लौ पढ्नुस् एनआईसी एसियाको नालीबेली

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । प्रकृति उस्तै, सर्वसाधरणको रकम हिनामिना गर्ने, सेटिङ मिलाउन सक्ने बैंकरहरुलाई प्रहरीले छुन सक्दैन, सेटिङ मिलाउन नसक्ने बैंकर प्रहरीको खोरमा पुग्ने गरेका छन् ।\

जस्तो केही समय अघि सर्वसारधणको ऋण घोटाला प्रकरणमा कामना सेवा विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार बस्नेत जेल चलान भएका छन् । झापा लगायत विभिन्न शाखामा यस्तो अनियमितताको घटना बाहिरिएपछि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले यो घटनाको छानबीन गरेको थियो । छानबीनपछि प्रहरीले बस्नेतलाई पक्राउ गरेको थियो । यस्तै प्रकरणमा अजय मिश्रदेखि तत्कालीन बैंक अफ काठमाडौंका सिइओ अजय श्रेष्ठहरु फन्दामा परे ।

तर मारवाडीहरुको लगानी रहेको एउटा बैंकका दर्जनौं फ्रडका घटनाहरु सार्जजनिक हुँदा समेत उक्त बैंकका सिइओ,त्यहाँका शाखाका प्रवन्धकहरुलाई चोख्याइँदै आएको छ । यस अघि नै ठूलो फ्रड निम्तिसकेको एनआइसी एसिया बैंकको अपराधलाई जोगाउन अहिले सिआइबीदेखि प्रहरी प्रशासनलाई समेत प्रभावमा पार्ने काम भइरहेको छ । मारवाडी समूदायको लगानी भएको एनआईसी एसिया बैंकको ज्यादतीविरुद्ध एक पछाडि अर्काे सरकारी निकायमा उजुरीको ओइरो लागेको छ । एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालयका प्रशासन प्रमुख र विभिन्न शाखा प्रबन्धकको बदमासीविरुद्ध सिआइबी,नेपाल राष्ट्र बैंक,नेपाल प्रहरीदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको हेलो सरकारदेखि राष्ट्रिय सर्तकता केन्द्रमा समेत उजुरी परेको छ तर मुद्धा ढिसमिस पार्न र अपराधीहरुलाई सुनपानी छर्कनका लागि अहिले प्रयास भइरहेको छ ।

एनआइसी एसिया बैंकको चाहे रौतहट शाखा होस वा खुमलटार नै किन नहोस वा जाजरकोट शाखा । एक पछि अर्काे प्रवन्धकहरु बदमासीमा मुछिरहेका छन् । तर बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बदनाम कर्मचारीहरुलाई कारवाही गर्नुको सट्टा प्रहरी प्रशासन मिलाउन लागिरहेका छन् । केही अघिमात्र एनआइसी एसिया बैंकको रौतहटको गरूडा बजारस्थित एनआईसी एसिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ता लगायत बैंकका कर्मचारीविरुद्ध ठगी गरेको भन्दै प्रहरीदेखि हेलो सरकार,राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी पर्यो । गुप्तासहितका बैंकका कर्मचारीले कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीलगायतका व्यक्तिको नाममा रकम निकालेको भेटिएपछि सो विरुद्ध उजुरी परेको छ ।

यो प्रकरणमा प्रहरीले उजुरीपछि शाखा प्रबन्धक अमोद गुप्तालाई पक्राउ गरेको थियो । तर, मिलेमतो र सेटिङमा उनलाई उन्मुक्ति दिइएको छ । स्रोतका अनुसार यो काण्डमा प्रमुख कार्यकारी अधिकृत न्यौपानेको नाम समेत उनले अनुसन्धान अधिकारी समक्ष पोलेका थिए । सिइओ समेत छानबीनमा तानिने भएपछि लेनदेनको आधारमा शाखा प्रबन्धक गुप्तालाई उन्मुक्ति दिइएको हो । गुप्ताले अम्बे कृषि फर्मलाई २ करोड ५ लाख ऋण दिएबापत ५० लाख असुलेको भन्दै असोज २ गते प्रशासनमा ठगीसम्बन्धी उजुरी परेको थियो ।

प्रबन्धक गुप्ताले दुर्गा भगवती–१ स्थित अशोका एग्रिकल्चर प्रालिका सञ्चालक अशोककुमार साहलाई ४ करोड ७५ लाख रुपैयाँ ऋण दिएबापत ८५ लाख, जय बाबा बैजनाथ एग्रिकल्चर चन्द्रपुर–९ का सञ्चालक राकेश साहलाई ३ करोड २० लाख ऋण दिएबापत ७० लाख, अनु कृषि फर्म चन्द्रपुर –५ का सञ्चालक चिन्टु रायलाई ३ करोड ५० लाख ऋण दिएबापत ३० लाख र आकार कृषि फर्म दुर्गा भगवती गाउँपालिकाका अरुण साहलाई ३ करोड १० लाख रुपैयाँ ऋण दिएबापत ३० लाख रकम लिएको आरोप छ । यस्तै जाजरकोट शाखाको घटना पनि गुपचुपमै मिलाइएको छ । खुमलटार शाखामा पनि सीइओ न्यौपानेकै निर्देशनमा अनियमितता भएको बताइएको छ ।

यस्का अलवा एनआईसी एसिया बैंक केन्द्रीय कार्यालयले विभिन्न सामान खरिदमा एउटा आपूर्तिकर्तालाइ मात्र मिल्ने गरि टेन्डर निकाल्ने गरेको कुनै टेन्डर विना कारण रद्द गरेको नेपालमै पाइने पानी आपूर्ति तथा अन्य साना खरिदमा पनि अंग्रेजीमा सूचना निकालेर एउटा विदेशी आपूर्तिकर्तालाइ मात्र प्रश्रय दिएको भेटिएसँगै हेलो सरकार,राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालयमा एनआइसी एसिया बैकविरुद्ध उजुरी परेको हो । ती निकायले यस उपर छानवीन गरिरहेको छ ।

यस्तै बैकले धितोमा दिने कर्जामा पनि कम मूल्यका जग्गाको वढी मूल्य राखेर कर्जा दिने गरेकोले अधिकांश जग्गा विक्री गर्न नसकेको र विक्री भएका धितोका जग्गा कम मूल्यमा विक्री भएकोले बचत कर्ताको वचत असुरक्षित भएको भन्दै नेपाल राष्ट्र बैंकसम्म उजुरी परेको छ । यो प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान विभागसम्म पुगे पनि केश ढिसमिस पार्न केही शक्तिकेन्द्र लागिरहेको जनाइएको छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *