उपल्लो मुस्ताङको गुफा र मुक्तिनाथ दर्शन

लेख

हामीमध्ये केहीलाई उचाइ लागेको थियो । कतिपयले रातभरि सुत्न नै सक्नु भएको थिएन । समुन्द्री सतहभन्दा धेरै माथि भएकोले श्वास–प्रश्वासमा समस्या देखिएको थियो । विभिन्न उपचार पद्धति अपनायौँ । बोकेको औषधी प्रयोग ग¥यौँ । लसुनको प्रयोग गरियो । हामी बसेको होम स्टेका टसी श्रीमतीले धुप बाली भगवान्लाई प्रार्थना पनि गरिन् । बिहानखेर अलि सहज भयो । बिहानै टसीसहित हामी गुफा हेर्न लाग्यौँ । टसी लो (गुरुङ)को पुस्ता तिव्वतीयन रहेछन् । उनी स्थानीय गाइड पनि रहेछन्, हामीलाई सजिलो भयो ।
हामी बसेको ठाउँ नजिकै वडा नं. ५ को कार्यालय रहेछ । हामीसँग पनि भीमेश्वर नगरपालिका वडा नं. ५ को वडाध्यक्ष पनि हुनुहुन्थ्यो । तपाईंको कार्यालय यतै रहेछ भनी हाँसो पनि गरियो । फोटो खिच्यौँ ।
हाम्रो टोली गुफा भन्ने स्थान तिर लाग्यो । १० किमि जति गाडीको यात्रामा गुफा भन्ने स्थान पुगिदो रहेछ । कोरोला नाका पनि त्यतै पर्दछ । नाका जाने बाटाको करिब बीचमा पुगेपछि बायाँतर्फ लाग्नु पर्दछ, गुफा पुग्नलाई । बाटोमा च्यांग्राको बथान भेटिन्थ्यो । बिहानै चरणका लागि लैजाने बेला हुँदो रहेछ । हाम्रो टोलीको माधव न्यौपाने फोटो खिच्न राम्रै शौखिन । उहाँले च्यांग्रालगायतका फोटोहरू धित मर्ने गरी खिच्नु भयो । हामी सबैले धेर–थोर आफ्नो इच्छाअनुसार फोटो खिच्यौँ ।
गुफा प्रवेशका लागि प्रतिव्यक्ति रु १००। (नेपालीको लागि) को टिकट काट्नु पर्दो रहेछ । यो टिकट काट्नेलगायतको गुफाको ढोका खोल्ने घुमाउने समेतको कामको ठेक्का स्थानीय एक क्लबले ठेक्का पारेको रहेछ । राम्रो सिजनमा दिनमा ७÷८ सयभन्दा बढी पर्यटक आउने गर्दछन् रे यो गुफा हेर्नका लािग । टिकट काट्ने मान्छे बोलाउने काम हाम्रा सहयोगी गाइड टासीले मिलाए । पेमा नाम भएकी एक बहिनीले गुफाको ढोका खोलिदिइन् ।
गुफा पुग्नु अघि हिउँमाथि नै हिँड्नु परेको थियो । गुफाको ठ्याक्कै अघि एक खेलमैदान रहेछ । त्यो खेलमैदान पूरै हिउँले ढाकेको थियो । यो मैदानमा वर्षको एकपटक खेलकुद प्रतियोगिता पनि हुने गर्दछ रे ।
गुफा प्रवेश मार्गको सिँढी सिमेन्टेड रहेछ । हामी विस्तारै, तर हल्ला गर्दै गुफा प्रवेश ग¥यौँ । चार तलासम्म जान सकिने व्यवस्था रहेछ । पहाड अर्थात् धेरैजसो माटोको पहरोजस्तो लाग्ने भित्र गए पनि तला नै पिच्छे धेरैवटा कोठा भेटिन्थ्यो । एक तलाबाट अर्को तलामा पुग्न काठे भ¥याङ राखिएको छ । हामीहरूमध्ये केही चौँथो तलासम्म पुग्यौँ । भिडियो रेकर्ड पनि ग¥यौँ । केही जानकारीहरू लियौँ । खास गरी यो लडाइँको बेलामा प्राकृतिक बंकरको रूपमा प्रयोग भएको जस्तो लाग्दथ्यो । त्यहाँ केहीबेरको अलमलपछि हामी लोमान्थाङ फर्कियौँ । हिउँको कारणले चीनतर्फको सीमासम्म पुग्न सकिन्न भन्ने कुरा जानकारी आएकोले १० किमी टाढाबाटै हामी फर्कियौँ । यो सानो चाहाना भने बाँकी नै रह्यो । काली गण्डकीको शिर त्यता नजिकै हो भन्ने कुरा टासीले भन्दै थिए । हामी कालिगण्डकीको शिरसम्मै पुगेको भन्दा फरक पर्दैन रे । त्यो नदीको आसपासमा नै हाम्रो यात्रा जारी भयो । नारायणगढ कटेपछि मात्रै त्यो नदीको संगत टुट्दो रहेछ । पर्वतको मालढुँगा भन्ने स्थानबाट भेटेको कालिगण्डकी नदी कतिपटक तरियो हिसाबकिताब नै छैन ।
हाम्रो टोली उपल्लो मुस्ताङबाट तल्लो मुस्ताङ तिर लाग्यो । हिउँ नै हिउँ भएको स्थान हेर्दै ओरालो लागिरह्यौँ । त्यसपछिको उराठ लाग्दो चट्टान भएको सुख्खा जमिन । युरेनियम भएको शंका गरिएको पहाड पनि देखियो, तर सबै पहाड एकै खालका देखिन्थे । यहाँको माटो वा चट्टानको बनौट हेर्दा बगरजस्तो लाग्दथ्यो । कुनै बेलामा यो सबै स्थानमा नदी नै बगेको थियो भन्ने कुरा सामान्य आँखाले पनि पुष्टि गर्दछ ।
ओरालो–ओरालो झर्दै कागबेनी आइपुग्यौँ । कागवेनी धार्मिक रूपमा चर्चित स्थान हो । यही स्थानको नामबाट सिनेमा पनि बनेको छ । मुस्ताङमा धेरै वटा सिनेमाको छायाँकन भएको पनि छ । अमिताभ बच्चन पनि सिनेमा छायाँकनका लागि यहाँ आएका छन् ।
कागबेनीमा लोमान्थाङबाट कालिगण्डकी र मुक्तिनाथ तर्फबाट आएको नदीको संगम स्थल रहेछ । यहाँको दर्शन गरेपछि मात्र मुक्तिनाथ जानु पर्ने भन्ने चलन रहेछ । यहाँ नै पितृ कार्यका काम गर्ने स्थान रहेछ । शालिकग्राम पाइने रहेछ । हामीले पनि केही शालिकग्राम किन्यौँ । अनि हामी करिब १५ किलोमिटर दूरीमा रहेको मुक्तिनाथ तिर लाग्यौँ । उकालै–उकालो जानु पर्ने, तर सडक भने पिच रहेछ । गाडी झन्डै २ किमी टाढै रोक्नु पर्ने रहेछ । सायद यो व्यापारिक नीति होला । बजारको बुद्द होटलमा खानाको अर्डर गरी मन्दिर तिर लाग्यौँ । सादा खानाको रु. ४०० पर्दो रहेछ, तर होटलअनुसार फरक मूल्य पाइयो ।
बजारबाट सिँढीको साहायताले मुक्तिनाथ मन्दिर पुथ्यौँ । विभिन्न फोटा तथा सिनेमा देखेजस्तै मन्दिर रहेछ । एकसय आठ धारामा नुहाउने चलन छ । हाम्रो टोलीले नुहाउने आँट गरेन । ३८०० मी. को हाराहारीमा भएको यो स्थानमा नुहाउने आँटै आएन । तर, सबै धारालाइ छोएर टाउकोमा छर्कने काम भने गरियो । केहीबेर लाइन बसेर दर्शन गरियो । मंगोलियन जातका पूजारी रहेछन् । फोटो खिच्यौँ । अनि अलि पूर्वतिर गौतम बुद्धको अर्धकदको शालिकसहितको पार्क रहेछ । छेउमै ज्वालामाई पनि । सधैँ ज्वाला बलिरहने स्थान । तर, ज्वालाचाहिँ हामी सोचेभन्दा फरक रहेछ । झललल बल्ने हैन । यसो जुनकिरीको टिलपिलजस्तो होकी जस्तो मात्र लाग्ने ।
मुक्तिनाथको बजारमा खाना खाएर हामी ओरालो दौडियौँ । केही घन्टाको यात्रामा मुस्ताङको सदरमुकाम जोमसोम पुग्यौँ । यहाँ विमानस्थल पनि छ । त्यहाँबाट पनि ओरालो झर्दै हामी म्याग्दीतर्फ हानियौँ । बाग्लुङका काठेखोला गाउँपालिकाका वडा अध्यक्ष एवं सामुदायिक वनका नेता प्रेम लामिछानेसँग सम्पर्क गरी होटल बुक गरियो । बाग्लुङ बजारमा नै रहेको होटल सितलमा कोठा बुक गरियो ।
हामी गलेश्वर महादेवको नजिकै बजारमा हाम्रो टोलीका केहीले आलुको बिउ किन्नुभयो । हामी बेनी बजारतर्फ अघि बढ्यौँ । बाटो कच्ची नै थियो, असजिलो पनि । बेनी बजार पुगी पर्वततर्फ नलागी बाग्लुङतर्फ लाग्यौँ । बाग्लुङ बजारमा रहेको पहिला नै निधो गरेको होटलमा बास बस्यौँ ।
अर्को दिन बिहानै प्रेम लामिछाने हामी बसेको होटलमा आउनु भयो । सबैसँग चिनजान तथा गफगाफ भयो । नजिकै एक सहकारीले कोल्ड च्याम्बरको काम गरिरहेको भन्ने जानकारी पाइयो । त्यहाँ हेर्न जाने निधो भयो । हेफरले काठेखोलामा कृषि क्षेत्रमा खेलेको भूमिकाको बारेमा पनि कुराकानी भयो । हाम्रो टोलीले वडा अध्यक्ष लामिछानेलाई भीमेश्वर नगरपालिकाले तयार गरेको भीमेश्वर गन्तव्य नामक प्रकाशन हाम्रा वडाअध्यक्ष नविनकुमार लामामार्फत हस्तान्तरण गरी दोलखा भ्रमणका लागि निम्ता ग¥यौँ । यस पुस्तकमा भीमेश्वर नगरपालिका र दोलखा जिल्लाका मुख्य गन्तव्यको चित्रसहितको शब्द–चित्रमा विस्तार गरिएको छ ।
हामी बाग्लुङ बजारभन्दा केही तल रहेको कालिका भगवतीको मन्दिरतर्फ लाग्यो । पोखरा जाने सडकको बायाँतर्फ रहेको यो मन्दिर वनको बीचमा छ । तर, साह्रै सफा । दर्शन ग¥यौँ । फोटो खिच्यौँ । अनि बाग्लुङको काठेखोलातर्फ लाग्यौँ । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *