भौतिक मन्त्रीको नाम भने ज्वाला, काम शून्य !

राजनीति समाचार

काठमाडौं । अहिले देशका अधिकांश भूभागमा बाढी पहिरोको भयले सताइरहेको छ । कतिपय ठाउँमा त वर्षात पनि भेग छुट्ट्याएर खण्डवृटि हुने गरेको छ भने कतिपय ठाउँमा बाढी पहिरोले सर्वसाधारणलाई हिँडडुल गर्नेदेखि यातायातसमेत अवरुद्ध भइरहेको छ । त्यस्ता ठाउँमा भौतिक मन्त्रालयले तदारुकता देखाएर अवरुद्ध भएका सडकहरु सुचारु गराउनुपर्नेमा त्यो गरेको पाइँदैन ।

उता एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइरहँदा नाम ज्वाला भए पनि काम भने सून्य भएको छ । एकतिर विकास निर्माणका अधिकांश आयोजनाहरु बजेट अभावमा ठप्प भएका छन् भने अर्कोतिर निर्माण व्यवसायीले लिएको ठेक्काको भुक्तानी नपाएर गुनासो गरिराखेका छन् । मन्त्री ज्वाला भने विदेश सयरमा व्यस्त देखिन्छन् । उनी कहिले चीन भ्रमणमा निस्कन्छन् त कहिले अमेरिका भ्रमणमा निस्कन्छन् । त्यस्तै मन्त्री ज्वालासहित मन्त्रालयका उच्च निकायका कर्मचारी र केही ठेकेदारहरु अस्ति साउन ७ गते जापान भ्रमणमा निस्किएका छन् ।

कतिपय आयोजनाहरुको समयमा निर्माण सम्पन्न गर्न पहल गर्नुपर्नेमा त्यो पनि गरेको पाइँदैन । मन्त्रालयका कर्मचारीले जे जे भन्छन् मन्त्री ज्वाला त्यसैमा रमाइरहेका छन् । हुन त भर्खरै एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीलाई एकातिर आर्थिक आवश्यक पर्ला अर्कोतिर पार्टीलाई सहयोग हुन्छ भनेर लागिपर्नु स्वाभाविकै हो । त्यही कारणले होला मन्त्री ज्वालाले काम गर्न नसकेको ? कतिपय आयोजनाहरुलाई त बजेट समेत नभएर अलपत्र पारिएको अवस्था समेत छ ।

कतिपय कर्मचारीहरुलाई मालदार ठाउँमा राखेर कमिसन लिइरहेको पाइन्छ । उता सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई तत्कालीन भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले महानिर्देशक बनाएका थिए । उनै ढकाललाई अहिलेका मन्त्री ज्वालाले पनि निरन्तरता दिएका छन् । दशदलीय गठबन्धनबाट बनेको सरकारले भनेबमोजिमको काम गर्ने भएकाले पनि उनलाई निरन्तरता दिएकै हुनुपर्छ । तर, अहिले भौतिक मन्त्रालयमा सेटिङ पनि राम्रै मिलेको छ ।

किन कि प्रधानमन्त्री प्रचण्डको घर पनि चितवन, भौतिक सचिव केशव शर्माको घर पनि चितवनमै पर्छ । यता गृहमन्त्री नारायणकाजी र सुशीलबाबु ढकालको घर पनि गोर्खामै भएपछि कसको के लाग्छ र । हिजो तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शर्मालाई सचिव बनाएकै हुन् । त्यसपहिला तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सडक विभागको महानिर्देशक शर्मा नै भएका थिए । यतिखेर यी तिनै दलका ठूला नेताको आशिर्वाद उनलाई छ ।

यति भएपछि जाबो विकास निर्माणका काम त फेरि गर्दा पनि हुन्छ तर मौकामा चौका हान्न सधैं अवसर पाइँदैन । त्यसकारणले पनि यी समूहहरु कहिले सरकारको पैसामा त कहिले ठेकेदारको पैसामा विदेश घुम्न रमाइरहेका छन् । सर्वसाधारण जनतालाई बाढी, पहिरोले सताइरहँदा मन्त्री र उच्च तहका कर्मचारीहरु भने विदेशमा रमाइरहेका छन् । आर्थिक वर्षको अन्त्य भएर नयाँ आर्थिक वर्ष सुरु भएको छ । तर ठेक्कापट्टाको टेण्डर आह्वान भएको छैन । पुरानो ठेक्काबाट आएको कमिसनले उनीहरुको जीवन चलेकै छ । नयाँ ठेक्काको मोलतोल सुरु हुनै बाँकी छ । क्या मज्जा ! भौतिक मन्त्रीको करामत । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *