गुणस्तरहीन औषधि बजारमा छ्याप्छ्याप्ती, खै अनुगमन ?

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । सात दल र तीन स्वतन्त्रको समर्थनमा सरकार बनेसँगै यतिखेर सत्तासमिकरणको ठूलो दल नेकपा एमालेको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ । अहिले अधिकांश स्वास्थ्य क्षेत्रमा भए÷गरेका गतिविधिहरुलाई नयाँ आएका स्वास्थ्य मन्त्री पदम गिरीले कसरी नियमनकारी भूमिका निर्वाह गर्छन् त्यो भने एकिन भइसकेको छैन ।

यतिबेला नेपालमा औषधि व्यवस्था विभागले उत्पादन गरेका औषधिहरु भन्दा निजी रुपमा खोलिएका औषधि उद्योगहरुले उत्पादन गरेका औषधिहरु बजारमा छ्याप्छ्याप्ती छन् । यसरी निजी क्षेत्रले उत्पादन गरेका औषधिहरु कति गुणस्तरीय र स्वास्थ्यको लागि लाभकारी छन् भन्नेबारे अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्न सकेको छैन । कतिपय औषधिहरु उत्पादन गरी बजारमा पठाउँदा मानव स्वास्थ्यको लागि हानीकारकसमेत हुने गरेको थुप्रै उदाहरणहरु रहेका छन् ।

नेपालमा निजी रुपमा सञ्चालन गरिएका अधिकांश औषधि कम्पनीहरुले उत्पादन गरेका औषधिहरु बजारमा पठाएर चर्को मूल्य असुल्दासमेत सम्बन्धित निकायले त्यसको बारेमा ध्यान दिएको छैन । निजी औषधि कम्पनीहरुले आफूखुशी मूल्य राखेर औषधि बिक्रीवितर गरिराखेका छन् । त्यस्तै भारतबाट पनि ठूलो मात्रामा औषधि नेपाल भित्र्याइन्छ । त्यसरी भित्र्याइएका औषधिहरु पनि गुणस्तरयुक्त र उचित मूल्यमा विक्रीवितरण हुने गरेको छैन । त्यसरी भित्र्याइने औषधिहरु गुणस्तरयुक्त छन् कि छैनन्, उचित मूल्य छ कि छैन भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविनसमेत गरेको पाइँदैन ।

भारतबाट यसरी औषधि ल्याउनको लागि पहिला औषधि कम्पनीका मालिकहरु नेपाल आउँछन् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च निकायका कर्मचार, औषधि व्यवस्था विभागका उच्च दपस्थ व्यक्ति, औषधि व्यवसायी, औषधि सप्लायर्स र केही स्वास्थ्य क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई महंगा होटलमा बोलाएर कार्यक्रम गर्ने गर्दछन्

। यसरी कार्यक्रममा बोलाइएका पत्रकारहरुलाई खामबन्दी गरेर क्षमताअनुसार पैसा दिने र आफ्नो कम्पनीले उत्पादन गरेका औषधिको प्रचारप्रसार गर्न लगाउँने गर्दछन् । त्यसरी कार्यक्रम गरी बोलाइएका सम्बन्धित निकायका उच्च पदस्थ व्यक्तिहरुलाई कमिसन मिलाउन बिचौलियाहरुको प्रयोग गर्ने गरेका उदाहरण पनि थुप्रै छन् ।

ती बिचौलियामार्फत औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदस्थ कर्मचारी, सरकारी तथा निजी विभिन्न अस्पतालका सञ्चालकहरुको मिलिभगतमा कमिसन मिलाएर औषधि बजारमा पठाइन्छ । त्यसरी बजारमा पठाइएका औषधिहरु मानव स्वास्थ्यको लागि उपयुृक्त छ कि छैन भनेर त्यसको अनुगमनमा समेत राज्यका सम्बन्धित निकायहरुले ध्यान दिएको पाइँदैन । त्यति मात्रै होइन स्वदेश तथा विदेशबाट उत्पादित औषधिहरु बजारमा पठाउँदा विभिन्न चिकित्सकहरुले जाँचबुझ गरेर बजारमा पठाउनुपर्नेमा त्योसमेत गरेको पाइँदैन ।

यसरी बजारमा पठाइएका औषधिहरु गुणस्तर हिन त छँदै छ मानव स्वास्थ्यको लागि पनि त्यत्तिकै हानिकारक हुने गरेको थुप्रै समाचार मिडियामा आउने गरेको पाइन्छ । कतिपय औषधि व्यवसायीहरुले सो औषधिको बारेमा पनि ध्यान दिएको हुँदैन । बरु बढीभन्दा बढी औषधि बजारमा खपत गराउनतिर होडवाजी गर्ने गरेका हुन्छन् । यसरी हचुवाको भरमा बजारमा पठाइएका औषधिहरुको मूल्य पनि उचित छ कि छैन त्यसबारे पनि ध्यान दिएको पाइँदैन ।

स्वास्थ्य जस्तो सम्वेदनशील ठाउँमा यसरी व्यापारीकरण गरेर मानव स्वास्थ्यमा औषधि माफियाहरुले गम्भीर खेलवाड गर्दै आएका छन् । त्यसको प्रत्यक्ष मार भने सर्वसाधारण नेपालीहरुलाई पर्ने गरेको छ । अधिकांश औषधिहरु बजारमा चर्को मूल्य लिएर विक्रीवितरण भइरहँदा पनि राज्यका कुनै पनि निकायले अनुगमनसमेत गरेको पाइँदैन । (तामाकोशी सन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *