सावित्री खत्री
काठमाडौं । कुनै बेला नेपाली जनताले नेपालमा लोकतन्त्र आएपछि देशमा विकास निर्माण र जनता आत्मनिर्भर हुने आशा राखेका थिए । तर, मुलुक लोकतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नत विकासले फड्को पा¥यो न त सर्वसाधारण जनता आत्मनिर्भर भए । उल्टै महंगी र भ्रष्टाचारले देश दिनानुदिन कंगाल हुँदै गयो । हुँदाहुँदा सरकारको निकम्मापनको कारण सर्वसाधारणलाई दैनिक जीवन निर्वाह गर्न पनि कठिन हुँदै गएको छ । यतिबेला नेपालीको भन्सामा नभइनहुने चिनी, तेल, प्याज, आलु, दाल चामल, आँटा, मैदा जस्ता खाद्यान्नमा ढाड सेक्ने गरी मूल्य बृद्धि भएको छ ।
त्यतातिर न सरकारले ध्यान दिन्छ, न त सम्बन्धित निकायले नै । अहिले बजरमा प्याजको मूल्य प्रतिकेजी १८० रुपैयाँ पुगेको छ । आलुको मूल्य प्रतिधार्नी १८० देखि २२० रुपैयाँसम्म पर्ने गरेको छ । केही साता अगाडि किसानहरुले आलु र प्याजमा भ्याट लगाएको भन्दै आन्दोलन पनि गरेका थिए । किसानहरु आन्दोलनमा उत्रिएपछि सरकारले नेपालमै उत्पादन भएको आलु र प्याजमा लगाएको भ्याट फिर्ता लिन वाध्य भएको थियो । यतिबेला बजारमा महंगी आकासिएको छ ।
व्यापारीहरुले सामानको मूल्य पनि पसलैपिच्छे आफूखुसी राख्ने गरेका छन् । बजार मूल्यमा एक रुपता नहुँदा उपभोक्ताहरु मारमा परिराखका छन् । राजनीतिक पार्टीहरु बजार मूल्यप्रति एक शब्द नबोली चुपचाप बस्ने गरेका छन् । खाद्य व्यवस्थापन विभाग, उद्योग वाणिज्य विभाग र उपभोक्ता मञ्च पनि तिनै कालाबजारी गर्ने व्यापारीसँग मिलेमतो गरी तैंचुप, मै चुपको अवस्थामा छन् । राज्यका सम्बन्धित निकायले पनि त्यसप्रति ध्यान दिएका छैनन् ।
राजनीतिक दलका नेताहरुको कुरै नगरौं । उनी त सत्ता, शक्ति, कमिसन र कुर्सीको जस्तोसुकै सम्झौता गर्न पछि पर्दैनन् । राज्य संयन्त्रको यस्तो लापरवाही र गैरजिम्मेवारीपनका नेपाली युवायुवतीहरु रोजीरोटीको लागि विदेसिएका छन् भने सर्वसाधारण नागरिक महंगीको मारमा पिल्सिइरहेका छन् । देश चरम भ्रष्टाचार, अन्याय, अत्याचार बेथितिले गाँजिरहँदा राजनीतिक दलका शीर्ष नेताहरु भने २०८४ सालको आमनिर्वाचनलाई लक्षित गर्दै हिडेका छन् । यसैलाई भन्ने गरिन्छ, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिथीतिर’ ।