एकीकृत समाजवादीका पूर्वमन्त्रीहरु किन जाँदैनन् पार्टी कार्यालय ?

राजनीति समाचार

काठमाडौं । एकीकृत समाजवादीका तत्कालीन मन्त्रीहरु रामकुमारी झाक्री, विरोध खतिवडा, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ सरकारी जिम्मेवारीबाट हटेको एक महिना बित्न लागेको छ । तर, अहिलेसम्म चारजना पूर्व मन्त्रीहरु पार्टीको जिम्मेवारीमा सक्रिय भएका छैनन् मात्रै होइन, अहलिसम्म सरकारबाट बाहिरिएपछि पार्टी कार्यालयमा समेत गएका छैनन् ।

६ महिने सहमति अनुसार अध्यक्ष माधवकुमार नेपालले लगभग दुई महिना अगाडि ती मन्त्रीहरुलाई हटाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, इश्वरराज कुँवरलाई जिम्मेवारी दिने र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ्को बढुवा गरेर मन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष नेपालले गरेको यो निर्णय उल्ट्याउने तत्कालीन मन्त्रीहरु झाक्री, आले, खतिवडा र श्रेष्ठ प्रधानमन्त्री देउवादेखि माओवादी अध्यक्ष प्रचण्डसम्म पुगेका थिए ।

प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गर्दा सरकारमा रहेका अन्य दलहरुमा यस असर पर्ने भन्दै केही दिन एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गर्न आनाकानी गरेका थिए ।

प्रधानमन्त्री देउवाले आनाकानी गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीले गरेको निर्णय अनुसार आफ्ना पार्टीका मन्त्री हेरफेर हुँदैनन् भने सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवा एकीकृत समाजवादीका मन्त्री हेरफेर गर्न वाध्य भएका थिए ।

तर, मन्त्रीबाट हटेको लगभग एकमहिनासम्म पनि चारैजना नेता रामकुमारी झाक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा पार्टी कार्यालयमा उपस्थित समेत नहुनुलाई विभिन्न अड्कलबाजी गरेर हेर्न थालिएको छ ।

जब कि ती नेताहरुलाई स्थापित गरेर सरकारमा पुगेका शेरबहादुर कुँवर, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र राज्यमन्त्रीबाट बढुवा भएर स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा पुगेका खापुङ नियमित रुपमा पार्टी कार्यालय पुग्ने र कार्यकर्ताहरुसँग छलफल गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *