भारतले लगाउने गरेको नाकाबन्दीलाई किन बिर्सने गरेको ?

लेख

रामचन्द्र बस्नेत
२०७२ साल असोज ३ गते नेपालको संविधानसभाले संविधान जारी गरेलगत्तै दक्षिणतिरको छिमेकी भारतले नेपालका विरुद्धमा अघोषित नाकाबन्दी गरेको थियो । भारत सँगै चीनसँग पनि सिमा जोडिएको भएपनि भारत माथि नै लगभग पूर्ण रुपमा निर्भर भएको अवस्थाको कारण भारतले नाकाबन्दी लगाई दिँदा नेपाली जनताको दैनिक जीवन समेत अस्तव्यस्त बन्न पुगेको थियो भने नेपालमा भई राखेका विकास निर्माणहरु समेत भारतले लगाएको नाकाबन्दीबाट प्रभावित भएका थिए । र, भारतले लगाएको नाकाबन्दीबाट यो मुलुकको यातायात र आम जनताको चूलो सबभन्दा बढी प्रभावित बन्न पुगेको थियो । किनभने भारतबाट नै पेट्रोलियम पदार्थ सँगै खाना पकाउने एलपी ग्यास समेत नेपालमा आउने गर्दथ्यो र अहिले पनि यो मामिलामा नेपालको निर्भरता पूर्ण रुपमा भारतमा नै आश्रित रहेको छ । पेट्रोलियम पदार्थसँगै खाना पकाउने एलपी ग्यासको अभाव भारतीय नाकाबन्दीको कारणले गर्दा चर्को रुपमा हुँदा त्यसको असर नेपाली जनताको दैनिक जीवनमा पूर्ण रुपमा पर्न गएको थियो । भारत सरकार प्रति पूर्ण रुपमा निर्भर हुँदा यो अवस्था आएको निष्कर्ष त्यतिखेर तत्कालीन सरकारले समेत निकालेको थियो र भारतले लगाउने नाकाबन्दीबाट यो मुलुकमा कम भन्दा कम असर परोस् भनेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीनसँगको अधिकतम नाका खोल्ने कार्यलाई प्राथमिकतामा राखेका थिए । यसैगरी चीनसँग बाणिज्य सम्झौता समेत गरेर दुई वटा सुख्खा बन्दरगाहा नेपालका निम्ति उपयोग गर्ने गरी चीनसँग सम्झौता पनि भएको थियो । र, चीनबाट आवश्यकताको तीस प्रतिशत पेट्रोलियम पदार्थ नेपाल ल्याउने सम्झौता पनि भएको थियो । भारतको नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको हाहाकार हुँदा थोरै मात्रामा भएपनि रसुवा नाका हुँदै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने काम भएको थियो । भारतले नाकाबन्दी लगाएर नेपाली जनताको दैनिक जीवनलाई समेत कष्टकर बनाएकै कारणले गर्दा चीनसँग सडक यातायातले मात्र होइन, रेल यातायातले समेत जोड्ने अवधारणा अगाडि ल्याइएको थियो र रसुवागढी हुँदै चिनियाँ रेल काठमाडौं देखि लुम्बिनीसम्म पु¥याउने अवधारणा भारतीय नाकाबन्दीकै समयमा आएको हो । भारतले लगाएको नाकाबन्दीको कारण खाना पकाउने एलपी ग्यासको ठूलो अभावलाई नेपाली जनताले भोगिराख्नु परेको अवस्थामा प्रधानमन्त्री केपी ओलीले पानीको पाइप जस्तै खाना पकाउने एलपी ग्यासको पाइप पनि भान्छामा जोडिदिने योजना समेत त्यही समयमा ल्याएका थिए ।
तर अहिले भारतको निर्भरता हटाएर चीनसँग निर्भरता बढाउने र भारतले नाकाबन्दी लगाएपनि त्यसको असर कम गर्ने योजना छेपारोको कथा जस्तो भएको अनुभूति जसले पनि गर्न सक्दछ । जाडोमा घाम ताप्ने छेपारोले अर्को हिउँदमा भने घर बनाउँछु भन्ने कल्पना गर्छ अरे । तर जाडो सकिएसँगै छेपारोले यो कल्पना बिर्सिने गर्छ भन्ने कहावत नेपाली समाजमा प्रचलित रहेको छ । भारतले लगाएको नाकाबन्दीका सम्बन्धमा पनि छेपारोको यही कथा दोहोरिराखेको छ । भारतले पाँच महिनासम्म नाकाबन्दी लगाएर स्थिति खुल्ला गरिदिएपछि नेपालको तर्फबाट भारतसँगको निर्भरता घटाउने र चीनसँग पनि व्यापारिकदेखि अन्य कारोवारहरु बढाएर भारतले नाकाबन्दी लगाएपनि त्यसको असर कम गर्ने योजना भारतले नाकाबन्दी समाप्त गरेसँगै हराएको छ । यतिखेर नेपालले न त चीनसँगको नाका थप खोल्नेतिर पहल गरेको छ न त चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रियालाई नै अगाडि बढाएको छ । वास्तवमा भन्नु पर्दा नाकाबन्दी समाप्त गरेसँगै भारतसँगको निर्भरता पहिलेकै अवस्थामा पुगेको छ र भविष्यमा भारतले नेपालका विरुद्धमा बलियो हतियारको रुपमा पुनःनाकाबन्दीलाई प्रयोग गरे विगतमा जस्तै नेपालले त्यसको असर त्यसैगरी भोग्नु पर्ने हुन्छ ।
वास्तवमा नेपालले इतिहासबाट र छिमेकीबाट शिक्षा नलिँदा दुःख पाउने स्थिति समय समयमा आउने गरेको हो । भारतले नेपालले आफ्ना सुझाव विपरीत २०७२ साल जेठ ३ गते संविधान जारी गरेको प्रतिक्रियामा पाँच महिना लामो नाकाबन्दी लगाएको थियो । भारतले नेपालका विरुद्धमा नाकाबन्दी लगाएको यो पहिलो घटना भने थिएन । २०४६ सालमा पनि भारतले यसैगरी नेपालका विरुद्धमा नाकाबन्दी लगाएको थियो । जुन नाकाबन्दी पञ्चायत व्यवस्था समाप्त पारेर बहुदलिय व्यवस्था स्थापना गर्नका लागि प्रमुख कारण बन्न पुगेको थियो । चीनसँग नेपालले हल्का हतियार खरिद गरेको प्रतिक्रियामा भारतले त्यो नाकाबन्दी लगाएको थियो । त्यस भन्दा अगाडि २०२७ सालमा पनि भारतले त्यसैगरी नाकाबन्दी लगाएर नेपाललाई आफ्नो अधिनमा रहेको सन्देश दिने दुश्प्रयाश गरेको थियो । भारतले पटक पटक आफ्नो स्वार्थ बाँझ्ना साथ नेपाल विरुद्ध नाकाबन्दी लगाउने गरेको छ । अर्थात् भारत सरकारले नाकाबन्दीलाई नेपाल विरुद्धको बलियो हतियारको रुपमा उपयोग गर्दै आएको छ । भारतसँग पुनःनिर्भर हुनुपरेको बाध्यताको कारण भारतले नाकाबन्दी लगाएपछि नेपालको दैनिक जीवन नै अस्तव्यस्त हुन पुग्दछ । यो स्थितिलाई समाप्त पार्न भारतसँगको निर्भरता घटाएर उत्तरतिरको छिमेकी चीनसँग व्यापार लगायतका अन्य काम सँगै चीनसँगको अधिकतम नाका खोल्ने काम गर्नु पर्दछ । तर भारतले नाकाबन्दी हटाएर स्थिति सामान्य भएसँगै भारतले लगाएको नाकाबन्दीको कारण नेपालले भोगेको दुःख, कष्ट र अभावलाई सरकार सँगै यो मुलुकका अन्य राजनीतिक दल र बौद्धिक जगतले समेत पूर्ण रुपमा बिर्सिएको भन्ने अवस्था बन्न पुगेको छ । किनभने भारतसँगको निर्भरता घटाउनेतिर भारतले नाकाबन्दी हटाएको तीन वर्ष भई सक्दा पनि नेपाल सरकारले कुनै पहल गरेको छैन । यसमा पनि भारत सरकारको दवाव र प्रभावले काम गरेको अनुमान गर्न सकिन्छ । किनभने भारत नेपालले आफूसँगको निर्भरता घटाउने गरी विभिन्न उपाय गरेको कहिले पनि रुचाउँदैन । र, नेपालमा सत्तामा पुगेका राजनीतिक दल तथा नेता पनि भारतलाई चिढ्याउने गरी गतिविधि गर्न चाहँदैनन् । यही कारणले गर्दा नै भारतसँगको निर्भरता घटाउने नाकाबन्दी कालको प्रमुख एजेण्डा अहिले ओझेलमा पर्न गएको महसुस जसले पनि गर्न सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *