कांग्रेसको भविष्य भरतपुर महानगरमा छ वटै महानगरमा कडा प्रतिस्पर्धा

समाचार

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्तामा रहेका पाँच दल नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन नै बनाएर उत्रिराखेका छन् । संविधान र राजनीतिक परिवर्तनको सुनिश्चितताका लागि गठबन्धन आवश्यक भनिएको भएपनि यो गठबन्धनसँग संलग्न दलहरु आ–आफ्नो स्वार्थ जोडिन पुगेको छ । स्वार्थको कारण जोडिएको यो गठबन्धन प्रति मुख्य रुपमा नेपाली कांग्रेसका कार्यकर्ताले आपत्ति प्रकट गर्ने र विद्रोह गर्ने काम समेत गरेका छन् । र, पार्टी नेतृत्व तहले भने त्यसरी कार्यकर्ताले गरेको विद्रोह माथि कठोरतापूर्वक अनुशासनको दण्डा चलाएर उनीहरुलाई निस्कासन गर्ने निर्णय गरेको छ । अर्थात् रुख चिन्हमा मत खसाल्न पाउनु पर्छ भन्ने कांग्रेसीजनलाई यतिखेर नेतृत्व तहले अनुशासनहीन अडान राखेको तथा माग गरेको भन्दै निष्काशनको अभियान नै चलाएको छ । खास गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो सत्तालाई आम निर्वाचन पछिसम्म तान्ने नियत राखेर पाँच दलको गठबन्धनलाई जसरी पनि टिकाउने नियत राखेर गठबन्धनका विरुद्धमा गतिविधि गर्ने कार्यकर्ता माथि कारबाही गर्ने भनेका छन् । अहिले प्रधानमन्त्री देउवाले राखेको गठबन्धन प्रतिको अडानलाई लिएर नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिमा एकजना उपसभापति पूर्णबहादुर खड्का मात्र समर्थनमा देखिएका छन् । अर्का अध्यक्ष धनराज गुरुङ तथा दुबैजना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा गठबन्धनको विपक्षमा भएपनि पार्टीले निर्णय गरी सकेको भन्दै अनुशासनको कारणले मात्र गठबन्धनको पक्षमा रहेका छन् । उता संस्थापना इतर पक्षको नेतृत्व गरी राखेका शेखर कोइराला भने अहिले पनि गठबन्धनको विपक्षमा लागिरहेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सामुहिक प्रतिकार गर्ने राणनीति अनुसार अगाडि बढेको कारण यो निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेको शक्ति प्रदर्शनको रुपमा प्रस्तुत भई राखेको छ । र, नेपाली कांग्रेसले नेतृत्व गरेको सत्तारुढ गठबन्धनलाई चुनावले जुन परिणाम दिएपनि नेतृत्व गरी राखेको नेपाली कांग्रेस भने चुनाव आउनु अगाडि नै राजनीतिक रुपले पराजित भएको स्थिति बन्दै गएको छ । किनभने रुखमा भोट खसाल्ने अडान राख्ने कार्यकर्ता माथि हसियाँ हठौडा चिन्हमा मतदान गर्न दवाव दिएर अनुशासनको कारवाही गर्ने चेतावनी दिएर कांग्रेस नेतृत्वले स्थानीय निर्वाचन आउनु अगाडि नै पार्टीलाई पराजयको नियतीमा पु¥याई सकेको छ । नेतृत्वको यही रबैयाको कारणले गर्दा देशव्यापी रुपमा नै यसको असर कांग्रेसको संगठनमा परिराखेको छ । किनभने नेपाली कांग्रेसले एक्लै चुनाव लड्नु पर्छ र कार्यकर्ता तथा शुभचिन्तकले रुख चिन्हमा भोट खसाल्न पाउनु पर्छ भन्ने अडान राख्ने कार्यकर्तालाई नेतृत्वले कठोरतापूर्वक दबाई राखेको छ । पार्टी नेतृत्वले लिएको यो रबैयाको परिणाम स्थानीय निर्वाचनमा मात्र नभएर आम निर्वाचनमा समेत पर्ने निश्चित देखिन्छ । अहिले सरकारको नेतृत्व गरी राखेको र दोस्रो ठूलो दलको हैसियत भएको नेपाली कांग्रेस जनताको प्रत्यक्ष सरोकार हुने स्थानीय तहको निर्वाचनको विषयमा पूर्ण रुपमा ओझेल पर्न गएको छ । किनभने यो चुनावमा नेपाली कांग्रेस एक्लै मैदानमा उत्रिएको छैन । त्यस कारण स्थानीय निर्वाचनको परिणाम गठबन्धनको पक्षमा आए सत्तामा रहेका अन्य दलहरुले त्यसको राजनीतिक फाईदा उठाउने र गठबन्धनको विपक्षमा परिणाम आएमा त्यसको हानी एक्लो नेपाली कांग्रेसले व्यहोर्नु पर्ने स्थिति बन्दै गएको छ ।
वैशाख ३० गते ७५३ वटै स्थानीय तहमा एक साथ निर्वाचन हुने भएपनि राजनीतिक क्षेत्रको मात्र होइन आम जनताको समेत पहिलो चासो भरतपुर महानगरपालिकामा रहेको छ । माओवादी केन्द्र अध्यक्ष प्रचण्ड दाहालकी छोरी रेणु दाहालका सम्बन्धमा यो चुनाव परिणाम कस्तो आउँछ भन्ने उत्सुकता सर्वत्र क्षेत्रमा जन्मिएको छ । भरतपुर महानगरपालिकाको सन्दर्भमा मेयरका लागि गठबन्धनकी संयुक्त उम्मेदवार रेणु दाहालको सिधा टक्कर नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र नेपाली कांग्रेसबाट विद्रोह गरी चुनावी मैदानमा आएका जगन्नाथ पौडेलसँग पर्ने स्थिति रहेको छ । तीन जनाका बीचमा प्रतिश्पर्धा हुँदा गठबन्धनकी उम्मेदवार दाहाल एमाले उम्मेदवार विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल भन्दा पछि पर्ने स्थिति छ । उता पोखरा महानगरपालिकामा पनि गठबन्धनको तर्फबाट उम्मेदवार भएका धनराज आचार्यको अवस्था अहिलेसम्म सन्तोषजनक देखिएको छ र पोखरामा पनि गठबन्धनका उम्मेदवार आचार्य भन्दा एमाले उम्मेदवार कृष्ण बहादुर थापा बिच प्रतिस्पर्धा देखिएको छ । काठमाडौंमा भने एमाले उम्मेदवार केशव स्थापित र कांग्रेस नेतृ तथा गठबन्धनको तर्फबाट मेयरको संयुक्त उम्मेदवार भएकी सृजना सिंहका बीचमा कडा प्रतिश्पर्धाको स्थिति छ । तर गठबन्धनको तर्फबाट उम्मेदवार भएकी सृजना सिंहको मत स्वतन्त्र उम्मेदवार रहेका गायक बलेन शाहले युवा पुस्ताको भोट काट्ने सम्भावना बलियो रहेको देखिएको छ । जसरी २०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा कांग्रेसी उम्मेदवारको भोट विवेकशीलकी उम्मेदवार रञ्जु दर्शनाले काटेकी थिइन् । विराटनगरमा भने गठबन्धनको तर्फबाट उम्मेदवार भएका कांग्रेस नेता नागेश कोइराला र प्रतिपक्ष दल नेकपा एमालेबिच कडा प्रतिस्पर्धा देखिन्छ । यसैगरी विरगञ्ज महानगरपालिकाका सम्बन्धमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह र एमाले उम्मेदवार विजय सरावगीका बीचमा कडा प्रतिश्पर्धाको स्थिति देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएका गिरीश गिरीको स्थिति पनि अहिलेसम्म सन्तोषजनक नै देखिएको छ । ६ वटा महानगरपालिकाको खास गरेर मेयरको उम्मेदवारीलाई लिएर देशव्यापी रुपमा चासो रहेको छ । र, सबै राजनीतिक दलहरुको सक्रियता पनि ६ वटा महानगरपालिकामा नै केन्द्रित रहेको अवस्था छ । यस मध्ये पनि भरतपुर महानगरपालिकाको मेयरको निर्वाचनको परिणामले नै स्थानीय निर्वाचनको समग्र प्रतिनिधित्व गर्ने अवस्था छ । यसैले गर्दा खास गरेर गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष नेकपा एमालेले भरतपुर महानगरपालिकालाई सबभन्दा बढी महत्व दिई राखेका छन् । कांग्रेसको ठूलो समुह गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेणु दाहालको विपक्षमा भएको एमालेका नेता रामबहादुर थापा बादलको घर पनि यही महानगरपालिकामा भएको र २०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा मेयरका तर्फबाट उम्मेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लगभग सात हजार मत आएको र अहिले राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको कारण एमाले उम्मेदवार विजय सुवेदीको स्थिति केही बलियो देखिएको छ । तथापि कांग्रेसको गड मानिएको भरतपुरमा कांग्रेसबाट नै विद्रोह गरेर चुनावी मैदानमा गएका जगन्नाथ पौडेल पनि कमजोर छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *