आधुनिक नेपालको उदय त्यसै भएको होइन । यसमा नेपाल राष्ट्रको एकिकरण गर्ने अभियानको नेतृत्व गर्ने बडामहाराज श्री ५ पृथ्वी नरायण शाहलाई धेरै जातजातीहरुले सघाएका छन । उहाँको सक्रिय नेतृत्वमा ब्राह्मण, क्षेत्री, गुरुङ्ग, मगर लगायत अन्य जातजातीहरुको छुट्टाछुट्टै पल्टनहरुको गठन भएका थिए ।
उक्त सैनिकहरुको पल्टनलाई परिचालन गरी बडामहाराज श्री ५ पृथ्वी नरायण शाहले त्यतिबेला काठमाण्डौ उपत्यकामा रहेको मल्ल राजाहरुको तीन राज्य किर्तीपुर, ललितपुर र भक्तपुरलाई गोरखा राज्यमा गाभ्न सफल भएका थिए । यो अभियानमा कैयौं जातजातीहरुले आफ्नो बलिदान र योगदान खुशीका साथ दिएका थिए । कति युद्धमा मारिए होला त्यसको आकडा अहिले ठिक सित पाउन सकिन्न ।
तैपनि नेपालको एकिकरण गर्दा भएका घटनाहरुको चर्चा परिचर्चा लामो काल सम्म पनि दन्ते कथा, सबाई, लोक गीत आदिको माध्यबाट एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गयो । अहिले सम्म आईपुग्दा लिखित ईतिहास पनि तयार भएका छन । तर अझ पनि कुन जातजातीको युद्धमा के कस्तो योगदान थियो, के कती घाईते भए र कतीतो बलिदानी चढ्यो भन्ने कुराको निश्चित तथ्याङ्क कतै भेटिएको छैन ।
काठमाडौं उपत्यका माथि बिजय प्राप्त भएपछि पनि नेपालको एकिकरण गर्ने अभियान रुकेन । यो अभियान हाल कायम रहेको नेपालको पूर्वी भाग र पश्चिम भागमा एकैसाथ अगाडि बढ्दै गयो भने बडामाहाराज श्री ५ पृथ्वी नरायण शाहको स्वर्गारोहन पछाडि पनि उहाँका उत्तराधिकारीहरुले नेपाल एकिकरणको अभियानलाई निरन्तरता दिई नै रहेका थिए । यो मामलामा श्री ५ बडामहाराज पृथ्वी नरायण शाहको कान्छो भाई श्री ५ बहादुर शाहको योगदान धेरै रहेको देखिन्छ ।
नेपाल एकिकरण अभियान चल्दै गरेकै बेलामा भारतमा अंग्रेजहरुले स्थापना गरेको ईस्ट ईन्डिय कंपनीको राज चलेको थियो । अंग्रेजहरुले त्यतिबेला नेपाल माथि पनि आँखा नगाडेको होईन तर अंग्रेजहरुले सफलता पाउन सकेन । सिन्धुली गढीमा भएको पहिले अंग्रेज र नेपालीको युद्धमा अंग्रेजले ठुलो हार व्यहोर्नु पर्यो ।
उक्त युद्धमा करिब ६०० भन्दा बढी अंग्रेजहरुको ज्यान गएको थियो भने नेपाल तर्फबाट लड्ने नेपाली सेनाको नेतृत्व एक गुरुङ्ग कमाडरले नै गरेको थियो भन्ने कुरा ईतिहासमा उल्लेख भएको पाईन्छ । सिन्धुली गढीको युद्धमा हार व्यहोरे पछि अंग्रेजहरुले नेपालमा फेरि आक्रमण गर्ने सहास नै जुटाउन सकेन । त्यसपछिको समय भारतमा राजगर्दै बसेका अंग्रेजहरुले कुटनीतिक चाल मार्फत मात्रै नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेका थिए ।
नेपालको पूर्वी भेगमा वल्लो किराँत, माझ किराँत र पल्लो किरातलाई नेपालमा एकिकरण गर्ने अभियानमा गुरुङ्गहरुको ठुलो भूमिका रहेको देखिन्छ । सोही अभियानमा त्यता गएका गुरुङ्गहरु उतै बसोबास गरेको कुरा डा. जगमान गुरुङ्गले एक लेख मार्फत बताउनु भएको छ । रुम्जाटार, खोटाङ, भोजपुरमा फैलिएका गुरुङ्ग वस्तीहरु सोही अभियानमा त्यता गएका गरुङ्गहरुले नै बसालेका हुन भन्ने कुरा ईतिहासमा उल्लेख छन ।
नेपाल एकिकरण गर्ने शाहबंशिय राजाहरुले गुरुङ्ग पल्टनलाई युद्ध गर्नमात्र होइन युद्ध पछाडिको निर्माण र शान्ति स्थापना गर्ने काममा पनि निकै महत्वका साथ उपयोग गरेका थिए । त्यसबेलाको नेपाल पूर्वको तिस्टा नदी देखि लिएर पश्चिम काँगडा सम्म फैलिएको थियो । त्यो बेला हाल भरतमा पर्ने केदारनाथको मन्दिर समेत मर्मत सम्हार नेपालले नै गर्ने गरेको शिलालेखहरु अझ पनि बद्रिनाथ, केदारनाथ लगायतको मन्दिरहरु स्थापित रहेको कुरा डा. जगमान गुरुङ्ग कै लेखहरुमा उल्लेख छन ।
त्यो बेला उक्त क्षेत्रको नेपाली प्रशासकको नाम अंगद घले भएको कुरा पनि उहाँ कै लेखबाट जानकारी हुन आएको छ । त्यो बेलामा नेपालको राज्य कहाँ देखि कहाँ सम्म फैलिएको थियो भनी अनुसन्धान गरी प्रमाणहरु खोजेर जुटाउने काम अझ पनि आधीअधुरो नै छ । नयाँ पुस्ताले यो क्षेत्रमा अध्ययन अनुसन्धान गरी पुर्खाको भूमिका र योगदानलाई नेपालको ईतिहासमा उचित स्थान दिने चेस्टा गर्न बाँकी नै छ । त्यो बेलाको बिशाल नेपाल आज खुम्चिएर पूर्व मेची नदी देखि पश्चिमको महाकाली नदी सम्म मात्रै सीमित छ ।
यसमा पनि भारतसँग अनेक स्थानमा सीमा बिबाद भएको हुँदा नेपाल राष्ट्र अझ खुम्चिदै जाने सम्भावना छ । हाल सत्तामा बसेका दलहरु नेपाल राष्ट्रको सुरक्षा गर्ने मामलामा कम्जोर पर्दै गएको देखिन्छ । त्यहि भएको हुँदा नेपाली जनताले दलहरु माथि भरोसा गर्न छाडेका छन र यो मामलामा राजतन्त्र नै ठिक भएको बिश्वास गर्दछन । यहि पौष २७ गते बडामहाराज श्री ५ पृथ्वी नरायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा दलहरुले पनि मनाएका छन ।
नेपाल राष्ट्रको एकिकरण गर्नमा उहाँबाट भएको योगदान आखिरमा दलहरुले पनि मान्न बाध्य भएका छन । यो संगै नेपाली जनताको मनोकामना पुर्न भएको छ । कुन जातजातीले के कस्तो योगदान दिएका थिए अनि कति मारिए र कति घाईते भएका थिए भन्ने बारे अध्ययन अनुसन्धान गरी निर्क्योलमा पुग्नु पर्ने देखिन्छ । नेतृत्व शाहबंशिय राजहरुको भए पनि युद्ध लड्नेमा बिभिन्न जातजातीहरु नै थिए तसर्थ सबैले उचित सम्मान पाउन सकेमा पृथ्वी जयन्तीलाई एकतादिवसको रुपमा मनाएको झनै औचित्यपूर्ण हुने निश्चित छ । यसै सन्दर्भमा श्रीमान जसवीर कामी ज्यूलाई पनि याद गर्नै पर्ने हुन्छ ।
उहाँको योगदान नेपालको एकिकरण गर्ने अभियानमा धेरै ठुलो छ । उहाँले बडामहाराज श्री ५ पृथ्वी नरायण शाहलाई हाथहतियार निर्माण गर्ने काममा एक मेकानिकल ईन्जिनियरले झै काम गरी सघाएका थिए । त्यसै गरी नेपाल एकिकरणको बिषयमा चर्चा चल्दा बिसे नगर्चीको पनि स्वतः चर्चा हुने गर्दछ । श्रीमान बिसे नगर्ची ज्यूले नेपाल एकिकरण गर्ने अभियानमा लागेका बडामहाराज श्री ५ पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग दिनुको साथै नयाँ हाथहतियार किन्न र युद्ध परिचालन गर्दा लाग्ने खर्च कसरी जुटाउने भनी एक अर्थशास्त्रीले झै सल्लाह सुझाव दिएका थिए ।
अहिले सत्तामा भएका दलका केही नेताहरुले पनि बिसे नगर्चीको अर्थशास्त्रको शिद्धान्तलाई उदाहरणको रुपमा लिने गरेका छन । त्यसै गरी नेपाल एकिकरण गर्ने अभियानमा बडामहाज श्री ५ पृथ्वीनारायण शाहलाई श्रीमान मनिराम गाईनेले गीतसंगीतको माध्यमबाट नेपाली जनतालाई राजाको एकिकरण अभियानबारे प्रचारप्रासार गरी जागरुक तुल्याएका थिए । उहाँ बेजोडको संगीतकार थिए त्यसैले संगीतकै माध्यमबाट नेपालको एकिकरण गर्ने अभियानमा सघाएका थिए । यसै सिलसिलामा श्रीमान बाङ्ग्रे कामीको योगदानलाई पनि स्मरण गर्नै पर्ने हुन्छ । उहाँले नेपाल माथि आक्रमण गर्न आएका अग्रेजहरुले अनेक लोभलालच र डरत्रास देखाउँदा पनि अंग्रेजको आक्रमणकारी सेनालाई बाटो देखाउन ईन्कार गर्दै रहे ।
अन्तिममा अंग्रेज आजित भएर उहाँको हत्या गर्न विवस भए । श्रीमान बाङ्ग्रे कामीले देखाउनु भएको यो देश भक्ति बेजोड छ र यसबाट कमिसन खानको लागि जतिबेला पनि बिदेशीको गुलाम बन्न तयार रहने दलका नेताहरुले पाठ सिक्नु पर्छ । यस्तै अहिले नेपाली जनताको जानकारीमा नभएका अनेक देशभक्तहरु कती होलान कती ? अबको नयाँ पुस्ताले ईतिहासको अध्ययन अनुसन्धान गरी सबैलाई उचित सम्मान र मान्यता दिनुपर्छ । नपाली जनताका महान पुर्खाले रगत पसिना बगाएर बनाएको ईतिहास कसैले पनि मेटाउन सक्दैन । दलहरुले मेटाउन खोजेका थिए तर अहिले आफैलाई सुधार्दै पुर्खाको ईतिहासलाई सहस्रस्वीकार गरेका छन ।
पृथ्वी जयन्तीलाई नेपाल राष्ट्रको एकिकरण दिवसको रुपमा मनाएको हुनाले दलका नेताहरुले बिगतमा गरेको पापलाई धोईपखाली गर्ने काम सम्पन्न भएका छन । नेपालको एकिकरणमा सबै जातजातिहरुको सहभागिता रहेको हुँदा सबैको योगदानलाई राष्ट्रले सम्मान र कदर गर्न सक्नु पर्छ । बडामहाराज श्री ५ पृथ्बी नरायण शाहको नेतृत्वमा चलेको नेपाल एकिकरण गर्ने अभियानमा सबै जातजातीको बराबरी योगदान छन ।
त्यसकारण आज नेपाल एक राष्ट्रको रुपमा संसरको राष्ट्रहरुको माझ उभिन सफल भएको छ । बडामहाराज श्री ५ पृथ्वी नरायण शाहका दिव्य उपदेशहरु आजपनि नेपालको बिदेश नीति, रक्षा नीति, आत्मनिर्भर नीति आदिको आधारशिला नै भएको छ । नेपाली जनता यहि मंत्र जप्तै अगाडि बढेमा विदेशीको दलालहरुले अब पनि नेपाली जनतालाई कुनै हानीनोक्सानी पुर्याउन सक्दैन ।
शाहबंश कै राजा महेन्द्रले नेपाललाई संसार भर चिनाएका थिए ।
उहाँले प्रतिपादन गर्नु भएको असंलग्न बिदेश नीति कै कारण आज सम्म पनि नेपाल राष्ट्रको सुरक्षालाई कसैले हल्लाउन सकेको छैन । तसर्थ दलका नेताहरुले यसको महत्वलाई राम्रो सित अपनाउन छाडेकाले नेपालको रक्षा र नेपाली जनताको शान्तिमा भाँडभैलो बढेको महशुस गरिएको छ । राजतन्त्र र हिन्दूराष्ट नेपालको पहिचान नै बनीसकेको अवस्थामा त्यसलाई बदल्न खोज्ने दलहरुको कुटिल प्रयास अखिरमा असफल नै भएको बदलिएको परिस्थितबाट पुष्टी हुन्छ ।(तामाकोशीसन्देशबाट)