राजनीतिक दलहरु सरकार बनाउनमै व्यस्त

राजनीति समाचार

सरकार शिथिल बन्दा जनजिविका र विकास निर्माणका काम ठप्प
काठमाडौं । राजनीतिक दलहरुले सत्तापरिवर्तन गरिरहँदा विकास निर्माणका कामहरु जताततै लथालिङ्ग अवस्थामा गुज्रिइरहेका छन् । तत्कालीन गठबन्धन सरकार भत्काएर नयाँ गठबन्धन सरकार बनेको महिनादिन पुगिसकेको छ । केन्द्रमा मात्रै होइन, सातैवटा प्रदेशमा सरकार परिवर्तनको होडबाजी चलिरहेको छ । चालु आर्थिक वर्षको अन्त्य हुन लाग्दा पनि जनजीवीकाको सवाल र विकास निर्माणका कामहरु अलपत्र परिराखेका छन् ।

राजनीतिक दलहरु भने सत्ता कसरी हात पार्ने र आफ्ना कार्यकर्तालाई कहाँ नियुक्ति गर्ने भन्ने ध्याउन्नामा व्यस्त छन् । हालको गठबन्धन सरकारबाट उपप्रधानसहित गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागिरहेको छ । गृहमन्त्री रविलाई सहकारी ठगीको आरोप लागेपछि सत्य तथ्य पत्ता लगाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविन आयोग गठन गर्नुपर्ने माग राखी संसद अवरोध गरेको थियो । प्रतिपक्षी दलले संसद अवरोध गरेपछि महत्वपूर्ण विधेयकहरु पास नहुने देखिन्छ । उता सत्तागठबन्धनभित्र पनि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीचको सम्बन्ध चिसिँदै गएको छ । कांग्रेस इतरपक्ष नेता र एमाले अध्यक्ष ओलीको सम्बन्धले पनि प्रधानमन्त्री प्रचण्ड त्रसित हुन थालेका छन् ।

आगामी वैशाख १५ मा हुने इलाम–२ को उपचिर्वानमा अहिलेको सत्तागठबन्धन एक ठाउँमा उभिनुपर्नेमा त्यो नगरी आ–आफ्नो पार्टीबाट छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । त्यसले पनि सत्तागठबन्धन कमजोर हुँदै जाने देखिन्छ । उता बझाङको प्रदेश (ख) मा हुने निर्वाचनमा पनि एमालेले आफ्नै उम्मेदवार उठाएपछि गठबन्धनको औचित्य नभएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । यो गठबन्धन सरकारको आयु आगामी वैशाख १५ मा हुने इमाल २ संघीय निर्वाचन र बझाङ ‘ख’ को प्रदेश सभा निर्वाचनले तय गर्ने देखिन्छ । इलाम र बझाङमा कुन पार्टीले जित हासिल गर्ने हो त्यो पनि निश्चित छैन । दुवै क्षेत्रमा प्रतिपक्ष दल नेपाली कांग्रेससँगै सत्तागठबन्धन दलहरुले आ–आफ्ना उम्मेदवार उठाएपछि जित कसको पोल्टामा जाने भन्ने एकिन पनि छैन ।

आगामी वैशाख १५ मा हुने इमाल २ को संघीय निर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राप्रपाबाट लक्ष्मी गुरुङ र पहिचान पक्षधरबाट डेकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिएका छन् । उता नेपाली कांग्रेसबाट डम्मर खड्काले उम्मेदवारी दिएका छन् । इलाम –२ को निर्वाचनमा ६ जनाको भिडन्त हुँदै छ । सो भिडन्तबाट कसले वाजी मार्ने हुन् त्यो पनि निश्चित छैन । यदि राजनीतिक दलबाहेक अन्यले चुनाव जितेमा दलहरुको भविष्य झन् नाजुक हुने देखिन्छ । इलाम २ को निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रतिष्ठानको विषय बन्दै छ ।

उता, रास्वपाको र पहिचानवादीको अस्तित्वको लडाइँ छ । त्यसैगरी बझाङ (ख) मा एमालेबाट डम्बर बहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, माओवादीबाट जनक बुढा र जसपाबाट रामबहादुर जागीले उम्मेवदवारी दिएका छन् । त्यस्तै प्रमुख प्रतिपक्ष दली नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहका छोरा अभिशेक सिंहलाई उम्मेदवार बनाएको छ । बझाङ (ख) मा सबै दलहरुको प्रतिस्पर्धा चलिरहेको छ । त्यसमा कुन दलले वाजी मार्ने हो एकिन छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *