अर्थतन्त्रमा सुधार : नेताहरुको झुटको खेती !

अर्थ/वाणिज्य राजनीति समाचार

अर्थतन्त्रको विरुप अवस्थाको अनुभव सर्वसाधारण नेपाली जनताले अहिले भोगिरहेका छन् । जसले जति गफ दिएपनि र कागजी प्रतिवेदन दिएपनि वास्तविकता नेपाली जनतालाई नै थाहा छ । सामान्य रोजगारी र पेशा गरेको आम्दानीले खर्च धान्नै नसक्ने अवस्था भइरहेको बेलामा सत्ताको मोहमा रुमलिएका नेताहरुले झुटको खेती गर्दै आइरहेका छन् । अर्थमन्त्री, दलहरुका नेता तथा सत्ताको स्वाद चाख्न पल्किएकाहरुले अर्थतन्त्रमा सुधार आइरहेको, नेपाली जनताहरुको जनस्तर उकासिएको भन्दै झुटको खेती गरिरहेका छन् ।

हो, यस्तै अर्घाखाँचीको सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन’ कार्यक्रमको उद्घाटनमा देशकै जिम्मेवारी व्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार भइरहेको झुट बोलेका छन् । जनतामाझ कहिलेसम्म भ्रम फैलाउने ? वास्तविकता सबैलाई थाहा छ, तर सबै जनता मौन छन् । जेनतेन गुजारा गरिरहेका छन्, खर्च धान्नकै लागि भएपनि परिवारको एक सदस्यलाई विदेश पठाउन बाध्य छन् । सरकारले आयोजनाहरुको भुक्तानी गर्न नसकेर बल्लतल्ल गर्न लागिरहेको अवस्था छ ।

यस्तो दयनीय अवस्थामा अर्थतन्त्रका आधारभूत पक्षहरुमा सुधार आउँदै गरेको भनेर प्रधानमन्त्रीले जनतामाथि झुटको खेती गर्नुको औचित्य के हुन्छ ? वास्तवमा नेपालमा अधिकांश नेता, कर्मचारी, न्यायक्षेत्रसँग सलग्न व्यक्तिहरु नैतिक रुपमा कमजोर छन् । नैतिकता नै हराइसकेकाहरुले देशको नेतृत्व गरिरहेका छन् । नेतृत्वमा हुनेहरुको झुटको खेतीकै कारण अर्थतन्त्रमा आज यो दुरावस्था आएको छ । नातावाद, कृपावाद र भ्रष्टाचारले सबै क्षेत्रमा जरो गाडेको छ ।

पदमा पुग्ने र आफ्नो खर्च निकालिहाल्नुपर्छ भन्ने प्रवृत्ति मौलाएको छ । राज्यकोषमाथि लुट चरम स्थितिमा पुगेको छ । यसको सुधारका लागि कसले पहल गर्ने ? कसले छातिमा हात राखेर देश सुधार्छु भनेर काम गर्ने ? नेपालमा देखिएका राजनीतिक दलदेखि मुलुकको नेतृत्व तहमा पुगेका कसैमा पनि त्यो भावना छैन, त्यो आत्मबल छैन । खर्च गरेर पुगेको पदबाट आम्दानी गर्नुपर्छ भन्ने प्रवृत्ति अहिले विद्यमान छ । देशको सेवा गर्छु भन्ने व्यवहार देखिँदैन । नेपालमा राजनीतिलाई पेशा बनाइएको छ । व्यापारको भाँडो बनाइएको छ ।

अर्थतन्त्रमा सुधार के आधारमा देखियो, प्रधानमन्त्री प्रचण्डले स्पष्ट रुपमा तथ्यांकीय व्याख्या गर्न सक्नुपर्दछ । नत्र जहाँ मन लाग्यो त्यहीँ, जे मन लाग्यो त्यही बोल्नु उचित हुँदैन । नेपालको अर्थतन्त्र सर्वसाधारण जनताको घर–चुल्होसँग जोडिएको छ । सर्वसाधारण जनता महंगीको मारमा परेको अवस्था छ । आफ्नो आम्दानीले घरगुजारा चलाउँछु भन्ने अवस्था छैन । सानातिना व्यवसाय प्रशासनिक र करकै झन्झट्ले सञ्चालन हुन नसक्ने अवस्थामा छन् । संघीय रुपमा सिर्जित गरिएका विभिन्न तहका कर र विभिन्न प्रकारका करले जनता थिचिएका छन् । कुनै लघुउद्यम घाटामै गएपनि वर्षेनी हजारौं रुपैयाँ कर तिर्नुपर्दछ ।

आम्दानी नभएको अवस्थामा पनि स्थानीय रुपमा कर तिर्न बाध्य बनाइएको छ । उपभोक्ता छैनन्, उपभोग्य वस्तु उत्पादन गर्ने लघुउद्यम बन्द हुने अवस्थामा छन् । बजारमा भएगरेका र उपभोग गर्ने वस्तुहरु आयातित छन्, जसले आन्तरिक बजारलाई ध्वस्त बनाएका छन् । नेपालमा देखिएको प्रभाव र असर नै यही हो । पहिले निर्यात, पर्यटनहरु नेपालको आम्दानीको स्रोत हुने गर्दथ्यो, तर अहिले श्रमका लागि बेचिएका युवाहरुको रेमिट्यान्स नै सरकारको आम्दानी बनेको छ । अधिकांश घरको चुल्हो पभि यसरी वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको आम्दानीले चल्ने गरेको छ । रेमिट्यान्सले परिवार त पाल्नै पर्छ, तर सरकार पनि पालिदिनुपर्ने अवस्था आएको छ ।

यो सबै अवस्था सिर्जना गर्नेहरु यिनै भ्रष्ट नेता र यिनहरुका आसेपासेहरु हुन् । गलतलाई पनि सही भन्न र सहीलाई पनि गलत भन्नका लागि यी आसेपासे र निकटहरु तयार हुन्छन् र सडकमा पनि उत्रिन तयार हुन्छन् । यस्ता व्यक्तिहरुकै कारण मुलुक पछि पर्दै गएको हो । पछिल्लो समय शिक्षित युवावर्ग र पेशागत व्यक्तिहरु पनि विदेसिन थालेको अवस्था छ । अहिले नेपालको अवस्था वृद्धवृद्धा बस्ने र रेमिट्यान्सबाट घर चलाउने बनेको छ । ती बाहेक नेता, कार्यकर्ता र यिनका आसेपासे मात्रै छन् ।

यिनीहरुले नै विभिन्न निकाय, संगठनहरु ओगटेर बसेका छन् । कामभन्दा पनि दामको पछि लाग्ने दौड चलेको छ । यो संस्कारको अन्त नभएसम्म नेपालमा आर्थिक सुधारको परिकल्पना गर्न सकिँदैन । नातावाद र कृपावादका लागि होइन, समृद्धि र सुधारका लागि नेतृत्वमा आउँछु भनेर प्रतिबद्धता गर्नुपर्दछ । नेपालमा जनतालाई झुक्याउने र फट्याईं गर्नेबाहेक अहिलेसम्म सुधार गर्ने कोही आएको देखिँदैन । जुनतन्त्र आएपनि जनतालाई ठग्ने, लुट्ने र दुख दिने बाहेक अन्य केही काम भएको पाइँदैन ।

पछिल्लो समय नेपालको अर्थतन्त्र दयनीय बन्दै गएको सर्वविदितै छ । एकातर्फ सरकारको आयात प्रोत्साहित नीति, अर्काेतर्फ उत्पादनमूलक क्षेत्रतर्फको वेवास्ता नै अहिलेको अर्थतन्त्रको अवस्थाको कारक हो । यस्तो हुनुमा भ्रष्ट, बिचौलिया र स्वार्थसिद्ध व्यक्तिहरुकै हालीमुहाली छ । अर्थतन्त्रलाई सुधारमा ल्याउनका लागि आन्तरिक बजारको प्रतिस्पर्धालाई तीव्र बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने, आयातित उपभोग्य वस्तु प्रतिस्र्थापन गर्न सक्ने वस्तु उत्पादन गर्नेलाई उचित अवसर र पुरस्कारको व्यवस्था गर्नेजस्ता विविध नीतिगत सुधार गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गर्नुपर्दछ ।

अब त्यही नातावाद र कृपावादको लडाइँ चल्ने, आफ्नालाई पदको व्यवस्था गर्ने प्रवृत्तिबाट बाहिर आउन जरुरी देखिन्छ । सुधारका लागि कसैले न कसैले त पहल गर्नुपर्ने समय आइसकेको छ । नत्रभने निकट भविष्यमा नै नेपालको अवस्था नाजुक हुने र जनताल श्रीलंकामा जस्तै नेपालका नेता र भ्रष्टहरुलाई लेखट्ने दिन नआउला भन्न सकिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *