विदेसिने नेपालीलाई रोक्ला नयाँ सरकारले ?

समाचार

सम्पादकीय

अहिले नेपालको आर्थिक व्यवस्था यति कमजोर बनेको छ कि रोजीरोटीका लागि विदेसिनेको संख्या दैनिक हजारौं हुन थालेको छ । कुनै पनि परिवार यस्तो छैन, जसको कम्तिमा एकजना व्यक्ति काम गर्न वा अध्ययनका नाममा कमाउन विदेश नगएको होस् । अधिकाशं नेपालीहर रोजीरोटीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडी मुलुकको ४८ डिग्री तापक्रममा दैनिक पसिना बगाएर नेपालमा रहेका परिवार र नेपाली नेताहरुलाई यी नेपाली श्रमिक र कामदारहरुले पाल्ने गरेका छन् । दैनिक खाडी मुलुक विदेसिने क्रम जारी छ भने नेपालमा रोजगारी नपाएर भौतारिने पनि उत्तिकै छन् ।
नेपालीहरु खाडी गएर अलपत्र पर्ने पनि गरेका छन् । बिचौलियाले खान बस्न र राम्रो तलबको सुविधाको आश्वासन दिएर खाडी मुलुक पठाए अलपत्र पार्ने गरेका छन् । त्यतिमात्र नभएर अधिकाशं नेपाली खाडी मुलुकको जेलमा बस्न बाध्य बनेका छन् । विदेशी जेलमा फसेका नेपालीहरुको उद्धार हुने अवस्था पनि निकै कम छ । यसरी सोझा नेपालीलाई विदेश पठाएर बिचौलियाले बिचल्ली पार्ने गरेका छन् । सरकारले यस्ता बिचौलियालाई नियन्त्रणमा लिनुको सट्टा अझै प्रश्रय दिँदै आएको छ । श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीहरुले घुस लिएर यस्ता बिचौलियाको लागि काम गरेको पाइन्छ । विदेशमा रोजगारीमा गएका नेपालीहरुको मृत्यु भएको खबर दैनिकजसो आउने गर्दछन् । यसतर्फ न त सरकार, न त सम्बन्धित निकायको ध्यान पुग्ने गरेको छ ।

हालै मानव अधिकार आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८÷७९ को आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४७९ जनाले ज्यान गुमाएका छन् । बिरामी, सडक दुर्घटना, आत्महत्यालगायतका विविध कारणहरुले गर्दा नेपालीले ज्यान गुमाएका छन् । यो तथ्यांकलाई केलाउने हो भने दैनिक ४ जना नेपालीको विदेशी भूमिमा मृत्यु हुने गरेको छ । यसरी विदेशी भूमिमा दैनिक ४ जना नेपालीको मृत्यु हुनु भनेको दुखदायी अवस्था हो । यसले विदेशमा जाने नेपालीको संख्या अत्यधिक बढेको संकेत पनि गर्दछ । अझ आयोगको तथ्यांकअनुसार मलेसिया तथा खाडी मुलुकमा अधिक नेपालीहरुको मृत्यु हुने गरेको छ । खाडी मुलुकमा मृत्यु हुनेको नेपालीको संख्या ७५ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा गएका १०५ जनाले एक वर्षमा आत्महत्या गरेका छन् । यो नेपाल र नेपाली जनताका लागि दुर्भाग्यको कुरा हो ।
रोजीरोटीका लागि विदेसिने नेपालीहरुलाई विदेश जान रोकेर नेपालमै रोजगारी सिर्जना गर्नु अब बन्न नयाँ सरकारको दायित्व हो । मुलुकमै उद्योग कलकारखाना खोलेर नेपालका युवायुवतीलाई रोजगारी उपलब्ध गराई उचित व्यवस्थापन गर्न जरुरी देखिन्छ । होइन भने भोलिका दिनमा नेपालमा युवा श्रमशक्ति नहुने र मुलुक कंगाल हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *