अब सुख्खायाम सुरु हुन थालेको छ । खडेरी वा सुख्खा याममा धेर आगलागी हुने गर्दछ । आगलागी फैलन हावाहुरीले असाध्यै धेरै सहयोग गर्दछ । हाम्रोमा आगलागी हुने प्रायः सबै कारण मानवीय त्रुटी हुन् भन्दा कुनै फरक पर्दैन । वन क्षेत्रमा पनि आगलागीका कारण धेरै ठूलो बिनास हुने गरेको छ । वनमा लागेको डढेलोको कारण अर्बौँ क्षति भइरहेको छ । सन् २०१७ र सन् २०१३ मा मात्र वन डढेलोबाट कुनै नेपालीको ज्यान गुमेन नत्र हरेक वर्ष मानवीय क्षति भइरहेको छ ।
पछिल्लो अबधिमा सामुदायिक वनमा आगो लाग्ने क्रम बढेको छ । विगतमा पनि आगो लाग्ने गरेको थियो तर आगो निभाइन्थ्यो । पछिल्ला केही वर्ष यता आगो लाग्यो तर निभेन वा निभ्याइएन । सामुदायिक वनको अबधारणा विकास गर्दाका वर्षहरुमा अहिलेभन्दा धेरै डढेलो लाग्ने गरेको थियो । त्यति बेलामा अहिलेको जस्तो चेतना स्तर पनि थिएन । सामुदायिक वनको कारणले गाईवस्तु चराउन नपाएको झोँक फेर्न वनमा आगो लगाउँथे । त्यति बेला आगो लगाएमा घाँस राम्रो आउँछ भन्ने सोच पनि थियो । त्यसैले धेरै ठाउँमा आगो लाग्थ्यो तर सामुदायिक वनका अगुवा उपभोक्ताहरु आगो लाग्नासाथ दौडेर ज्यानको पर्वाह नगरी आगो निभाउँथे । सामुदायिक वनको अबधारणा विकास गर्दाको समयको तुलनामा अहिलेको चेतना स्तर फेरिएको छ । आगो लगाउने काम दण्डनीय हो भन्ने धेरैलाई थाहा छ । वनमा आगो लगाएर कसैलाई फाइदा छैन भन्ने प्रायः सबैले बुझेका छन् । आगो लगाउने पहिलाजस्तो धेरै छैनन् । केही सिमित अपराधिक सोच भएकाहरुले आगो लगाउँछन् । पहिलाजस्तो एक जंगलमा चारै तिरबाट आगो लाग्दैन । अहिले एक ठाउँबाट आगो लागेको छ त्यो फैलिएर चारै तिर पुगेको हो । पहिला आगो लाग्नासाथ निभाउन पुग्थ्ये तर अहिले निभाउन जाने कोही भएन । पहिला वनबिना ग्रामिण जनजीवन कल्पना गर्न पनि सकिन्नथ्यो । अहिले त्यो अबस्था छैन । सामुदायिक वनमाथिको निर्भरता फेरिएको छ । पहिला दाउरा घाँसको लागि वन चाहिन्थ्यो आगो लागेमा त्यो नष्ट हुन्थ्यो । अहिले अधिकांश सामुदायिक वनबाट दाउरा घाँस ल्याउन छाडिएको छ । त्यो भन्दा बढि वनबाट उपलब्धि लिन सकिएको छैन ।
सामुदायिक वनको अबधारणाले वन क्षेत्र बढ्यो, वनको हैसियतमा व्यापक सुधार आयो, केही उपभोक्ताको अबस्थामा पनि सुधार आयो होला । सामुदायिक वनबाट दाउरा घाँस केहीमा सिमित काठबाहेक केही प्रत्यक्ष लाभ पाउन सकेनन् । अधिकांश उपभोक्तालाई दाउरा घाँस अब चाहिएन । सामुदायिक वनबाट के उपलब्धि हासिल गर्ने ? यो प्रश्नको उत्तर पाउन नसक्दा सामुदायिक वनमा लागेको आगो निभेन । अहिलेकैं अबस्थामा सामुदायिक वन सञ्चालन गरिरहने हो भने वनमा लागेको आगो घट्दैन अझ विस्तार हुँदै जाने संभावना देखिन्छ । सामुदायिक वनको अभियानले वन संरक्षणमा अत्याधिक सफलता हाता प¥यो । वन जोगाउँदा पछि फाइदा पाइएला भनेर जोगाएका थिए तर अहिले प्रतिफल लिन सकेनन् । त्यसैले वनका उपभोक्ता आगो लगाउन त गएनन् तर कोही फटाहाले वा मानवीय त्रृटीले वनमा आगो लाग्दा निभाउन पनि गएनन् ।
अघिल्लो पुस्ताले संरक्षण गरेर वन स्रोतको उपलब्धता बढाइदियो । अबको पुस्ताले दिगो तरिकाले उपयोग गरी उपलब्धि लिन सक्नु पर्दछ । जुन सामुदायिक वनमा जे सम्भावना छ त्यही काम गर्ने वातावरण तयार गर्नु पर्दछ । सामुदायिक वनलाई व्यवसायिक वनाउनु पर्दछ । सामुदायिक वनको नयाँ गन्तव्य निर्धारण गरिनु पर्दछ । त्यो गन्तव्य राज्यले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने अबधारणालाई सहयोग पुग्ने हुनु पर्दछ । त्यसका लागि वनको दिगो व्यवस्थापन र व्यवसायिक सदुपयोग नैं हो । तर यस मार्गमा वन क्षेत्रका कुनै पनि खेलाडी निकायहरु क्रियाशिल भएको देखिन्न । स्थानीय तह वनसँगको नजिकको सरकार हो । अधिकांश स्थानीय सरकारहरु वन क्षेत्र नैं मासेर भए पनि भौतिक विकास जसरी पनि गर्नु पर्दछ भन्ने मुडमा देखिएका छन् । कुनै पनि स्थानीय तहले वन सम्वन्धी स्थानीय कानुन वनाएका छैनन् । उनीहरुमा सामुदायिक वनको कुशलतापूर्वक व्यवस्थापन गरी समृद्धिको मार्गमा हिडाउने चासो देखिन्न । जताततै सामुदायिक वन भएर विकास निर्माण गर्न पाइएन भन्ने गुनासो रुपी चिन्ता देखिन्छ । समुदायको भुमिकालाई झन्झटिलो प्रकृयाको रुपमा हेरियो । समुदायको संलग्नताले स्थानीय सरकारले गर्ने विकासको तागत थप्छ भनेर स्वीकार गरिएन । विगतमा सामुदायिक वनको अबधारणा विकास गर्दा दातृ निकायहरु धेरै थिए । उनीहरुको सामुदायिक वन विकासमा प्रत्यक्ष सहयोग तथा सहकार्य थियो । अहिले नेपालको वन क्षेत्रलाई प्रत्यक्ष कार्यक्षेत्र वनाएका कुनै पनि दाता देशहरु छैनन् । नेपाल सरकारको प्राथमिकतामा सामुदायिक वन हटेको धेरै भइसक्यो । भरखरै प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा सामुदायिक वन भन्ने शव्दावली समेत अट्न सकेन । सामुदायिक वनको अबधारणा सुरु हुँदा सामुदायिक वनमा सहयोग गरे वापत वन कर्मचारीको वृति विकासका लागि अध्ययन, अबलोकन, वैदेशिक भ्रमण जस्ता आकर्षणहरु थिए । ती सुन्य भइसकेको धेरै वर्ष भैसक्यो । वन क्षेत्रको नागरिक संगठनहरु मणी हराएको नागजस्तै भइसकेको छन् । प्रतिक्रिया जनाउने भन्दा माथि उठेर रचनात्मक हुन सकेको छैनन् । अधिकांश सामुदायिक वन उपभोक्ता समूहहरुले वन कार्ययोजना परिमार्जन गर्न चाहाना राख्दैनन् । किनकी वन कार्ययोजना हुँदा र नहुँदामा केही फरक पर्दो रहेनछ । दाउरा घाँस आवश्यक नपर्ने त्यो भन्दा बढि सामुदायिक वनबाट उपलब्धि नहुने भए पछि कार्ययोजना किन चाहियो भन्ने प्रतिप्रश्न गर्न थालिसकेका छन् । काठ तथा वहुमुल्य वन पैदावर निकासि गर्ने सामुदायिक वनहरुले मात्र कार्ययोजना वनाउनमा जाँगर देखाउने गरेको पाइन्छ ।
सामुदायिक वनसँग वन स्रोत तथा आर्थिक स्रोत समेत निष्कृय भइरहेको छ । केही वर्ष अघिको एक अध्ययनले प्रभावकारी वन व्यवस्थापन मात्र गर्दा पनि प्रति हेक्टर १ जना मान्छेलाई नियमित रोजगार दिन सक्छ भन्ने देखाएको छ । नेपालमा सामुदायिक वन मात्रै पनि २३ लाख हेक्टर भन्दा बढि छ । २३ लाख जनालाई प्रत्यक्ष र नियमित रोजगार दिन सक्नु पर्ने हो । एक हेक्टर कृषि जमिनमा व्यवसायीक काम गर्दा कति रोजगारी दिन सकिन्छ वनमा त्यति नसकेता पनि त्यसको आधा मात्र भने सक्नु पर्ने हो । शहर आसपासका सामुदायिक वनमा पर्यपर्यटन, अन्य सामुदायिक वनमा व्यवसायीक खेती (कानुन त वहुवर्षिय बाली लगाउन मिल्छ) गर्ने, कानुनले वन्देज नगरेका व्यसायीक पालन गर्न सकिने वन्यजन्तु पालन जस्ता काम गरेर सामुदायिक वन क्षेत्रको वहुआयमिक उपयोगमा ध्यान दिनु आवश्यक हुन्छ ।
सामुदायिक वनको वहुउपयोग गरेर फाइदा लिन सक्ने अबस्था आएमा डढेलो निभाउन उपभोक्ता जालान् । हैन भने आगो धेरै स्थानबाट नलाग्ला तर लागेको आगो निभाउन उपभोक्ताले जाँगर देखाउँदैनन् ।