पार्टीको चुनौती सामना गर्ने जिम्मेवारी फेरि प्रचण्डलाई कसले पड्काउँला माओवादीका महासचिव ?

राजनीति

तीन दिनका लागि भनेर तय भएको नेकपा माअ‍ोवादी केन्द्रको ८औँ महाधिवेशन आठ दिनसम्म चल्दा पनि सम्पूर्ण केन्द्रीय सदस्यसँगै पदाधिकारीसमेत चयन नगरी गत आइतबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको यो ८औँ महाधिवेशन गत पुस ११ गतेबाट सुरु भएर पुस १३ गते सम्पन्न हुने समयतालिका थियो । तर, महाधिवेशन लम्बिएर आठ दिन पुगेपछि मात्र गत आइतबार पार्टीका निवृत्तमान अध्यक्ष प्रचण्डले २९९ मध्ये २३६ केन्द्रीय सदस्य चयन गरेका थिए । र, चयन गरेको यो केन्द्रीय सदस्यको सूचीलाई गत आइतबार नै बसेको माओवादीको पूर्ण बैठकले अनुमोदन गरेको थियो । त्यसपछि पदाधिकारी चयन नयाँ सदस्यहरूले बैठकमार्फत चयन गर्ने निर्णय भएको थियो र यो निर्णयअनुसार माओवादी केन्द्रको नयाँ सदस्यहरूसहितको कार्यसमितिको बैठक अस्ति सोमबार बसेको थियो ।
तर, अध्यक्ष र महासचिवलगायत पदाधिकारीहरूको चयन गर्न भनेर सोमबार बसेको माओवादी केन्द्रले ८औँ महाधिवेशनबाट चयन गरेका सदस्यहरूको बैठकले अध्यक्षमा निरन्तरता दिँदै प्रचण्डलाई चयन गरेर समाप्त गरेको थियो । गत, सोमबार बसेको माओवादी केन्द्रको नयाँ सदस्यहरूको बैठकमा प्रचण्डलाई अध्यक्ष अध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । र, नारायणकाजी श्रेष्ठको यो प्रस्तावलाई कृष्णबहादुर महराले समर्थन गरेका थिए । त्यसपछि पूर्ण बैठकबाट यो प्रस्ताव अनुमोदन भएको थियो । पदाधिकारी खास गरेर महासचिवका सवालमा चर्किएको विवादले निकास पाउन नसकेपछि माओवादी केन्द्रले अर्को बैठक यही २५ गतेलाई बोलाएर गत सोमबारको बैठक समाप्त गरेको छ । नेकपा माओवादीको संशोधित विधानअनुसार एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना सहमहासचिव, तीन जना सचिव र एक जना कोषाधयक्ष रहने व्यवस्था छ । अध्यक्षमा प्रचण्ड सर्वसम्मत भएजस्तै वरिष्ठ उपाध्यक्षमा पनि नारायणकाजी श्रेष्ठको स्थान सुरक्षित रहेको छ । तर, अध्यक्षपछि कार्यकारी अधिकार उपयोगको मामिलामा दोस्रो महत्वपूर्ण पद महासचिवमा भने जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, देवप्रसाद गुरुङ बीचमा प्रतिस्पर्धा रहेको छ । यी चारमध्ये पनि शर्मा र पुनका बीचमा महासचिवलाई लिएर कडा प्रतिस्पर्धा रहेको छ । तर, शर्मा र पुनले पार्टीभित्र गुट सञ्चालन गरेको भन्दै गुटको नेतृत्व गर्ने नेतालाई महासचिवजस्तो महत्वपूर्ण पद दिँदा माओवादीमा गुट थप मौलाउने निष्कर्ष निकाल्दै अध्यक्ष दाहालले महासचिवका लागि देव गुरुङलाई अगाडि सारेका छन् । महासचिवको प्रतिस्पर्धामा बलियो उम्मेदवारको हैसियतमा देव गुरुङ आए पनि जनार्दन शर्माले भने महासचिव आफूलाई चयन गर्नु पर्ने र यदि आफूलाई सहमतिबाट महासचिव चयन नगर्ने हो भने यो पदका लागि मतदान हुनुपर्ने प्रस्ताव राख्दै आफ्नो अडानमा कायम रहेपछि अध्यक्ष दाहालले महासचिवका सम्बन्धमा निर्णय गर्न सकेका छैनन् । यही कारणले गर्दा नै चीनमा उपचार गराएका नेता वर्षमान पुन फर्किएपछि मात्र उनीसहितको उपस्थितिमा पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाउने भनेर यही २५ गतेसम्मका लागि माओवादीको केन्द्रीय कार्य समितिको बैठक स्थगित गरिएको छ र अब यही २५ गते बस्ने बैठकले पदाधिकारी चयनसँगै स्थायी समितिको समेत गठन गर्ने कार्यतालिका तय भएको छ । लामो समयसम्म थाइल्याण्ड हुँदै चीनमा पुगेर उपचार गराई राखेका वर्षमान पनि हिजो स्वदेश फर्केका छन् । र, चीनमा अस्पतालमा बसेर उपचार गराई रहँदा पनि उनी महासचिवका लागि सक्रिय रहेका थिए । नेकपा माओवादीमा वर्षमान पुन र जनार्दन शर्मा दुवै नेतालाई अध्यक्ष प्रचण्डको सबभन्दा निकट र विश्वासिला नेता मानिन्छ । पाँच वर्षपछि हुने ९औँ महाधिवेशनपछि अध्यक्षबाट बाहिरिने संकेत अध्यक्ष प्रचण्डले देखाएको सन्दर्भमा उनीपछि अहिले महासचिव भएर दोस्रो कार्यकारी अधिकार सम्पन्न पदको जिम्मेवारी लिएका व्यक्ति नै प्रचण्डपछि पार्टीको नेतृत्वमा आउने सम्भावना बलियो भएको कारणले गर्दा अहिले माओवादीका दोस्रो तहका नेताहरू खास गरेर जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसाल यो पदमा पुग्नका लागि चर्को परिश्रम गरी राखेका छन् । यो मामिलामा अध्यक्ष प्रचण्डले अहिलेसम्म कुनै निर्णय गर्न सकेका छैनन् । आफूनिकटका नेताहरूसँग छलफल गरेर महासचिव तय गर्ने वातावरण बनाउनका लागि नै उनले पार्टीको केन्द्रीय कार्य समितिको बैठक यही २५ गतेसम्मका लागि लम्ब्याएका हुन् भनिन्छ । वरिष्ठ उपाध्यक्ष बाहेकका ६ जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सचिव र कोषाध्यक्षका सम्बन्धमा भने खासै दबाब अध्यक्ष प्रचण्डले व्यहोर्नु परेको छैन ।
नेकपा एमालेले आफ्नो ९औँ महाधिवेशन र नेपाली कांग्रेसले १४औँ महाधिवेशन यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको महाधिवेशनमा नयाँ नेतृत्वको चयन खुला प्रतिस्पर्धा तथा निर्वाचन प्रक्रियाबाट सम्पन्न भएको सन्दर्भमा माओवादी केन्द्रले भने आफ्नो परम्परालाई निरन्तरता दिँदै अध्यक्षलगायतका सदस्यहरूको चयन निर्वाचनबाट प्रक्रियाबाट नभएर मनोनयनबाट गरेको छ । र, अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको अध्यक्षको हैसियतले नेतृत्व गरेको पनि तीन दशक पूरा भएको छ । तीन दशक लामो समयसम्म नेतृत्व गरेको भए पनि अब आउन थालेको विभिन्न चुनौतीलाई सामना गर्दै पार्टीलाई अगाडि बढाउनका लागि पुनः प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै उनलाई ८औँ महाधिवेशनले पनि सर्वसम्मतिबाट अध्यक्ष चयन गरेको छ । तर, सर्वसम्मतिको गाँठो भने अहिले महासचिवको चयनमा गएर कस्सिएको छ । र, यो कस्सिएको गाँठोलाई फुकाउँदै यही २५ गते बस्ने केन्द्रीय कार्य समितिको बैठकले महासचिवलगायतका पदाधिकारी चयन गर्ने कार्यतालिका तय भएको छ । अब जनार्दन शर्मा, वर्षमान पुन र देव गुरुङमध्ये कसले पार्टीको महासचिव पद पड्काउला अथवा सहमतिमा अर्को कुनै अनुहारले यो जिम्मेवारी सम्हाल्न् भन्ने उत्सुकता भने यही पुष २५ गतेसम्म कायम नै रहने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *