नेपालका नेताहरूले विदेशी सहयोगलाई ठूलो महत्व दिने गरेका छन्् । प्रत्येक साल नेताहरूले ल्याउने राष्ट्रिय बजेटमा विदेशी सहयोगको अनुपात लगभग आधा नै हुन्छ । विदेशी सहयोग ऋण वा अनुदान वा दुवै हुने गरेका छन् । सहयोग भनिएता पनि त्यसमा अनेक सर्तहरू हुने भएकाले त्यसबाट नेपालको राजनीति र विकास दुवै प्रभावित हुन्छन् । उदाहरणको लागि अमेरिकी एमसिसी परियोजनालाई लिन सकिन्छ । यो नेपाली रुपियाँ ५५ अर्बको अनुदान सहयोग नेपाल र भारतमा अन्तर्देशीय विद्युत् प्रसारण लाइनहरू बनाउन र नेपालको केही महत्वपूर्ण सडकहरू विस्तार गर्नको निमित्त लगानी हुने भनिएको छ । अन्तर्देशीय विद्युत् प्रसारण लाइनले नेपाल र भारतबीच विद्युत् आदान–प्रदान बढाउने र महत्वपूर्ण सडकहरूको विस्तारले नेपाललाई समृद्ध बनाउने भनिएको छ । यस्तो नेपालको विकासमा चमत्कार गर्न सक्ने एमसिसी परियोजनाको विरोध गर्ने नेपाली जनता मूर्ख हुन भने झैँ लाग्दछ, तर यथार्थमा यो सही हो । नेपाली जनताले एमसिसी सहयोगभित्र लुकेको अमेरिकी दूराशयलाई देखेको छ जुन अरुले देख्न सकेको छैन । त्यसैले सक्रिय विरोध नेपाली जनताले गर्दैछन् र अमेरिकाको दलाली गर्दै हिँड्ने नेपालका केही नेताहरूलाई नेपाली जनताले देशद्रोही सम्झेका छन् । विदेशीले नेपालमा आफ्ना सहयोगको परिचालन गैरसरकारी संस्थाहरू, विश्व बैंक र एशियाली विकास बैंकमार्फत पनि गर्ने गरेका छन् । यस्ता सहयोगहरू पनि ऋण अथवा अनुदान सहयोगको रूपमा नै हुन्छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट आउने विदेशी सहयोग भने सबै अनुदानकै रूपमा हुन्छन् र त्यसको लगानी पनि सिधैँ लक्षित समुदायमा नै हुन्छ । यस्तो लगानीको पनि देखिने उद्देश्य एउटा र नदेखिने उद्देश्य बेग्लै हुन्छ । नेपालमा खासगरी यस्ता लगानीहरू इसाई धर्म प्रचारमा केन्द्रित रहेको अनुमान छ । नेपालका राजनीतिक दलका नेताहरूले आफ्ना श्रीमती वा अन्य नातेदारहरूको नाममा खोलेका गैरसरकारी संस्थाहरूमार्फत विदेशीलाई सहयोग र सहजीकरण गर्दै आएका छन् भन्ने अपुष्ट अनुमान छ । यसरी नेपालको विकास, समृद्धि र सुखी नेपाली जनतालाई केन्द्रबिन्दु बनाएर नेपाल राष्ट्रलाई विदेशी सहयोगको नाममा चारैतिरबाट घात गर्ने कार्य भइरहेको छ र त्यसको मतियार नेपालका ठूला राजनीतिक दलका नेताहरूनै छन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । परापूर्व कालदेखि नेपाल हिन्दू राष्ट्र भएकोमा नेपाललाई दलहरूले धर्मनिरपेक्ष राष्ट्र बनाउनुको पछाडि पनि यस्तै कारणहरू छन् । दलका ठूला नेताहरूले गैरसरकारी संस्थाहरूमार्फत विदेशीको भत्ता खाएर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन ठूलै भूमिका निभाएका छन् । शान्ति सम्झौता गर्दा राजा र राजतन्त्रवादीहरूसँग भएको सहमतिलाई पनि तोडेका छन् । राजालाई नेपालको मूलधारको राजनीतिबाट अलग पारिदिएका छन् । नेपालको भविष्य हिन्दू राष्ट्रको रूपमा र राजाको सक्रिय नेतृत्वमा सुरक्षित थियो भने दलहरूको सक्रियतामा धर्मनिरपेक्ष राष्ट्र भएपछि नेपालको भविष्य असुरक्षित बनेको छ । नेपालको राजकिय सत्ता सम्हालेर बसेका दलका धेरै नेताहरू विदेशीका दलाल भएको हुँदा तिनीहरूको हातमा नेपालको भविष्य सुरक्षित छैन । दलहरूले गर्दा नेपालको सुरक्षा यतिबेला कमजोर अवस्थामा छ भने नेपाली जनताको शान्ति खलबलिएको छ । नेपाली जनताको मनमा अन्योलता बढेको छ भने राजनीतिक दलका नेताहरू र सरकारी निजामति अधिकारीहरू भ्रष्टाचार गर्नमा तल्लिन छन् । नेपाल सरकारले भ्रष्टाचार रोक्नका निमित्त तदारुकता नदेखाएको हुँदा नेपालमा भ्रष्टाचारले व्यापकता पाएको छ र राष्ट्रलाई धमिराले काठ खाएझैँ भित्र–भित्रै खाएर कंगाल बनाउँदै लगेको छ । नेपालमा भ्रष्टाचार बढाउनमा विदेशी सहयोगले ठूलो भूमिका खेलेको देखिन्छ । विदेशीको अनुदान वा ऋण सहयोग दुवैले नेपालमा भ्रष्टाचार नै बढाउने गरेको छ । केही विदेशी मुलुकहरूले अनुदान सहयोग वा सहुलियत व्याजदरमा लामो अवधिको लागि दिएको ऋणमा बनाउने परियोजनाहरू आफ्नै प्रत्यक्ष संलग्नतामा बनाउने गरेका छन् । चीनले चक्रपथको विस्तार र जापानले नमुना नागढुंगा सुरुङमार्ग यस्तै प्रकारले प्रत्यक्ष संलग्नतामा बनाउँदै छन् । उक्त मुलुकहरू आ–आफ्नो राष्ट्रले नेपालको विकासमा गरेको सहयोग भ्रष्टाचारीले सजिलै खान नसकोस् भन्ने कुरामा सजग छन् । अमेरिकाले पनि एमसिसी परियोजनामा आफ्नो मुलुकले गरेको लगानी भ्रष्टाचारीहरूले सजिलै खान नसकोस् ठोस भौतिक काम होस् भनेर नै नेपालको संसदबाटै अनुदान सहयोगको लागि दुई मुलुकबीच भएको सम्झौता अनुमोदन गरिनु पर्ने सर्त राखेको हो । नेपालमा बेरोकटोक चल्ने गरेको भ्रष्टाचारदेखि नेपाललाई सहयोग गर्ने विदेशी राष्ट्रहरू पनि यसरी प्रभावित भएका छन् । भारतले पनि सिधँै लक्षित संस्थाहरू वा समुदायलाई नै अनुदान सहयोग दिने गर्दै आएको छ । नेपालको विकासमा सहयोग गर्ने सबै राष्ट्रहरू आफूले नेपाललाई दिएको अनुदान सहयोग भ्रष्टाचारीको हातमा परी खेर नजावस् भन्ने कुरामा विभिन्न प्रकारले अर्थात् आ–आफ्नो तरिकाले सजगता अपनाउने गरेका छन् । तै पनि नेपालमा भ्रष्टाचार लगातार बढेर नै गएको छ र यसले कुनै दिन नेपाल राष्ट्रलाई कंगाल पारी नेपालको नामनिशाना नै मेटाउन सक्ने अनुमान गर्न थालिएको छ । नेपालमा भ्रष्टाचार बढ्नुमा एशियाली विकास बैंक र विश्व बैंकको ठूलो हात छ । उक्त विदेशी बैंकहरूले नेपाललाई ऋण बोकाउनमा मात्रै ध्यान दिएका छन् । नेपालका नेताहरू र सरकारी अधिकारीहरूलाई आफ्ना दलालहरूमार्फत कमिसन खुवाएर ऋण स्वीकृत गराउने चलन चलाएर उक्त विदेशी बैंकहरूले नेपालमा भ्रष्टाचार फैलाउने काम गरेका छन् । उक्त विदेशी बैंकहरूले अनुदानमा प्रविधिक सहयोग उपलव्ध गराएर मेलम्चीजस्ता कमजोर परियोजना बनाएर त्यसमा ऋण लगानी गरी नेपाललाई ऋणमा डुबाउँदै आएका छन् । त्यही भएको हुनाले सात दशकसम्म लगातार विदेशीको ऋण लिँदै आएको मुलुक नेपाल अल्पविकसित मुलुकबाट विकाससील मुलुकमा कहिले उक्लिन सकेन । नेपाल झन्–झन् गरिब बन्दै र विदेशीको ऋणमा डुब्दै गयो र अहिले राष्ट्रको हालत नाजुक मोडमा पुगेको छ । नेपाली जनताको मनमा यतिबेला शान्ति छैन किनकि नेपाली जनतालाई नेपाल राष्ट्रको सुरक्षाको चिन्ता भएकाले आफ्नो प्यारो, सुन्दर, शान्त र विशाल राष्ट्र नेपालको नाम निशाना नै मेटिने हो कि? भन्ने डर लागेको छ । ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ’ भने झैँ नेपाली जनता यतिबेला अमेरिकी एमसिसी परियोजनाको अनुदान सहयोगबाट तर्सिएका छन् । देख्दा सित्तैमा पाएको अनुदान सहयोगको पनि विरोध गर्ने नेपाली जनता ठूलो पल्टेको जस्तो देखिन्छ, तर वास्तिकता बेग्लै छ । नेपाली जनता त्यसै डराएको होइन त्यसको अनेक कारणहरू छन् । मुख्य कारण नेपाली जनताले नेपालका नेताहरूलाई विश्वास गर्न छाडेका छन् । दलहरूले नेपाल देशलाई नै विदेशीको हातमा बेचेर नेपाल राष्ट्रको नाम निशाना नै मेटेर खालान् कि भन्ने त्रासले नेपाली जनतालाई सताएको छ । फलस्वरूप नेपाली जनता एमसिसीको विरोधमा स्वतः स्फूर्त उत्रेका छन् र देश बेचुवा नेताहरूको गर्दनमा खुकुरी हान्न तयार भएका छन् । अब अमेरिकी एमसिसी परियोजनालाई खारेज नगरी सुखै छैन । कमिसन पाउने खाने लोभमा परी अमेरिकाको दलाली गर्दै हिँडेका दलका नेताहरू यतिबेला दोहोरो चेपुवामा परेका छन् । एमसिसी पास गरौँ भने जनभावनाविपरीत छ, नगरौँ भने अमेरिकी सिआइएको निशानामा परिन्छ । कमिसन खाने चक्करमा दलका नेताहरूले खाएको यो ठक्कर निकै रमाइलो बन्दै गएको छ । दुईवटा श्रीमती विवाह गर्नेहरूको पनि यस्तै हालत हुन्छ भन्छन् जस्तो दलाल नेताहरूले एमसिसी काण्डमा परी भोग्दैछन् । नेपाली जनतालाई दया लागेर वा माया गरेर विदेशी सहयोग आउँदैन । विदेशी अनुदान वा ऋण सहयोगका पछाडि कुनै न कुनै स्वार्थ गाँसिएको नै हुन्छ । भन्दाखेरी त्यस्तो केही छैन भन्छन्, तर वास्ताविकता फरक हुन्छ । विदेशी सहयोगको मुख्य लक्ष्य नेपालको राजनीति र विकासमा हस्तक्षेप गर्नु नै हो । विदेशीको राजनीतिक हस्तक्षेपले गर्दा नेपालको राजनीति लामो समयदेखि अस्थिर भएर चलेको छ र स्थिर कहिले बन्नसकेको छैन । त्यसैगरी विदेशीले नेपालको विकासमा हस्तक्षेप गरेकाले नेपाल आत्मनिर्भर मुलुक बन्नसकेको छैन र झन्–झन् परनिर्भर मुलुक बन्दै गएको छ । विदेशी हस्तक्षेपकै कारण नेपालको औद्योगिकीकरण आजसम्म हुनसकेको छैन भने नेपालको महत्वपूर्ण जनशक्तिलाई सस्तोमा विदेशीले वैदेशिक रोजगारी दिने बाहानामा उपयोग गर्दै आएको छ । वैदेशिक रोजगारीको विकसित रूप अहिले मानव तस्करीको रूपमा नेपालमा खुबै फस्टाएको छ । विदेशी हस्तक्षेपले गर्दा नेपालको विकास हुन सकेन । विकास नहुँदा नेपाल राष्ट्र समृद्ध र नेपाली जनता सुखी भएन । विदेशी हस्तक्षेपले गर्दा नेपालको सुरक्षा कमजोर बन्यो र नेपाल राष्ट्रको नाम निशाना नै मेटिने हो कि भन्ने चिन्ताले नेपाली जनतालाई झन्–झन् सताउँदै लग्यो । परिणामस्वरूप नेपालमा यतिबेला अशान्ति फैलिएको छ र कुनै बेलामा पनि स्थिति विस्फोटक बन्न सक्ने सम्भावना बढेको छ ।