उडिसा यात्रा संस्मरण

लेख

कोभिड–१९ को कहरमा विगतका दिनहरु स्मरण गर्दा आनन्द आइरहेको छ । मनमा तरंगित सम्झनाहरुलाइ अक्षरमा रुपान्तरण गर्ने कोसिस गरिरहेको छु । विगतका शृंखलामा अमेरिका, थाइल्यान्ड र भियतनाम जाँदाका स्मरणका भावहरुलाई अक्षरमा रुपान्तरित गरी यहाँहरु सामु राखिसकेको छु । यी स्मरणहरु मितिका हिसावले क्रमबद्ध पक्कै छैनन् । सम्झनाका तरेलीमा आएकाहरुलाई लिपिपद्ध गर्दा तलमाथि परेका हुन सक्छन् । तथापि यो अभिलेखीकरण गर्ने प्रयासको रुपमा बुझिदिनु हुनेछ भन्ने विश्वास छ । आज र अर्को शृंखलाका लागि छिमेकी देश भारतको उडिसा भ्रमणको स्मरणलाई अक्षरमा पारी यहाँहरुको बीचमा राख्ने कोसिस गरेको छु ।
यात्राको चाँजोपाँचो
अखिल भारतीय वनजन श्रमजीवी युनियनको आयोजनामा उडिसा पुरीमा एक विशाल सम्मेलन आयोजना गरिएको थियो । सो कुरा नेपालका सामाजिक अभियानका अगुवा डा. नेत्र तिम्सीनाले हामीलाई जानकारी गराई इमेल फरवार्ड गरिदिनु भयो । यस विषयको महत्वलाई उहाँले थप प्रष्ट पार्दै नेपालको सामुदायिक वन अभियानको सहभागिता तथा प्रतिनिधित्व अनिवार्य हुने कुरा दर्शाउनु भयो । त्यसमा फेकोफन र कफ्सनको प्रतिनिधित्व भएमा हाम्रा कुरा विस्तार गर्न र नयाँ तौरतरिका सिक्न सकिने सन्दर्भ कोट्याइदिनु भयो ।
डा.तिम्सीनाले फरवार्ड गरेको इमेलमा हामी आउने चाहना रहेको व्यहोरासहितको इमेल पठाएँ । केही दिनपछि अशोक चौधरीको नामबाट सम्मेलनमा भाग लिनका लागि औपचारिक निम्ता आयो । निम्तो त आयो बाटोको खर्च हामीले व्यवस्था गर्नु पर्ने सम्मेलन अवधिभरको व्यवस्थापन आयोजकबाट हुन सक्ने व्यहोरासहितको जानकारी पनि आएको थियो । कफ्सन नेपालको सचिवालयको बैठकमा छलफल गरी आर्थिक स्रोतको व्यवस्थापन गरी संस्थागत प्रतिनिधित्व गर्ने सल्लाह भयो ।
साथीभाइ, शुभचिन्तक तथा सहयोगी संस्थाको सहकार्यबाट यातायात खर्चको न्यूनतम चाँजोपाँचो मिलाउने कोसिसमा लाग्यौँ । हाम्रो अनुरोधलाई स्वीकार गरी यातायात खर्चबापत १ लाख २० हजार बहुसरोकारवाला वन कार्यक्रमले व्यहोर्ने कुरा भयो । ४ दिन अगाडि हामी जानसक्ने अवस्थामा पुग्यौँ । सल्लाह गरी जाने व्यक्तिले व्यक्तिगत खर्चसमेत अली अली गरी धेरै जना जाउँ भन्ने सल्लाह भयो । सचिवालय र उपलव्ध केन्द्रीय सदस्यहरुसमेतसँग फोन परामर्श गरी ४ जनाले प्रतिनिधित्व गर्ने भयौँ । तत्कालिन अध्यक्ष भोला खतिवडा उपाध्यक्ष सरोजकुमार पाण्डे, कोषाध्यक्ष बिना श्रेष्ठ र कार्यक्रम अधिकृत दीपकराज भट्ट जाने निधो भयो । जाने टुंगो त लगाइयो तर विमान तथा रेलको टिकट लिन आपत् प¥यो । त्यही समयमा म जनकपुर जानु पर्ने भएकाले उपाध्यक्ष र कोषाध्यक्षले टिकट व्यवस्थापनका लागि ठूलो कसरत गर्नु भयो ।
अन्ततः १६ जेठ ०७० मा कोलकाता जाने विमानको टिकट मिल्यो । कोलकाताबाट उडिसा (पुरी) जाने केही साधनको निधो हुन सकेन । आखिर जे त होला भनी हाम्रो टोली १६ जेठ ०७० मध्याह्न १२ः३० मा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलतिर हानियौँ । यात्रा उपलब्धिमूलक तथा सुखद रहोस् भनी हाम्रो संस्था कफ्सन नेपालका तत्कालिन महासचिव अजयविक्रम मानन्धर र कार्यालय सहायक यशोदा कार्कीले रातो टीकाको प्रबन्ध गराई बिदा गराउनु भएको थियो ।
एक पोका चाउचाउनको रु. ५०
हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यौँ । एयर इन्डियाको विमानबाट हाम्रो उडान हुँदै थियो । विमानस्थल प्रवेशका लागि कफ्सनका तत्कालिन उपाध्यक्षको सरकारी परिचयपत्रले ठूलो काम ग¥यो जसको कारण धेरै झन्झट व्यहोर्नु परेन । हाम्रो उडान समय चार बजे थियो ।
नियमअनुसार हामी ३ घन्टा अगाडि नै विमानस्थल छिरिसकेका थियौँ । समय धेरै बाँकी थियो, हामी विमानस्थलभित्रको यात्रुहरु बस्ने कक्षहरुमा भौतारिरहेका थियौँ । हामीलाई भोग लागिसकेको थियो । हामी खाजा खाने समय नभई हिँडेका थियौँ । खाजा केही पाइन्छ की भनेर भौतारिँदा वाइवाई चाउचाउ पाइयो तर एक पोकाको रु.५० मा । त्यो बेलामा विमानस्थल बाहिर १० देखि १५ रुपैयाँ जति पर्दथ्यो होला ।
निर्धारित समयमा नै एयर इन्डियाले जमिन छाड्यो । विमान कोलकातातिर लाग्यो, करिब १ घन्टा २० मिनेटको आकाशको बसाइपछि हामी कोलकातास्थित नेताजी सुवासचन्द्र बोस इन्टरनेशनल एयरपोर्ट कोलकातामा उत्रियौँ । कोलकातालाई पहिला कलकत्ता भन्ने गरिन्थ्यो भने अहिले कोलकाता भनिँदोरहेछ । कोलकाता पश्चिम बंगाल प्रदेशमा पर्दछ ।
विमानस्थलको प्रशासनिक तथा इमिग्रेसनको प्रक्रिया पूरा गरेपश्चात हामी विमानस्थल बाहिर बस्ने बासस्थानको खोजीमा लाग्यौँ । सरोज पाण्डेसँग पार्क स्ट्रिटस्थित केही होटलका भिजिटिङ कार्डहरु रहेछन् । ट्याक्सीसँग कुरा गर्दा प्रिपेड ६९७ भारु लाग्छ भन्यो । हामीलाई अचम्म लाग्यो किन ७०० भएन ? हामी बाहिर निस्केका मात्रै थियौँ । वातावरण अनुकूलित बसहरु देखा परे हामी बस्ने होटलको बारेमा सोध्दा नजिकै पुग्छ भनेकाले त्यसैमा चढ्यौँ । पार्क स्ट्रिटमा पुगेपछि गाडीबाट ओर्लेर होटल खोज्ने लाग्यौँ । हामीले ठेगाना ल्याएको होटल आफ्रिदी बल्ल बल्ल फेला प¥यो तर कोठा पाइएन । त्यसपछि त्यही होटलका सहायताले अफ्रिदी होटलमा गई कोठा लिइयो ।
होटलका कर्मचारी नेपाली भाषी दार्जिलिङका साथीहरु रहेछन् । उनीहरुले हामीलाई राम्रै सहयोग गरे । नेपाली नेपालीको माया जहाँ गए पनि मर्दो रहेनछ । एक भाइको फोनमा हामीले रिचार्ज गरी हाम्रो काठमाडौंतिर फोन सम्पर्क तथा कुराकानी गरियो । बाहिर रातिको खाना खान निस्कियौँ । म रोटी खानु पर्ने भएकाले म र दीपक भट्ट एक होटलमा अनि सरोज पाण्डे र बिना श्रेष्ठ अर्को होटलमा खाना खाने गरी पसियो । हाम्रोमा रोटी पाकेकोे नै थिएन, साथीहरु त्यहीँ आउनु भयो । उहाँहरु बसेको होटलमा फ्राइ राइस मिठो भएनछ । हामी भएकै होटलमा आएर रोटी खानु भयो । सबै जनाले खाना खाई होटलमा आई बास बसियो ।
भिक्टोरिया मेमोरियल हेर्दा
भोलि पल्ट बिहानै उठेर फ्रेस हुनासाथ नजिकको भ्रमणीय स्थानको खोजी गरियो । होटलका भाइहरुको सल्लाह अनुसार नजिकै भिक्टोरिया मेमोरियलमा जाने निधो ग¥यौँ । पैदलै त्यतातिर लाग्यौँ । बेलायतकी रानीको सम्झनामा तयार गरेको भिक्टोरिया मेमोरियल रमणीय स्थानमा रहेछ । बिहानै भएकाले भित्र हेर्न त पाइँदोरहेनछ तर, बगैँचामा घुम्न पाइयो । फोटो खिच्ने तथा घुम्नेको भीड हुँदो रहेछ । त्यस भीडमा हामी पनि मिसियौँ । घुम्ने कामको साथमा फोटो पनि धित् पु¥याएर खिच्यौँ । त्यताबाट फेरि बस चढेर हावडा पुलनजिकै रहेको रेलवे स्टेसनतिर लागियो ।
हावडाको पुल
उडिसा पुरी आज जानु पर्ने तर हामीसँग कुनै पनि साधानको टिकट थिएन । हामी हावडा रेल स्टेसनमा पुगी टिकटको खोजी गर्दा केही दलालहरुले बाटामैँ समाते । हामी टिकट मिलाइदिन्छौँ भन्दै थिए तर उनीहरुले मिलाउन सकेनन् । सामान्य सिटको व्यवस्था गर्छौँ भन्दै थिए तर हामीले वास्ता गरेनौँ । हावडाको पुलमा फोटो खिच्दै, हेर्दै हामी अगाडि बढ्यौँ । हावडाको पुलको वारेमा मैले भारतीय लेखक सुवासको उपन्यासमा पढेको थिएँ । त्यस उपन्यासमा सुन्दर ढंगले व्याख्या गरेको पाइन्थ्यो तर त्यस्तो खास मैले केही पाइनँ । उपन्यास पढ्दा त्यहाँ पुग्न पाए कस्तो हुन्थ्यो भन्ने लागेको थियो । त्यो इच्छा पनि पूरा भयो । नदीको वहाव र हावडाको पुलमा बसेर हेर्नुको मजा गजबको महसुस भयो ।
हामी होटल फर्केर एक दुई स्थानमा एसी बसको र रेलको टिकटको खोजीमा लाग्यौँ । त्यो पनि सफल भएन । अनी होटलबाट चेक आउट भई बसपार्कतिर ताकियौँ । धरमतोला भन्ने स्थानमा बसपार्क रहेछ । टिकट काट्ने ठाउँ खोज्दै जाँदा अन्डरग्राउन्ड रेल वे तथा स्टेसनतिर पुगेछौँ । त्यहाँ रोयल बसको टिकट पनि पाइँदोरहेछ तर त्यहाँ ५ जुनसम्मको टिकट सबै बुक भइसकेको जानकारी पायौँ । हामी निराश हुँदै सामान्य बसको खोजीमा लाग्यौँ । टिकट काउन्टर खोज्दा सवैभन्दा धेरै काउन्टर सिलगढी जानेको रहेछ । हामी जानु पर्ने पुरी उडिसा ।
कोलकाताबाट उडिसाको बस यात्रा
बल्ल बल्ल बसको टिकट काउन्टर भेटियो । टिकट काट्यौँ । साँझ ६ बजे छुट्ने बसको सिट नं. ४७, ४८, ४९ र ५० हाम्रो भयो । यतिबेला दिउँसोको मात्र २ बजेको थियो । समय बिताउन नजिकैको पार्कतिर घुम्न, लिची खान थाल्यौँ । त्यहाँ रहेको सहिद स्मारकको पार्कमा बसी ६ बजायौँ । ६ बजे हिँड्ने बस ७ः३० तिर पो बिस्तारै बाटो लाग्न थाल्यो । झन्डै ५ सय किलोमिटरको यात्रा पनि पट्टयार लाग्दो नै हुन पुग्थ्यो । गाडीको गति साह्रै धिमे थियो । त्यत्ति समतल स्थानमा पनि गाडीको गति देख्दा हामी छक्कै प¥यौँ । बेला बेलामा गाडी रोक्दै ११ बजेतिर खाना खानका लागि गाडी रोकियो । हामी सबैले खाना खायौँ । फेरि गाडी धिमे गतिमा चल्दै थियो ।
३ घन्टा जतिको जाममा फस्यो । ५ः३० बजेतिर जाजपुरमा गाडीलाई भारतको राजस्व कार्यालयले समात्यो । छतका टन्न सामान हालेको तर त्यसको कर तिरेको रहेनछ । गाडी समातियो । हामीले अर्को गाडी चढी अगाडि वढ्नु पर्ने भो । पुरीका लागि गाडी चढेको अब अर्को बसबाट भुवनेश्वरसम्मका लागि चढियो । भुवनेश्वर भनेको उडिसा प्रदेशको राजधानी हो । उडिसालाई उरिसा पनि भनिँदो रहेछ । भुवनेश्वरमा पुगी अर्को बसबाट पुरीतर्फ लागियो । ६० किमीको दूरीमा पर्ने सो समुन्द्रको किनारमा रहेको सहरमा पुग्नका लागि २ घन्टाभन्दा पनि बढी समय लाग्यो । बाटोमा आयोजक संस्थाका अभिजितसँग नियमित सम्पर्क भइरहेको थियो ।
पुरीमा पुग्दा
पुरीमा पुगेपछि अटो रिक्साको सहायतामा विश्राम गेस्ट हाउसमा पुगी फ्रेस भयौँ । बिहानको खाना आयोजकले त्यहीँ व्यवस्था गरिदिए । दिउँसो समुन्द्रको तटमा गई रमाइलो हेरियो । आज समुन्द्रको छालमा खुट्टा मात्र भिजाइयो । भोलि धित् मरुन्जेल समुन्द्री छालमा खेल्ने रहरका साथ फर्कियो । साँझमा आयोजकहरुमध्ये केहीसँग कार्यक्रम स्थल टाउन हलमा भेटघाट गरी चिया खाइयो । साँझमा पनि कोठामा नै रोटी खाई सुतियो ।
भगवान्को दर्शन गर्न पनि एजेन्ट चाहिने
भोलि पल्ट बिहानै जगन्नाथ पुरीमा गइयो । प्रसिद्ध चार धाममध्ये एक धाम जगन्नाथ धाम रहेछ । जुन मन्दिर हामी बसेको स्थानबाट ७ मिनेटको पैदल दूरीमा भएकाले हिँड्दै गयौँ । मन्दिरभित्र क्यामेरा, छालाका पदार्थहरु लान नपाइने भएकाले २÷२ जनाको पालो गरी भित्र पसी दर्शनको प्रयास गरियो । बाटोदेखि नै पण्डाहरुले मन्दिरमा दर्शन गराईदिन्छौँ भनी हैरान बनाउँदा रहेछन् । हामी एजेन्ट नराखी सिधै भगवान्लाई भेट्ने हो भन्दै अगाडि बढ्यौँ ।
एजेन्टमार्फत दर्शन गर्न भारु ३१ दिनु पर्ने रे तर हामीले त्यस्ता परामर्शदाता नियुक्त गरेनौँ । जगन्नाथमा ४ वटै दिशामा ढोकाहरु रहेछन् हामी पूर्वी ढोकाबाट भित्र प्रवेश ग¥यौँ । मन्दिरमा रंगरोगनको कार्य भइरहेको रहेछ । बाहिरबाट फोटो पनि खिचियो । मूर्तिको नजिक गई दर्शन गर्न पाइँदोरहेनछ । मूर्तिको अलिपरबाट त्यहाँ रहेका पण्डाहरुलाई हाम्रो वारेस बनाइ पठाउने चलन रहेछ । हाम्रो टिम पनि सोही पथमा लाग्नै प¥यो ।
भारतीय वन अभियानकर्मीहरुसँग भेटघाट
आयोजक संस्थाका एक जिम्मेवार वन अभियानकर्मी अशोक चौधरी (हामीसँगका पहिलो सम्पर्क व्यक्ति)सँग भेट भयो । नेपालका वन अभियान र भारतका अभियानको बारेमा समीक्षात्मक छलफल गरियो । नेपालको वनको संघर्ष हाम्रा लागि महत्वपूर्ण सिकाइ हुन्छ भन्ने कुरा उहाँले बताउनुभयो । हामीले गरेका कामहरुको बारेमा जानकारी गराउने कार्य गरियो । अन्य हिमाञ्चल प्रदेशका संजीवकुमारलगायत अभियानकर्मीहरु पनि थिए । सामूहिक परिचय तथा छलफल गरियो । त्यसैगरी रोमा दिदी उहाँ नेपालको कैलाली जिल्लाको सिमनामा पर्ने दुधुवा निकुञ्जलाई केन्द्रविन्दु बनाई समुदायको पक्षमा वन अधिकारका अभियानहरु चलाइरहनु भएको रहेछ उहाँसँग चिनजान तथा गफगाफ भयो । यहाँका अभियानकर्मीहरुसँग एक किसिमको प्रतिवद्धता तथा अठोट देखिन्थ्यो । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *