ब्युरोक्रेसीमा कसैलाई माथै माथ कसैलाई पुर्पुरोमा हात

समाचार

काठमाडौं । निजामती सेवाभित्र सबैभन्दा बढी विकृति कतै छ भने त्यो हो कर्मचारी सरूवामा । कोही यस्ता निरीह कर्मचारी पनि छन्, जो तीन–चार महिनामै भकुण्डोझैं हुत्यान्इन्छन् । अनि कोही यस्ता पावरफुल उपसचिवहरू पनि छन्, जो एक दशकदेखि काठमाडौं छाडेर कतै जानु पर्दैन । मन्त्रालय मातहतको सबैभन्दा बढी कमाइ हुने कार्यालयमै टिकिरहन्छन् । दश वर्षपछि बल्लतल्ल सरूवाको पत्र त बन्छ तर सरूवाको पत्रै गायव गराएर उनी पुनः त्यही कार्यालयमा फर्कन सफल हुन्छन् भने पक्कै पनि त्यहाँ केही गडबडी छ भनेरै बुझ्नुपर्ला ।
के नियम कानुन भन्नु निरीह कर्मचारीलाई मात्र हो ? होइन भने १० वर्षदेखि उद्योग मन्त्रालय मातहतकै कार्यालयमा वल्लो घरबाट पल्लो घरमा सरूवा खाँदै बसेका कर्मचारीहरूको हकमा कुनै ऐन कानुनले छुन नसक्ने नै हो ? उपसचिव तुलसीराम गैरे, यस्ता पात्र हुन् जो उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालय चाहरेरै जागिर खाइरहेका छन् । उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालय वल्लो घर र पल्लो घरमा छ । केही समय उद्योगमा बस्दै त्यहाँ तलमाथि हुनासाथ कम्पनी रजिस्ट्रार गइहाल्छन् । यसप्रकार केही महिनाअघि उनको सरूवा भएको थियो सिन्धुपाल्चोकमा । उनलाई गत माघको दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति सिन्धुपाल्चोक सरूवा गरेको थियो । तर उनी जिसस सिन्धुपाल्चोकमा रमना बुझेर जानेभन्दा पनि सरूवा रोकेर कम्पनी रजिस्ट्रार कार्यालयमै थमौती भइसकेका छन् । आफ्नो सरूवाको चिठी नै गायव बनाएर उनी पुनः कम्पनी रजिस्ट्रारको कार्यालयमै पुगिसकेका छन् । उद्योगका अधिकारीहरूका अनुसार उद्योग सचिवले नै २ महिनासम्म पनि कम्पनी रजिस्ट्रार कार्यालयमा दरबन्दीअनुसारको कार्यालय प्रमुख नपठाइ गैरेलाई नै निमित्त दिएर पठाएका छन् । गत फागुनदेखि नै उनी कम्पनी रजिस्ट्रारको निमित्तको जिम्मेवारीमा छन् । रजिस्ट्रार थिए, प्रदीपराज अधिकारी । बिहानैदेखि अफिस गएर सेवाग्राही अनुकूलका काम गर्ने मेहनती स्वभावका सहसचिव अधिकारीबाट काम चलेन भनेर उनलाई त्यहाँबाट हटाइ उपसचिव तुलसीराम गैरेलाई निमित्त दिएर पठाइएको छ । ‘होइन भने हाकिमलाई लखेटेर त्यहाँ किन निमित्तलाई पठाइन्छ ? महिनौंसम्म त्यहाँ किन हाकिम खटाउन सकिँदैन र निमित्तकै भरमा चलाइन्छ ? यसमा कसको कुन स्वार्थले काम गरिरहेको छ ? अनि सिन्धुपाल्चोकमा सरूवा भएका उपसचिवलाई किन रमना नदिइ कम्पनी रजिस्ट्रारकै कार्यालयमा पठाइन्छ ? के गैरेविना कम्पनी रजिस्ट्रारको कार्यालय नै नचल्ने हो ?,’ उद्योगकै कर्मचारीहरूले उठाइरहेको प्रश्न हो यो ।
उता सरूवा भएको लामो समयसम्मसमेत उपसचिव गैरेलाई रमना नदिएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले चासो देखाएपछि उद्योग मन्त्रालयले भने उल्टै राष्ट्रिय सतर्कता केन्द्रको आँखामासमेत छारो हाल्ने गरी पत्र काटेको छ । गत चैत २ गते उद्योगका शाखा अधिकृत दीपक दाहालले कम्पनी रजिस्ट्रारको कार्यालयलाई काटिएको पत्रमा भनिएको छ, ‘राष्ट्रिय सतर्कता केन्द्रको गत फागुन २७ को पत्रबाट विगत दुई दशकदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको विभाग र कम्पनी रजिस्ट्रारको मातहतको कार्यालयमा बसेका तुल्सीराम गैरे, सरूवा भएको ठाउँमा नगइ कम्पनी रजिस्ट्रारको कार्यालयमै बसेको भन्ने उजुरी प्राप्त भएकाले उनलाई सरूवा भएको निकायमा रमना दिइ यस मन्त्रालयमा जानकारी पठाउनू ।’
उनैको नाममा रमना दिएको जानकारी गराउने भन्दै उद्योग मन्त्रालयले पत्र काटेको छ । यता यो विषयमा प्रतिक्रिया माग्दा आफू छिट्टै हाजिर हुनका लागि सिन्धुपाल्चोक जिसस जान लागेको गैरेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *