चित्रकलाको माध्यमबाट देशको प्रचार गर्न तम्से युवाहरु

प्रमुख वाग्मती प्रदेश

शनिबारका दिन बनेपाको चण्डेश्वरी मन्दिरको प्रांगणमा लाख बत्ती बाल्नेहरु, मन्दिरमा पूजा पाठ गर्न आउने र वनभोज आउने जाने मानिसहरुको उपस्थिति बाक्लै देखिन्थ्यो । यही भिडभाडभन्दा फरक दृष्य पनि त्यहाँ देखिन्थ्यो । मन्दिरको हाताभित्र र बाहिर चारैतिर हातमा ब्रस, रङ् र क्यानभास बोकेका कलाकारहरु छरिएर बसेका थिए । कोही मन्दिरलाई चित्रमा उतार्न व्यस्त थिए । कोही मन्दिरको वरपरका दृश्यहरुलाई चित्रमा कैद गर्दै थिए । बनेपा, भक्तपुर, ललितपुर र काठमाडौंबाट आएका कलाकारहरु मन्दिर, पाटी, वरपरका साना मन्दिर अनि पारी पट्टीको हरियो जंगल क्यानभासमा कैद गरिरहेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका कलाकारहरु मिलेर हरेक शनिबारको दिन खुला आकाशमुनि बसेर चित्रकोर्न सटर्डे प्लेन एयर वर्कसप नामको समूह बनाए । जसले देशका विभिन्न स्थानमा रहेको प्राकृतिक सम्पदा, पुरातात्विक महत्व बोकेका स्थानहरु पहिचान गरी त्यहाँको दृश्य क्यानभास उतार्दै आएको बनेपाका कलाकार रुविन बादेले बताए ।

सटर्डे प्लेन एयर वर्कसपका संयोजक दिपेश प्रधानले ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्ष, जनजीवन, भेषभूषा, वाताबरण, सम्पदा र स्थानीय महत्वलाई स्थलगत रुपमा अवलोकन गरी चित्रमा उतार्ने र त्यस्ता चित्रहरुलाई संकलन गरी २ ÷ ३ महिनामा एकपटक प्रदर्शनीमा राख्ने गरेको बताए । गत पुसमा रसुवाका प्राकृतिक सम्पदाहरुका बारे कलाकारहरुले तयार गरेका चित्रहरु ठमेलमा प्रदर्शनीमा राखेका थिए । चित्रकलाको माध्यमबाट नेपाली कला, संस्कृति र ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुका साथै देश विदेशमा प्रचारप्रसार गर्ने सटर्डे प्लेन एयर वर्कसपको उद्देश्य रहेको बताइयो ।

नेपाल भ्रमण बर्ष २०२० को अवसरमा समूहका रुविन बादे बनेपा, दिवेश प्रधान काठमाडौं, राकेशचन्द्र श्रेष्ठ ललितपुर, दिपेन्द्र बनेपाली भक्तपुर, राजेन्द्र याकमी भक्तपुर, पूण्य तामाङ भक्तपुर, राधेश्याम कर्माचार्य भक्तपुर, लक्ष्मीप्रसाद खोतेजा भक्तपुर, विकास विसुंखे भक्तपुर, प्रकाश मानन्धर ठिमी, हरि प्रजापति ठिमी, श्रीजीत भासिमा ठिमी। तथागत चित्रकार काठमाडौं, साजिद शाक्य बनेपा, बालकलाहरु श्रीजयी श्रेष्ठ र श्रीयास श्रेष्ठ बनेपालगायतका कलाकारहरुले चण्डेश्वरीको सम्पदा र स्थानीय महत्वलाई स्थलगत रुपमा अवलोकन गरी चित्रहरु तयार पारेको र उक्त चित्र साँझपख प्रदर्शनमा राखेको स्थानीय कार्यक्रम सहजकर्ता एवं कलाकार रुविन बादेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *