जनयुद्ध र मधेश विद्रोहले गणतन्त्र आएको हो:यादव

राजनीति

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरे । उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताउँदै बाँकी कार्यसूचीलाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिए ।
उनले संघीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महत्वपूूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै अघिल्ला प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान नहुने बताए । उनले मुलुकमा अब गणतन्त्रबाहेक कुनै पनि तन्त्रको विकल्प नरहेको बताए ।
‘माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए यो मुलुक संघीय गणतन्त्र मुलुक हुने थिएन,’ उनले भने, ‘संवैधानिक राजतन्त्रमा रुमल्लिएर बस्ने थियो होला ।’ जनयुद्धमा बेपत्ता भएका र मारिएकाले न्याय पाएको र उनीहरूले न्याय पाउनुपर्ने बताउँदै यादवले भने, ‘उत्पीडित, शोषित वर्गको न्याय, सम्मानका लागि यो महाधिवेशनले ठोस गति दिन सकोस् ।’
यादवले संविधान परिमार्जन र संशोधन आवश्यक रहेको समेत बताएका छन् । ‘संविधान जारी हुँदाका बखत आधाले कालो दिवस मनाएका थिए,’ उनले भने, ‘केहीले बत्ती समेत बालेका थिए । संविधानको संशोधन र परिमार्जन अत्यन्त महत्वपूर्ण छ ।’
उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महत्वपूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।’ विगतका प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान हुँदैन, विगतका गल्तीलाई सच्याउने र सुधार्ने काम गर्नुपर्नेमा उनले जोड दिए ।
संविधान जारी हुँदा देशको आधा जनसंख्याले बत्ती निभाएको स्मरण गराउँदै उनले ती जनसमुदायको भावनालाई समेत समेटेर जनताको संविधानका रुपमा यो संविधानलाई रुपान्तरित गर्न संविधान परिमार्जन गर्न आवश्यक रहेको बताए ।
उनले संसदलाई अवरुद्ध गरेर केही उपलब्धि नहुने दाबीसमेत गरे । उनले भने, ‘मुलुकको हितमा नयाँ ढंगले सोचेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लागौँ ।’
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहेको थियो । माओवादी केन्द्रले उद्घाटन समारोहमा ११ दललाई निम्तो दिएको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्ती शाहीलगायत उपस्थित थिए । युद्धकालीन नेताहरू सिपी गजुरेल उपस्थित हुँदा डा.बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्दलगायत नेताहरू उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *