कहिले जुर्ला कांग्रेसको १४ औं महाधिवेशनको मिति

राजनीति

निर्धारित मितिमा हुने हो भने नेपाली कांग्रेसको १४ औं महाधिवेशन पर्सि फाल्गुण ७ गतेबाट सुरु हुनु पर्दछ । तर नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि अहिलेसम्म कुनै तयारी गरेको छैन । र, यस सम्बन्धमा कांग्रेसले गृहकार्य पनि आधा पनि सम्पन्न गरेको छैन । कोरोना महामारीलाई देखाएर गत वर्षको फाल्गुणमा नै सम्पन्न हुनुपर्ने नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही फाल्गुण ७ गतेदेखि १० गतेसम्मका लागि तय गरिएको थियो । तर विभिन्न विवादको कारणले गर्दा यो मितिमा पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुन नसक्ने निश्चित भएको छ । यसका लागि पनि कांग्रेसले कोरोना महामारी सँगै प्रतिनिधिसभा विघटन र आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचनलाई जिम्मेवार ठह¥याएको छ ।
१४ औं महाधिवेशनका लागि तोकिएको २०७७ साल फाल्गुण ७ गते आउन दुई दिन मात्र बाँकी हुँदा नेपाली कांग्रेसले आजका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमितिको यो बैठक १४ औं महाधिवेशनको लागि नयाँ मिति तय गर्नका लागि बोलाएको हो । नेपाली कांग्रेसको संस्थापना पक्ष संविधानले दिएको विशेष सुविधालाई उपयोग गर्दै आगामी साउनमा मात्र १४ औं महाधिवेशन गर्ने पक्षमा छ भने नेपाली कांग्रेसका रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष भने पार्टीको १४ औं महाधिवेशन आगामी वैशाख जेठ भित्र गर्नु पर्ने पक्षमा रहेको छ । कांग्रेसको विधानले पार्टीको महाधिवेशन एक वर्षसम्म पछाडि सार्न पाउने व्यवस्था गरेको छ । यही व्यवस्थाको उपयोग गर्दै नेपाली कांग्रेसले गत २०७६ साल फाल्गुण भित्रमा सम्पन्न हुनुपर्ने १४ औं महाधिवेशनलाई २०७७ साल फाल्गुण ७ गतेबाट गर्ने गरी सारेको थियो । तर यो फाल्गुण ७ गतेबाट पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने कुनै सम्भावना छैन । यही स्थितिमा संविधानले दिएको ६ महिनाको विशेष सुविधाको उपयोग गर्दै कांग्रेस पर्सिबाट तय भएको १४ औं महाधिवेशनलाई पछाडि सार्न गई राखेको छ र यसैलाई औपचारिकता दिनका लागि आज नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । तर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने निश्चित भयो भने र आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन भयो भने नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि प्रभावित हुनेछ र त्यो स्थितिमा नेपाली कांग्रेसले वैधानिकता पाउनका लागि संविधानमा नै संशोधन गर्नु पर्ने अवस्था समेत आउनेछ । नेपाली कांग्रेसको नेतृत्व तहलाई भने पार्टीको महाधिवेशन भन्दा नेतृत्वमा को पुग्ने भन्ने कसरत र चिन्ताले सताई राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *