काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्राडा केसरजंग बरालले राजीनामा दिएका छन् ।
त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन ।गत २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री एंव त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
प्रचण्डको जोडबलमा उपकुलपति बनेको भन्दै उनीमाथि सुरुदेखि नै प्रश्न उठेको थियो । खुला प्रतिस्पर्धाबाट उपकुलपतिको नाम छनौट गर्दा बराल दोस्रो नम्बरमा थिए । तर, तत्कालीन प्रधानमन्त्री प्रचण्डको चाहनामा उनी उपकुलपतिमा नियुक्त भएका थिए ।
उपकुलपतिको कार्यालय ४ वर्षको हो,तर एक वर्षमै राजीनामा दिएर बराल पोखरा फर्किएका छन् । त्रिवि स्रोतका अनुसार उनले राजीनामाको कारण भने स्वास्थ्यलाई देखाएको बुझिएको छ ।

