गत असोज २२ तीन महिनासम्मको भगिरथ प्रयत्नपछि मन्त्रिपरिषद्ले विस्तार भएर पूर्णता पाएको थियो । मन्त्रिपरिषदले पूर्णता पाएसँगै र निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न आगामी चैत ५ गतेका लागि सिफारिस गरेसँगै तीन ठूला कम्युनिस्ट पार्टी प्रमुख प्रतिपक्ष नेकपा एमाले यसैगरी नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू अहिले संगठत विस्तारको काममा तीव्र रूपमा लागि परी राखेका छन् । कार्यकर्ताको मनोबल बढाउन तथा जनताको समर्थन प्राप्त गर्नका लागि यी तीन कम्युनिस्ट पार्टीका अध्यक्षहरू केपी ओली, पुष्पकमल दाहाल र माधव नेपालले हरेक सार्वजनिक समारोहमा आगामी निर्वाचनमा आफूले नेतृत्व गरेको पार्टी पहिलो स्थानमा आउने दाबी गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष दाहालले एक स्वरमा अहिलेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई निर्वाचनपछि टर्च बालेर खोज्नु पर्ने दाबीसमेत गर्ने गरेका छन् । यस्तै दाबी नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी र दाहालले नेतृत्व गरेको माओवादी केन्द्रका सम्बन्धमा एमाले अध्यक्ष ओलीले पनि गर्दै आएका छन् ।
नेकपा एमाले विभाजित भएपछि यो पार्टीले पनि सांगठनिक हिसाबले राजनीति क्षेतिलाई व्यहोरेको छ । यही विभाजनको कारण नेकपा एमालेले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ मा सत्ता गुमाई सकेको । त्यस कारण माधव नेपालहरू अलगिएकै कारण एमालेलाई राजनीतिक हिसाबले क्षति भएको छैन भन्ने अध्यक्ष ओलीलगायतका यो पार्टीका अन्य नेताहरूको दाबीलाई सत्य मान्ने अवस्था छैन । यो वास्तविकतालाई ध्यानमा राखेर नै एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको संगठन विस्तारलाई अगाडि बढाउन एकपछि अर्को गरी मुलुकका विभिन्न स्थानको भ्रमण गरी राखेका छन् । यसैगरी नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीको संगठन विस्तार होइन संगठित स्थापित गर्न तथा आम जनतामा यो पार्टीको प्रभाव पनि आम जनतामा पु¥याउनका लागि अध्यक्ष माधव नेपालले पनि त्यसैगरी म्याराथुन गतिमा मुलुक भ्रमण गरी राखेका छन् ।
वर्तमान सरकारको प्रमुख घटक दल नेकपा माओवादी केन्द्रले विभाजनको नियतिलाई भोग्न नपरेको भए पनि राजनीतिक क्षतिलाई भने यो अवधिमा भोगिराखेको छ । रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझीजस्ता जनतासँग जोडिएका प्रभावशाली नेताहरू माओवादी परित्याग गरेर नेकपा एमालेमा समावेश भएका छन् । यसैगरी यो पार्टीसँग अहिले जनतालाई आर्कषित गर्ने कार्यदिशाको समेत अभाव भएको छ । यही कारणले गर्दा विगतमा माओवादीप्रति रहेको जनताको आकर्षण अहिले विकर्सनमा रूपान्तरण हुँदै गएको छ । यही स्थितिलाई ध्यानमा राखेर माओवादी अध्यक्ष दाहालले एकातिर नेपाली कांग्रेसकै नेतृत्वमा अहिलेको सत्तारुढ गठबन्धन निर्वाचनको मैदानमा उत्रन्छ भनिराखेका छन् भने पार्टीको संगठन विस्तार गर्नका लागि उनी पनि त्यसैगरी दौडधुप गरी राखेका छन् ।
संगठन विस्तारलाई लिएर देशव्यापी रूपमा ओली, दाहाल र नेपालले भ्रमण गरी राखेका भए पनि उनीहरूले संगठन विस्तारलाई भन्दा प्रतिष्पर्धी नेताको आफ्नो हैसियत बिर्सिएर आलोचना गर्नुलाई नै संगठन विस्तारको आधार मान्ने गरेका छन् । यही कारणले गर्दा माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको आलोचना गर्नुलाई नै पार्टी विस्तारको एक सूत्रीय मार्गचित्रको रूपमा लिएको जस्तो देखिन्छ । यसैगरी नेकपा एमालेका अध्यक्ष ओलीले पनि माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको आलोचना नगनरी आफ्नो सार्वजनिक भाषणको सुरु र अन्त्य नै गर्ने गरेका छैनन् । तर यी तीनै अध्यक्षले आफ्नो पदीय र सार्वजनिक गरिमा र हैसियतलाई बिर्सिएर घटीया तहमा उत्रिएर आलोचना गर्दा त्यसको असर आम जनतामा भने सकारात्मक होइन, नकारात्मक गई राखेको छ । आफूबाट अलग भएको नेतालाई घटीयास्तरमा गाली गर्ने कम्युनिस्ट चरित्र अहिले एमाले अध्यक्ष ओलीदेखि माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालले देखाई राखेका छन् ।
यी तीनै अध्यक्षले आफ्नो पार्टीको संगठन विस्तार गर्न आवश्यक पर्ने जनसमर्थन जुटाउनका लागि भावी कार्यदिशा र योजना एउटा सभामा पनि प्रस्तुत गरेका छैनन् । एक अर्काको गालीगलौजको आधारमा नै यी तीन कम्युनिस्ट पार्टी मध्येमा जनताले छनोट गर्नु पर्ने स्थिति उनीहरूले नै बनाई दिएका छन् । दुई महिना अगाडि मात्र एमाले विभाजित भएर गठन भएको एकीकृत समाजवादीका सम्बन्धमा यो पार्टीका अध्यक्ष नेपालले पार्टी विभाजन गर्नुपर्ने स्पष्ट र नीतिगत तथा सैद्धान्तिक कारण सार्वजनिक गर्न सकेका छैनन् । अध्यक्ष ओलीको तानाशाही चरित्रको कारण एमाले विभाजित गर्नु परेको स्पष्टीकरण अध्यक्ष नेपालले दिने गरेका छन् । अध्यक्ष ओलीको तानाशाहीकै कारण पार्टी विभाजित गर्नु परेको हो भने महाधिवेशनको क्रममा हुने निर्वाचनको माध्यमबाट ओलीलाई विस्थापित गर्न सक्ने वैधानिक अवस्था रहेको थियो । यसैगरी एमाले अध्यक्ष ओलीले पनि आफ्नै पार्टीका शीर्ष नेताहरूलाई पेल्न छाडेर मुलुकले भोगिराखेको समस्याहरूलाई पेल्नेतिर पार्टीको ऊर्जा र शक्तिलाई उपयोग गरेको भए एमालेले विभाजनको स्थितिलाई पनि भोग्नु पर्ने थिएन र दुई तिहाईनिकट बहुमतको नेतृत्व गरेको सरकारलाई सडकमा पु¥याउने नियति पनि भोग्नु पर्ने थिएन । यसैगरी माओवादी अध्यक्ष दाहालले १० वर्ष जनयुद्धको ब्याज खानेगरी आफूनिकटका व्यक्तिहरू र छोरी ज्वाइँहरूलाई मात्र गणतन्त्रको अवसर उपलब्ध गराएर परिवर्तनको महिमा गाउने नगरेको भए उनको हालत पनि यसरी संसदमा ६३ स्थानमा विजय प्राप्त गरेको नेपाली कांग्रेसको पछाडि लागेर हिँड्नु पर्ने थिएन ।