ananta gurung

सिधा कुरा बाँगा कुरा कुनै पनि भएन पुरा

समाचार

नेपालको राजनीतिमा रबि लामिछानेको जसरी उदय भयो उसरी नै अस्ताउने पनि भएका छन । एक प्रखर टिभी पत्रकारको रुपमा उहाँ प्रख्यात मात्र नभएर त्यसैको माध्यमबाट संकटमा परेका अनेक असहाय नेपाली जनताको उद्धार पनि गर्नु भयो । कतीलाई आर्थिक सहायता दिनु दिलाउनु भयो भने कती अन्यायमा परेकालाई न्याय पनि दिलाउनु भयो । उहाँले नेपाल राष्ट्रमा भुषको आगो समान फैलिएका भ्रष्टाचार र आर्थिक अपराधको पनि घोर बिरोध गरी धेरैलाई सत्रु बनाउनु भएको थियो । गरिब नेपालीका लागि भगवान समान नै बनेका थिए भने भ्रष्टाचारीहरु र आर्थिक अपराधीहरुका लागि कालै समान भएका थिए ।

नेपालको राजनीति पहिले देखि नै भ्रष्ट्राचार र अपराधमय भएको हुँदा उहाँ दलका नेताहरुको तारो नै बन्न पुग्यो र उहाँको अभियानलाई रोक्न दलका शीर्ष नेताहरुबाट तगारो हालियो । उदाहरणको लागि चितवन भरतपुरमा उहाँ बिरुद्ध बिना ठोश सबुत र कारण नै मुद्दा चलाएर दुःख दिने काम भएका थियो । उहाँले सोमुद्दाबाट आखिरमा सहजै सफाई पाउनु भयो र उहाँको डाह गर्ने दलका शीर्ष नेताले जिल खाए । यसरी नै राजनीतिक दलका नेताहरुले बिनाकारण दुःख दिने क्रम बढेपछि काँढालाई काँढाले नै निकाल्न सकिन्छ भन्ने शिद्धान्त अनुसार उहाँको मनमा पनि राजनीतिमा लागि आफ्नो प्रतिरक्षा गर्ने सोच उत्पन्न भयो । फलस्वरुप उहाँले छोटो अवधिमा नै आफु जस्तै समान बिचार धारा भएका केही युवा साथीहरुलाई समेटेर नयाँ राजनीतिक पार्टी गठन गरी गत आम निर्वाचनमा होमिएका थिए । उहाँले आफ्नै नेतृत्वमा गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी र उसको चुनाव चिन्ह घण्टले गत आम चुनावमा महत्वपूर्ण संख्यामा संसदको सिटहरु जितेर राष्ट्रिय पार्टी बन्ने सफलता पायो । रबि लामिछानेले नेतृत्व गर्नु भएको राष्ट्रिय स्वतन्त्र पर्टीलाई चमत्कारिक सफलता तब प्राप्त भयो जब अध्यक्ष रबि लामिछाने लगायत उक्त पार्टीका अन्य धेरै नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको मंत्री परिषदमा धेरै महत्वपूर्ण पदहरु पाए ।

देख्ने सुन्ने सबैलाई अचम्मै लाग्यो र सबैले रबि लामिछानेले बिगतमा गरेका असल कर्महरुको फल पाएको अनुमान लगाए । यसरी सत्तामा पुगेको रबि लामिछानेको सिधा कुराको अभियान पनि टुंगियो । सत्तामा पुगेपछि उहाँले सिधा कुरा नगरी टेढा कुराहरु गर्ने अभियानको थालनी गर्नु भयो । लगभग एक महिना सत्तामा उपप्रधान मंत्रीको हैंषियतमा गृह्य मंत्रीको जिम्मेवारी सम्हाल्नु भएका रबि लामिछानेले भ्रष्टाचरीहरु र आर्थिक अपराधीहरुलाई चिनेर कार्यबाही चलाउन सकेन । तर यहि छोटो अवधिमा उहाँले आफ्नो नाउँमा चलाउनु भएको रबि फाउण्डेसनको लागि सरकारी ढिकुटीबाट ४ करोड नेपाली रुपियाँ लान भने भ्याउनु भयो । उहाँको बारेमा नेपाली जनताले के के न सोचेका थिए आखिरमा उहाँ पनि निक्लियो अन्य दलका नेताहरु जस्तै उही ड्याङका मूला । चुनाव ताका उहाँ र उहाँले नेतृत्व गर्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उर्लिएको जनलहर सबै अहिले माछा माछा भ्यागुता बनेका छन । सबैले धोका भएको महशुस गर्दै पश्चताप गर्न थालेको भेटिएका छन । रबि लामिछानेको बारेमा उहाँले एक दशक भन्दा ज्यादा समय अमेरिकामा बस्दा के के गरेका थिए भन्ने जानकारी कसैलाई पनि थिएन । साथै उहाँ नेपालबाट किन के कारणले अमेरिका गएका थिए भन्ने बारे पनि कसैलाई जानकारी छैन । उहाँको पुर्खौली थलो काभ्रे नवलपुरमा गएर सोधी खोजी गर्दा उहाँका आफ्नै क्षिमेकीहरु र नातेदारहरुले फटाईगिरीको बादशाह नै हुन भनी चर्चा गरेको सुनियो । उहाँले नेपाल फर्किएर अमेरिकी नागरिकता अमेरिकी दुतावासमा बुझाएर त्यागेको जानकारी दिएको भए पनि त्यसको ठोश प्रमाण कतै देखाउनु वा पेश गर्नु भएको छैन । बिदेशी नागरिकता त्यागेको दाबी गरेका रबि लामिछानेले प्रमुख जिल्ला अधिकारीको कार्यलाईलाई लिखित जानकारी नै नगराई आफु सित भएको पुरानै नागरिकतालाई आवश्यकता अनुसार उपयोग गर्दै गए ।

गत चुनावमा चितवनबाट संसद पदको लागि चुनाव लड्दा पनि सोही पुरानै नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए । निर्वाचन आयोगले त्यतिबेला त्यसैलाई स्वीकार गरेको भएता पनि अहिले अदालतबाट सोही कारण देखाई उहाँको संसद पद खारेज भएपछि भने जालसाक्षीमा परेको भन्ने जनाएका छन । रबि लामिछानेको चमत्कारिक राजनीतिक उदयमा ठुलो झट्का त्यतिबेला लाग्यो जब सर्बोच्च अदालतले उहाँको संसद पद खारेज गर्दै नयाँ नागरिकता संबन्धित अधिकारीकोबाट लिनु भन्ने फैसला आयो । त्यहि कारणबाट उहाँले पाउनु भएको सरकारको महत्वपूर्ण उपप्रधानमंत्रीको हैषित र गृह्य मंत्रीको जिम्मेवारीबाट पनि राजिनाम दिन बाध्य भए । अहिले उहाँले आबश्यक प्रक्रिय पुरा गरी नयाँ नागरिकताको प्रतिलिपि लिईसक्नु भएको हुँदा पुनः पुरानै राजनीतिक पदमा फर्किनको लागि जोड लगाउनु भएको छ तर प्रधानमंत्री प्रचण्डले सर्बोच्चको फैसलाको पूर्णपाठ कुर्ने र उहाँ माथि लागेको दोहोरो राहदानी काण्डको जाँचबुझ सकिएर आरोप मुक्त हुनुपर्ने अडान लिएका छन । त्यसकारण एमाले शीर्ष नेताको भारी दबाबको बाबजुद पनि प्रधानमंत्री प्रचण्ड टसकामस पनि भएका छैनन् । अनेक दबाब हाल्दा पनि फेरि पहिलेको उपप्रधानमंत्री सहितको गृह्य मंत्री पद पाउन सकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारबाट बाहिरिएका छन तर प्रचण्ड सरकारलाई दिएको समर्थन भने कायम नै राखेकाछन । यहि बिचमा रबि लामिछाने जीले पत्रकार सम्मेलन गरी सबै द्वोष पत्रकारिता व्यवसायमा लागेका व्यापारिक घरानाहरु माथि थोपरेका छन । त्यसपछि झनै उहाँ माथिको आक्रोस र आक्रमण बढेको छ भने उहाँ अमेरिकामा हुँदा भएगरेको सबै अपराधिक क्रियाकलापको कुण्डली नै खोजबिन गरी सार्वजनिक गरीसकेका छन । साथै उहाँ माथिको कानुनी दबाबलाई पनि बढाएको देखिन्छ ।

निर्बाचन आयोगको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता नै खारेज गर्नु पर्छ भन्ने उजुरी पनि परीसकेको छ । सर्बोच्च अदालतको फैसलाबाट रबि लामिछाने नेपालको नागरिकता नभएको अवस्थामा उहाँको पुरानो नागरिकता अनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता भएको हुँदा सोदल स्वतः खारेज हुनु पर्ने जिकिर गरिएको छ । चितवनको उपनिर्वाचनको तीथि मिति निर्वाचन आयोगले प्रकाशित गरीसकेको छ र रबि लामिछाने पनि आफु संसद पदको उम्मेद्वार फेरि बन्ने कुरा सार्वजनिक गरीसकेका छन । नेपालको संबिधान २०७२ अनुसार उहाँले हालै लिनुभएको नयाँ नागरिकताको लागि परिपक्क हुन ३ महिना लाग्ने हुँदा फेरि पनि उहाँको उम्मेद्वारी संकटमा पर्न सक्ने अनुमान नेपालका कानुन व्यवसायीहरुले लगाउन थालेका छन । साथै उहाँ माथि अमेरिकी अदालतहरुमा अझ पनि सक्रिय रहेको १८ वटा अपराधिक र गैरअपराधिक मुद्दाहरुको नतिजा कस्तो आउँछ भन्ने बारे पनि अडकलबाजी सुरु भईसकेको छ । अमेरिकाले उक्त मुद्दाहरुबाट दबाब बढाएर उहाँलाई नेपालको जेलेन्सकी बनाउने संभावनालाई पनि अहिलेको वैश्चिक अवस्थामा नकार्न सकिन्न । जेहोस नेपालको राजनीतिमा उहाँको अचानक भएको उदयले नेपाललाई हिन्दूराष्ट्र बनाउने र राजतन्त्र फर्काउने अभियानलाई भने निकै फरक पारेको छ । नेपालका स्थापित राजनीतिक दलहरुको विकल्प खोजी रहेका नेपाली जनताले राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भन्दा पनि कुनै ठोश शिद्धान्त नभएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ज्यादा भोट हालेका छन । नेपालका स्थापित राजनीतिक दलहरुले नेपाली जनताको यहि मनको भावनालाई बुझेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई हिन्दूराष्ट्र र राजतन्त्रवादीहरुका बिरुद्ध नै प्रयोग गरेका छन । नेपालका स्थापित दलहरुको योजना अनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी पतन सुरु भईसकेको अवस्था अहिले देखिन्छ । कानुनी जालझेलमा राष्ट्रिय स्वतन्त्र पार्टीका आलाकाँचा नेताहरु भटाभट पर्दै गएका छन भने सोपार्टीको नेतृत्वलाई कमजोर पार्दै लाने अभियान सुरु भईसकेको छ । नेपालको तरल राजनीतिक अवस्थाबाट जन्मिएको अस्थिर नेपाल सरकारको भविष्य निश्चित छैन ।

बिदेशी प्रभूहरुले यहि नेपालको कमजोर राजनीतिक अवस्थाको फाईदा उठाएर नेपालको राजनीति र बिकासमा हस्तक्षेप बढाएका छन । बिदेशी प्रभूहरुले सकेमा सैनिक बल सहितको नेपालमा उपस्थिति र नसकेमा नगरिक शक्ति सहितको उपस्थिति नेपालमा चाहेका छन । नेपालका स्थापित राजनीतिक दलका नेताहरुले नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको शान्ति र सुरक्षामा ध्यान दिएर युक्रेनका नेता जेलेन्स्की जस्तो बिदेशीको कठपुतली बन्ने राजनीतिबाट बँच्नु पर्छ । नेपालको राजनीतिमा मौलिकता नभएको हुँदा बिदेशीको हस्तक्षेप बढेको हो । हिन्दूधर्म र राजतन्त्र नेपालको मौलिक राजनीतिको आधार हुन त्यसकारण दलका नेताहरुले त्यसैलाई भत्काउने मूर्खता कहिले गर्नु हुन्न । नेपाल राष्ट्रको एकिकरण कर्ता श्री ५ बडामहाराजधिराज पृथ्बी नरायण शाहका दिव्य उपदेशहरु र राजा महेन्द्रका असंलग्न परराष्ट्र नीति कै मार्गदर्शनमा नेपालको बिदेश नीति र बिदेश व्यापार चल्नु वा चलाउनु पर्छ । अनि मात्र नेपाल राष्ट्रको रक्षा गर्न सकिन्छ र नेपाली जनातालाई शान्ति र सुरक्षाको प्रत्याभूति दिएर सुखी बनाउन सकिन्छ । कुनै पनि राजनीतिक दलका नेताहरुले नेपालको जेलन्स्की बनाउने बिदेशीको दबाबमा पर्नु पर्ने छैन ।

रबि लामिछानेको नेपालको राजनीतिमा भएको अचानकको उदयले नेपालको राजनीतिमा ठुलो तरंग फैलाएको थियो । उहाँ युक्रेनी राष्ट्रपति जेलेन्स्की जस्तै लोकप्रिय नेताको रुपमा प्रस्तुत भएको हुँदा नेपालमा पनि युक्रेनको जस्तै बिदेशी कठपुतली नेताको नेतृत्वमा नेपाल सरकार बन्ने संभावना बढेको थियो । तर अहिले न्यायालायको फैसला र दलका राजनीतिक नेतृत्वको सुझबुझले गर्दा त्यो संकट काल टरेको छ । स्थापित दलका नेताहरुमा पनि सोकमजोरी नभएको होइन तर उनीहरु ज्यादा परिपक्क र सुसूचित भएको हुँदा बिदेशीले फिजाएको जालमा सजिलै पर्ने संभावना कम छ । तैपनि नेपाली जनता सजक भएर नबसेमा दलका नेताहरुले धोका दिन सक्छन । त्यसकारण नेपाली जनताको सजकता र खबरदारी सदाकाल कायम रहीरहनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *