आर्थिक वर्षको चटारोसँगै लेखा अधिकृतको दौडधूप

राजनीति समाचार

काठमाडौं । आर्थिक वर्षको क्लोजिङसँगै अधिकांश कर्मचारीहरु अफिस आउन छाडेका छन् । खासगरी लेखा शाखामा कार्यरत कर्मचारीहरु अहिले अफिसमा भेटिँदैनन् । लेखा शाखामा कार्यरत कर्मचारीहरु आर्थिक वर्षको क्लोजिङको नजिक आइपुग्दा झन्डै १५ दिन जति विभिन्न शाखा कार्यालयको हिसाब मिलन गर्ने निहुमा देश दौडाहमा हिड्ने गरेका छन् ।

आर्थिक वर्षको अन्त्यसँगै संघ, प्रदेश र स्थानीय गरी तिनै तहका लेखा अधिकृतहरु शाखा कार्यालयको हिसाब मिलान गर्ने नाममा कमिसन बुझ्न र बुझाउन देश दौडाहामा हिड्ने गरेका छन् । देश दौडाहमा हिड्ने लेखा अधिकृतहरु खासगरी अर्थमन्त्रालय अन्तर्गत पर्ने विभिन्न राजश्व कार्यालयहरु, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने विभिन्न आयोजनाका लेखा प्रमुखहरु, शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने लेखा अधिकृतहरु, गृहमन्त्रालय अन्तर्गत पर्ने विभिन्न निकायका लेखा अधिकृतहरु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका लेखा अधिकृतहरु, झन्डै १५ दिनदेखि कमिसन बुझ्ने र बुझाउने काममा व्यस्त छन् ।

त्यसैगरी खाद्य तथा गुण नियन्त्रण विभागका लेखा अधिकृतलगायत विभिन्न संघ, संस्थामा कार्यरत लेखा अधिकृतहरु, स्थानीय निकायका प्रशासकीय प्रमुखहरु पनि गत असार २४ गतेदेखि साउनको पहिलो हप्ता बितिसक्दा पनि सम्बन्धित कार्यालयमा उपस्थित रहेको पाइँदैन । उनीहरु हिसाब मिलानको नाममा कमिसन बुझ्ने र बुझाउन लागि विभिन्न ठाउँमा पुग्ने गरेका छन् ।

उता अघिल्लो आर्थिक वर्ष सकिएसँगै नयाँ आर्थिक वर्षमा आफू रहेको कार्यालयको अवधि पुरा हुन लागेपछि अन्यत्र मालदार ठाउँमा सरुवा हुनको लागि भनसुन गर्न विभिन्न शक्तिकेन्द्र धाउने गरेका छन् । उनीहरु नयाँ आर्थिक वर्ष सुरु भएसँगै मालदार ठाउँमा सरुवा हुनको लागि महालेखा नियन्त्रणको कार्यालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्म धाउन थालेका छन् । उता उनीहरु कार्यरत कार्यालयमा भने झन्डै एक महिना हाराहारीदेखि सेवाग्राहीको काम हुन नसक्दा हैरानीमा पर्दै आएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *