गालीगलौज लोकतान्त्रिक चरित्र होइन भन्ने बुझ्न जरुरी

लेख

नेपालमा कम्युनिस्ट पार्टी विभाजित हुँदा कसैले पनि अनौठो घटनाका रुपमा लिँदैन किनभने कुनै पनि कम्युनिस्ट नेतालाई नेतृत्वमा पुग्ने सनक चल्यो तर वैधानिक बाटोबाट नेतृत्वमा पुग्ने सम्भावना छैन भने पार्टीलाई विभाजित गरेर भए पनि एउटा कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने लोभ नेपालका कम्युनिस्ट नेताहरुमा हुने गर्दछ । यसलाई नेपालको कम्युनिस्टको विशेषता मान्दा पनि हुन्छ र कमजोरी भन्दा पनि हुन्छ । यही क्रममा नेतृत्व तहमा उत्पन्न भएको वादविवादको कारण सम्पन्न आमनिर्वाचनमा सबभन्दा ठूलो दलको हैसियत बनाएको नेकपा एमाले विभाजित भएको छ । पार्टीका वरिष्ठ नेता माधव नेपाललगायत नेतृत्वमा पुग्ने चाह बढेकै कारणले गर्दा नेकपा एमाले विभाजित भएर नेकपा समाजवादी गठन भएको हो र नेपाल यो कम्युनिस्ट पार्टीको अध्यक्ष भएका हुन् भन्ने स्थिति भने छैन । तर सिद्धान्त, विचार र कार्यदिशाको आधारमा नेकपा एमाले विभाजित भएर नेकपा समाजवादी गठन भएको हो भन्ने स्थिति पनि छैन ।
नेकपा एमाले विभाजित भएर नेकपा समाजवादी पार्टी गठन हुनु पूर्व सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको थियो । सर्वोच्चको आदेशबाट नेकपा विभाजित भएसँगै यो पार्टीमा आवद्ध रहेका नेकपा एमाले र माओवादी केन्द्र आ–आफ्नो बाटो लागेका थिए । सम्पन्न आमनिर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई नेपाली जनताले ठूलो समर्थन दिएका थिए । जनताको त्यही समर्थनको कारण नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा २०७४ साल फल्गुण ४ गते संयुक्त सरकार गठन गर्दै २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीको हैसियत चिनियाँ कम्युनिस्ट पार्टी र उत्तर कोरियाको मजदुर पार्टी पछिको तेस्रो ठूलो कम्युनिस्ट पार्टी बन्न पुगेको थियो । तर सर्वोच्च अदालतले कानुनका नौ सिंहको उपयोग गर्दै नेकपालाई विभाजित गरी दिएपछि कम्युनिस्ट कित्तामा नै विभाजनको आगो सल्किन थालेको थियो । त्यही आगोले अन्ततः सम्पन्न आमनिर्वाचनमा सबभन्दा ठूलो दलको हैरिसयत बनाएको नेकपा एमाले विभाजित मात्र भएन की सत्ताबाट समेत बाहिरिनुपर्ने अवस्था आयो । सम्पन्न आम निर्वाचनमा जनताले व्यक्ति गरेको मतलाई उपेक्षा गर्दैै नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व सुम्पन्नु पर्ने अवस्था पनि त्यही विवादले जन्माइदिएको थियो ।
अहिले यो मुलुकमा केपी अ‍ोली नेतृत्वको नेकपा एमाले, पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी र माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी सक्रिय अवस्थामा रहेका छन् । यी तीन ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताले अन्य ठूला कम्युनिस्ट पार्टी र कम्युनिस्ट नेतालाई आफ्नो प्रतिस्पर्धी होइन, शत्रु देख्ने गरेको अवस्था रहेको छ । यही कारणले गर्दा नै यी तीन ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले सार्वजनिक सम्बोधनको अधिकांश समय एक अर्कालाई हैसियतभन्दा तल गएर गाली गलौज गर्नेमा नै आफ्नो समय खर्च गर्ने गरेका छन् ।
