सर्वोच्चबाट निर्णय आउनै लाग्दा दिल्ली दौडधुप बढ्दो नेपालको भावी प्रधानमन्त्री खोज्दै दिल्ली दरबार

समाचार

काठमाडौं । राजनीतिक क्षेत्रमा तातो बहसको विषय बनेको छ र आमजनतामा समेत चासोको विषय रहेको प्रतिनिधिसभा विघटनको विपक्षमा परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले यही साता निर्णय दिने बलियो सम्भावना रहेको छ । गत ५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने निर्णय भएको थियो । वर्तमान संविधानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन भन्दै ६ पुसमा नै उक्त निर्णय उल्ट्याएर प्रतिनिधिसभाको पुनस्र्थापना होस् भनेर सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । र, यसरी परेका रिट निवेदनमाथि गत ४ माघबाट नियमित सुनुवाइ प्रक्रिया अगाडि बढेको थियो । गत शुक्रबार प्रतिनिसभा पुनस्र्थापना होस् भनेर परेका १३ वटै रिट निवेदनमाथिको सुनुवाई प्रक्रिया सम्पन्न भएको छ । प्रधानन्यायाधीशको चोलेन्द्र शम्शेर राणाको निर्देशनअनुसार यो रिटको पक्ष विपक्षमा बहस गरेका कानुन व्यवसायीहरुले पनि गत आइतबार ६६ पेजको बहस नोट सर्वोच्च अदालतको संवैधानिक परिषदमा बुझाइसकेका छन् । कानुन व्यवसायीले बहस नोटसमेत बुझाइसकेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायाधीशहरु अहिले यो रिट निवेदनका सम्बन्धमा गर्ने निर्णयको लिखित दस्तावेज तयार गर्ने क्रममा रहेका छन् । लिखित निर्णय सम्पन्न भएलत्तै संवैधानिक इजलासले यो चर्चित मुद्दामाथि निर्णय गर्ने छ ।
नेपालको राजनीतिमा दुर्गामी प्रभाव पार्ने यो रिट निवेदनका सम्बन्धमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई लिएर नेकपा ओली पक्ष र नेकपा प्रचण्ड पक्षले आ–आफ्नो राजनीतिक स्वार्थ अनुसार व्याख्या गर्ने काम गरिराखेका छन् । र, यस सन्दर्भमा ओली पक्षले सरकारको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले पनि सदर गर्ने टिप्पणी गरिराखेको छ भने प्रचण्ड पक्षले प्रतिनिधिसभा विघटनको सिफारिस संविधानविपरीत भएकाले उल्टिने दाबी गरिराखेको छ । यो मामिलामा अन्य राजनीतिक दलहरुले कुनै स्पष्ट प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत ६ पुसमा परेका १३ वटा रिटमाथि कानुनी प्रक्रिया अगाडि बढिरहँदा केही राजनीतिक नेताको दिल्लीको दौडधुप भने बढेर गएको छ ।
यसैगरी नेपालको गतिरोधपूर्ण राजनीतिका सम्बन्धमा भारतको दिल्लीमा पनि विभिन्न प्रतिक्रिया हुन थालेको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि भनेर दिल्ली पुगेर फर्किएकै दिन जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई गत सोमबार स्वास्थ्य उपचारकै लागि भनेर पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डेलाई लिएर दिल्ली पुगेका छन् । उता भारतको राजधानी दिल्ली पनि आफूनिकट नेतालाई इमान्दारको पगरी गुथाएर नेपालको प्रधानमन्त्री बनाउने कसरत भइराखेको छ । र, यस सम्बन्धमा भारतका प्रभावशाली नेताहरुले सार्वजनिक रुपमा टीकाटिप्पणीसमेत गर्न थालेका छन् । बाह्रबुँदे सम्झौतामा प्रमुख भूमिका निर्वाह गरेका भारत सरकारका पूर्वविदेशसचिव श्यामशरणले केही दिन अगाडि एउटा दैनिक पत्रिकामा नेपालको राजनीतिका सम्बन्धमा लामो लेख प्रकाशित गरेर इमान्दार राजनीतिक नेतालाई प्रधानमन्त्री बनाएर अहिलेको गतिरोध समाप्त गर्नु पर्ने विचार व्यक्त गरेका छन् । नेपालका प्रधानमन्त्री केपी ओली पनि यो प्रस्तावप्रति सकारात्मक रहेको उक्त लेखले दाबी गरेको छ । यसैगरी त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका पूर्वअध्यक्ष अमित शाहको हवाला दिँदै भारतीय जनता पार्टीलाई विस्तार गरेर नेपालमा समेत सरकार बनाउने योजना बनाएको दाबी गरेका छन् । यसैगरी नेपालमा राजनीतिक विवाद उत्कर्षमा पुगेर सर्वोच्च अदालतमा निर्णयको तहमा पुगिरहँदा भारतका सेनाप्रमुख मनोजमुकुन्द रनवाणेले नेपालमा चिनियाँ गतिविधि बढेको टिप्पणी सार्वजनिक रुपमा नै गरेका छन् ।
राष्ट्रपतिका आकांक्षी नेकपा प्रचण्ड पक्षका नेता झलनाथ खनाल आफ्नो यो लक्ष्यका लागि उपयुक्त हुने वातावरण बनाउनका लागि अहिलेको संवेदनशील अवस्थामा पनि स्वास्थ्य उपचारका लागि भनेर दिल्ली गएको टिप्पणी राजनीतिक क्षेत्रमा भइराखेको छ भने जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि संसद पुनस्र्थापना भएको अवस्थामा प्रधानमन्त्री हुने वातावरण बनाउका लागि उपचारकै नाममा दिल्ली गएका हुन् भनिन्छ । यस सम्बन्धमा जनता समाजवादीका अध्यक्ष डा.भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डसँग पटकपटक वार्ता गरेका छन् र यो मामिलामा अध्यक्ष प्रचण्ड पनि सकारात्मक रहेको उल्लेख गरिन्छ । नेकपा प्रचण्डको तर्फबाट हरियो झण्डा प्राप्त गरेका जनता समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराई दिल्लीबाट पनि समर्थन प्राप्त गर्नकै लागि उपचारको नाममा दिल्ली गएका हुन् भनिन्छ । स्मरण रहोस् नेपालका अस्पतालहरुमा उपचारका लागि उच्च प्रविधि र दक्ष चिकित्सक उपलब्ध छन् र एक वर्ष अगाडि प्रधानमन्त्री ओलीले पनि नेपालको अस्पतालको उच्च प्रविधि र दक्ष चिकित्सकबाट नै दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका थिए । तर अहिले पेटमा ट्युमर देखिएको भन्दै जनता समाजवादीका अध्यक्ष उपचारको नाममा दिल्ली पुगेका छन् ।
तर सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भए पनि ओली नेकपा र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सम्भावना बलियो रहेको छ । अदालतबाट प्रतिनिसभा पुनस्र्थापना हुँदा नेपाली कांग्रेससँगै ओली नेकपा र प्रचण्ड नेकपा तीन शक्तिको रुपमा संसदमा उदाउने छन् । र, बहुमतको सरकार गठन गर्नका लागि यी तीनमध्ये दुई दल मिल्नु पर्ने अवस्था आउने छ । तर नेकपा ओली र नेकपा प्रचण्ड मिलेर सरकार बनाउने सम्भावना नभएको हुनाले नेकपा ओली र नेपाली कांग्रेसका मिलेर सरकार गठन गर्ने सम्भावना बलियो छ । र, प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्थामा अन्तर्राष्ट्रिय कारणले गर्दा पनि सरकार गठनका लागि ओली नेकपा र नेपाली कांग्रेस मिल्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *