मिटर आसपास मदिरा निषेध गरेका छौँ । त्यहाँका व्यक्तिहरु अहिले नेपालतर्फ आउने मात्रा बढिरहेको हामीले पाएका छौँ । यस्तै त्यो दायराभन्दा भित्र आएर मदिरा सेवन गरी होहल्ला गर्नेलाई समेत तत्काल नियन्त्रण गरेर कानुनी कारबाही गर्ने गरेका छौँ । यसले हामीले दोषी पक्राउ गर्न सहज पनि भएको छ । हामीले सीमानजिकै मदिरा व्यापार जस्तो संवेदनशील कामले विभिन्न खालका घटना हुन जाने भएकाले समयमै सचेतना अपनाएका छौँ । यहाँ घटना गराएर भारततर्फ भाग्नेलगायत कामहरु छन् ।
० चोरी निकासी नियन्त्रणमा कत्तिको सफलता मिलेको छ ?
चोरी निकासी यहाँको सबैभन्दा ठूलो समस्या हो । यसको न्यूनीकरणमा हामी सक्रियताका साथ लागिरहेका छौँ । तर, पनि चोरी निकासी पूर्ण रुपमा निर्मूल भने पार्न सकिएको छैन । हामी प्रयासरत छौँ । अबको केही समयमा नै चोरी निकासी निर्मुल पार्नेछौँ । यसको प्रतिफल स्वरुप धेरै सामानहरु नियन्त्रणमा समेत लिएका छौँ ।
० तराइमा शीतलहरका कारण धेरैले ज्यान गुमाउँछन् । गरिब तथा विपन्नलाई न्यानोको व्यवस्थाका लागि के गर्नुभएको छ ?
शीतलहरको समस्या नौलो होइन । यसलाई न्यूनीकरण गर्न पनि गर्न सकिँदैन । किनकि यो मौसमी समस्या हो । हामीले न्यानोका लागि विपत् व्यवस्थापन शाखासँग समन्वय गरेका छौँ । यसका लागि सर्वदलीय बैठक बोलाएका छौँ । स्थानीय तहसँग पनि कुराकानी पनि गरेका छौँ । हामीले जहाँ बाक्लो हुस्सु लागेको छ । त्यस ठाउँमा दाउरा बालेर न्यूनीकरणका लागि आगो बाल्नेलगायत कामहरु गरेका छौँ । यस्तै घना बस्तीहरुमा पनि यसको व्यवस्था गरेका छौँ । यस्तै विपन्न परिवारलाई कम्बल वितरण गर्ने र अन्य न्यानो लुगा दिनेलगायत कामहरु गर्दै आएका छौँ । यसका लागि हामीले स्थानीय निकायसँग पनि बैठक बसेरै छलफल गरेका छौँ । स्थानीय निकायले ठाउँठाउँमा काम पनि गरेका छन् । यो जनताको नजिकको निकाय भएकाले पनि सहज भएको छ । अहिले अलिकति मात्रै भए पनि काममा सहजता भएको छ भने केही व्यक्तिहरुलाई हामीले न्यानोको व्यवस्थासमेत गरेका छौँ । यसले गम्भीर असर पर्न सक्ने वातावरण हुन नदिने र अकालमै ज्यान गुमाउन नपर्ने गरी तयारी थालेका छौँ । भरपर्दो व्यवस्था मिलाउने काम पनि हामीले गरेका छौँ ।
० जनता आवास निर्माणको अवस्था के छ ?
जनता आवास कार्यक्रम एकदमै अपेक्षा गरिएको कार्यक्रम हो । यसबारेमा सम्बन्धित निकायले त्यही काम गरेको पाइँदैन । यहाँका जनतालाई जनता आवास के हो भन्नेसमेत जानकारी छैन । यसका कुनै पनि गतिविधिबारे जिल्ला प्रशासन कार्यलय जानकारसमेत छैन । यस विषयमा मैले पनि केही जानकारी पाएको छैन ।
० तर, सहरी विकासले यो काम गरिरहेको छ नी, होइन र ?
मैले सुनेअनुसार सहरी विकासले यस विषयमा के गरिरहेको त्यो मलाई जानकारी चाहिँ भएन । सुनेको थिएँ, जग्गा खरिद गर्दै छ । फेरि त्यो एउटा सामान्य विवादमा अझिएको भन्ने विवाद पनि बेलाबेलामा बाहिर आइरहेको हुन्छ । यसको अवधारणा मात्र ल्याइएको छ । प्रक्रिया भने अगाडि बढेको छैन । यो समस्या २ नम्बर प्रदेशमा अगाडि नै बढाइएको छैन ।
० शिक्षा क्षेत्रको अवस्था कस्तो छ ?
शिक्षामा सुधार भइरहेको छ । अहिले नै जिल्लालाई साक्षर घोषणा गर्ने अभियानका साथ कार्यक्रमहरु ल्याएका छन् । यसको जिम्मेवारी स्थानीय तह र जिल्ला शिक्षा समन्वय समितिले लिएको छ । पूर्ण रुपमा शिक्षा स्थानीय निकायमा आइसकेको छ । यसले सरुवाका कामहरु मात्रै गरेको छ । यस्तै अन्य कामहरु तीव्र रुपमा अगाडि बढाइएका छन् । साक्षर गर्ने र साक्षर उन्मूलनको काममा लागेका छौँ । हाम्रै जिल्लाबाट शिक्षामन्त्री समेत भएका कारण पनि मन्त्रीज्यूको जिल्ला साक्षर घोषणा भएको हेर्ने ठूलो रहर छ । हामीले यसका लागि स्थानीय निकालाई पनि जानकारी दिएका छौँ । हाल यहाँ ६० प्रतिशत मान्छेहरु शिक्षित रहेको हामीले पाएका छौँ ।
० विकासका अन्य काम के के छन् ?
यहाँको मुख्य आयोजना भनेको सडक निर्माण नै हो । यहाँ दर्जनौँ सडकहरु निर्माणाधीन अवस्थामा रहेका छन् । जस्तै हुलाकी सडक छ । यो सडक सीतापुरदेखि जनकपुरसम्म रहेको छ । यो काम पहिले नै भइसक्नु पर्ने थियो । तर, पटक–पटक समय मिलाइएको छ । सरकारले विभिन्न कामहरु हेरेको छ । सार्वजनिक नियमावलीको आठौँ संशोधनले एक वर्ष थप्न मिल्ने भएका कारण यस वर्ष थप गरिएको छ । यो काम हामीले चाँडै सक्ने अपेक्षा गरेका छौँ । ताकेता पनि गरिरहेका छौँ । यस्तै परिक्रमा सडक, पूर्व–पश्चिम हुलाकी राजमार्ग, रोड इन्ट्रेगेल भन्ने छ । यी सडकहरु अहिले निर्माण भइरहेका छन् । यहाँ ठूला आयोजना ३ वटा जत्ति रहेका छन् । त्यसमा अहिले काम भइरहेको छ । सहरी विकासले काम गरिरहेको छ । विकासको काम तीव्र हुँदा पनि ढुक्क हुने अवस्था भने छैन । विद्युतीकरणको काम भइरहेको छ । अरुण तेस्रोको काम भइरहेको छ । त्यसको ट्रान्स्मिसन लाइन यहँबाट भारतसम्म जोड्ने कामहरु हुँदै छ । यसैगरी पूर्व–पश्चिम रेल पनि यही बाटो हँुदै जाने भएकाले जग्गाको कामहरु भइरहेको छ । मुआब्जाका विषयमा समेत छलफल भइरहेको छ ।