खास गरेर वर्तमान सरकारको एउटा प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी आमनिर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने बताउने गरेका छन् । तर आगामी आमनिर्वाचनमा यो गठबन्धन कसरी जनता समक्ष जान्छ भन्ने खाकासमेत माओवादी अध्यक्ष दाहालले प्रस्तुत गरेका छैनन् । र, उनको अधिकांश समय नेकपा एमालेका अध्यक्ष ओलीको आलोचना गर्नुमा नै खर्च हुने गरेको छ । आमजनताले यही अभिव्यक्ति र घटिया प्रतिक्रियालाई नै माओवादीको कार्यदिशाको रुपमा बुझ्नु पर्ने अवस्था अध्यक्ष दाहालले नै जन्माइदिएका छन् । यसैगरी प्रमुख प्रतिपक्षको हैसियतको नेकपा एमालेका अध्यक्ष ओली र नेकपा समाजवादीका अध्यक्ष नेपालले पनि सार्वजनिक स्थानमा गर्ने सम्बोधनको अधिकांश समय एक अर्कालाई घटिया गाली गर्नेमा नै खर्च गर्ने गरेका छन् । यी दुई ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताले जनताको सरोकार भएको कार्यदिशाका सम्बन्धमा एकपटक पनि मुख खोलेका छैनन् । उनीहरुको गाली गलौजलाई नै उच्च मूल्यांकन गरेर जनताले समर्थन गर्नु पर्ने नियत यी दुई कम्युनिस्ट पार्टीका नेताले राखेकोजस्तो देखिन्छ ।
लोकतान्त्रिक पद्दतिमा राजनीतिक दललाई जीवन्त अंग मानिन्छ । र, राजनीतिक दलहरु जनतको समर्थनबाट त्यो जीवन र सक्रियता प्राप्त गर्दछन् । जनताको समर्थन नै सर्वपरी हुने भएकाले लोकतान्त्रिक पद्दतिमा राजनीतिक दलहरुले जनताको सरोकार भएका विषयलाई आफ्नो कार्यदिशा बनाउने र हरेक पाँच वर्षमा हुने आमनिर्वाचन मार्फत जनअदालतमा जाने पद्दति लोकतन्त्रमा कायम भएको हो । किनभने हरेक पाँच वर्षमा हुने आम निर्वाचन नाम भएको जनअदालतले नै कुन राजनीतिक दललाई सत्तामा र कुन राजनीतिक दललाई सडकमा पु¥याउने भन्ने निर्णय गर्दछ । यही कारणले गर्दा नै लोकतान्त्रिक पद्दतिमा जीवन्त रहेका हरेक राजनीतिक पार्टीलाई एक अर्काको प्रतिस्पर्धी मान्ने गरिन्छ । तर पछिल्लो समय विकास भएको राजनीतिक घटना क्रमले भने नेपालका कम्युनिस्ट पार्टीहरुलाई लोकतान्त्रिक अभ्यासका प्रतिस्पर्धी होइन, शत्रु मान्नु पर्ने अवस्था देखिन्छ । किनभने ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताले अर्को कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई प्रतिस्पर्धीको सम्मान दिएर होइन, शत्रुतापूर्ण व्यवहार गर्ने गरेको उनीहरुको अभिव्यक्तिले नै देखाउने गरेको छ । ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको यो व्यवहारले उनीहरुको मात्र होइन, राजनीतिक पद्दतिको भविष्य माथि नै असर परी राखेको छद भन्ने महसुस अहिलेसम्म भएको देखिँदैन । किनभने नेपाली जनता शिष्ट र सभ्य व्यवहारको पक्षपाती छन् र कम्युनिस्ट नेताहरुले देखाई राखेको घटिया व्यवहारलाई उनीहरुले स्वीकार गर्दैनन् । जनताले यस्तो अशिष्ट व्यवहारलाई अस्वीकार गरेको परिणाम भने निर्वाचनमा मात्र आउँछ । त्यस कारण अहिले क्रान्तिकारी भएर एक आपसमा गाली गलौज गरी राखेका कम्युनिस्ट नेताले जनताको भावनालाई समेत बुझेर प्रस्तुत हुने र टिप्पणी गर्ने गरे उनीहरुको समेत हीत हुने र नेपालमा लोकतान्त्रिक अभ्यासको मामिलामा कम्युनिस्ट नेताहरु परिपक्क भए भन्ने सन्देश जाने थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *