कांग्रेस बैठकमा गठबन्धन विरुद्ध आवाज चर्कियो देउवाका आसेपासेहरु नै विपक्षमा

समाचार

काठमाडौं । सरकार र गठबन्धनको नेतृत्व गरी राखेको नेपाली कांग्रेसले साढे तीन महिनापछि केन्द्रिय कार्य समितिको बैठक मार्फत् गत सोमबारबाट समीक्षा सुरु गरेको छ भने कांग्रेसको केन्द्रिय कार्य समितिको बैठकले आगामी मंसीरमा हुने संघीय र प्रदेश चुनावको सम्बन्धमा आवश्यक रणनीति बनाउने भएको छ । सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल नेकपा एमालेलाई १२५ स्थानीय तह भन्दा बढी तहमा निर्वाचन जित्न सफल भएको नेपाली कांग्रेसमा निर्वाचनको उक्त परिणामलाई लिएर परस्पर विरोधी विचार राख्ने काम भई राखेको छ । एकथरी कांग्रेसीहरु अहिले कम्युनिष्ट शक्ति विभाजित रहेको अवस्थामा नेपाली कांग्रेसले कम्तीमा ७५३ स्थानीय तहमा पचास प्रतिशत भन्दा बढी विजय प्राप्त गर्नु पर्ने थियो भन्ने दाबी गरिराखेका छन् भने अर्का थरी कांग्रेस गठबन्धन मार्फत् निर्वाचनमा घात भएको कारणले गर्दा सबभन्दा ठूलो दल नेकपा एमाले भन्दा १२५ स्थानमा विजय प्राप्त गर्न सकिराखेको दाबी गरी राखेका छन् ।
गत सोमबारबाट सुरु भएको केन्द्रिय कार्य समितिको बैठकमा आगामी आम निर्वाचन तथा प्रदेश निर्वाचन लड्ने सम्बन्धमा फरक मत आई राखेको छ । प्रधानमन्त्री निकटका केन्द्रिय सदस्य तथा प्रदेश सभापतिहरुले समेत स्थानीय निर्वाचन गठबन्धन मार्फत् लड्दा पार्टीलाई हानी पुगेको विश्लेषण गर्दैै अब हुने आम निर्वाचन भने कांग्रेस एक्लै लड्नु पर्ने मत व्यक्त गरेका छन् । यो मामिलामा प्रधानमन्त्री देउवा र नेता गुरु बरालका बीचमा मुख छोडाछोड समेत भएको छ र सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एक्लै चुनाव लड्ने भए त्यही अनुसारको चुनौती गर्न तयारी गर्न चुनौती समेत दिएका छन् । गत सोमबारको पहिलो बैठकमा देखाएको प्रस्तुती हेर्दा आगामी आम निर्वाचनमा कुनै पनि हालतमा सभापति देउवा एक्लै चुनाव लड्ने पक्षमा छैनन् । तर देउवा क्याम्पकै १ नं. प्रदेशका कांग्रेस सभापति उद्धव थापा बागमती प्रदेश सभापति इन्द्र बानियाँ यसैगरी मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादव तथा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो मन्तव्य गठबन्धनको विपक्षमा प्रकट गरेका छन् । यो विषयमा सबैले आश्चर्य पार्दै प्रधानमन्त्रीका अति निकट रहेका बलबहादुर बलायरले गठबन्धन मार्फत् चुनाव लड्ने रणनीतिको चर्को आलोचना गर्दैै नेपाली कांग्रेस एक्लै चुनाव लड्नु पर्ने मत व्यक्त गरेका छन् ।
केन्द्रिय कार्य समितिको बैठकमा अधिकांश सहभागी नेताले कांग्रेस एक्लै आगामी निर्वाचनमा होमिनु् पर्ने मत व्यक्त गरेका भएपनि गठबन्धनसँग प्रधानमन्त्री देउवाको स्वार्थ जोडिन पुगेकाले पार्टी भित्र चर्को विरोध भएपनि नेपाली कांग्रेस औपचारिक रुपमा भने गठबन्धन मार्फत् नै निर्वाचनमा जाने स्थिति छ । तर गठबन्धन भनेको संसदको प्रत्यक्ष तर्फ हुने १६५ स्थानमा हो । २७५ जना सांसद रहेको प्रतिनिधिसभमा ११० जना सांसदको चयन समानुपातिक प्रणालीबाट हुन्छ । यो स्थितिमा प्रत्यक्ष तर्फ हुने १६५ स्थानमा गठबन्धनमा रहेका पाँच दलले कसरी भागबण्डा मिलाउँछन् भन्ने ज्वलन्त प्रश्न अहिलेबाट नै उठ्न थालेको छ । पार्टी संगठन मिलाउन र सबभन्दा ठूलो दलको हैसियत कायम गर्न नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ कम्तीमा सय स्थानमा निर्वाचन लड्नु पर्दछ । कांग्रेसले सय स्थानमा निर्वाचन लडेपछि बाँकी रहेको ६५ स्थानमा भागबण्डा बाँकी चार दलले कसरी मिलाउँछन् र चित्त बुझाउँछन् भन्ने प्रश्न अहिलेबाट नै उठ्न थालेको छ । यो मामिलामा वर्तमान गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले प्रत्यक्ष तर्फ ५० स्थानमा दाबी गरेको छ भने अर्को घटक एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ २५ स्थान पाउनु पर्ने दाबी गरी सकेको छ ।
आफ्नो दाबीलाई बलियो बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समयसमयमा कम्युनिष्ट मात्रको गठबन्धनको चर्चा गरेर नेपाली कांग्रेस माथि दवाव बढाउने रणनीति अख्तियार गरेका छन् । कम्युनिष्ट शक्तिहरु एक ठाउँमा आएर २०७४ सालको निर्वाचनमा जस्तै नेपाली कांग्रेसको दर्दनाक पराजय हुने विश्लेषण प्रधानमन्त्री देउवाको रहेको छ । जबकी प्रधानमन्त्री देउवा गठबन्धन मार्फत् निर्वाचन लडेर आम निर्वाचन पछिको सरकारको नेतृत्व पनि गर्ने योजनामा रहेका छन् । यसैगरी कांग्रेस माथि दवाव बढाउनकै लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनको मर्म अनुसार अन्य दलले सहयोग नगरेको आरोप लगाउँदै आगामी आम निर्वाचन एक्लै लड्ने उद्घोष गरेर मुख्य रुपमा कांग्रेस माथि दववा बढाई राखेका छन् । किनभने कम्युनिष्ट विभाजनको अवसरबाट कांग्रेस र आफू सत्तामा पुगेको विश्लेषण गर्दै आएका कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा कुनै हालतमा पनि नेकपा एमाले तथा माओवादी केन्द्र जस्ता ठूला पार्टीलाई एक ठाउँमा आउन दिने पक्षमा छैनन् । आफ्नो भावी स्वार्थ पूरा गर्नका लागि माओवादी अध्यक्ष प्रचण्डसँग आलोपालो प्रधानमन्त्री चलाउने सहमति समेत गरेको बताइन्छ । तर नेपाली कांग्रेस भित्र भने आम निर्वाचन र प्रदेश निर्वाचन गठबन्धन मार्फत् लड्ने विषयमा चर्को विवाद भई राखेको छ र यो विवादले कांग्रेसलाई प्रत्यक्ष तर्फबाट होइन समानुपातिक तर्फ पनि असर पार्न सक्ने देखिएको छ ।
गठबन्धनलाई उपयोग गरेर माओवादी केन्द्रलाई सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बनाउने योजनामा रहेका अध्यक्ष प्रचण्ड कांग्रेस भित्र विवाद चर्कदैं गए त्यसको मूल्य कांग्रेसले चुकाउनु पर्ने र फाइदा भने आफ्नो पार्टीलाई हुन सक्ने विश्लेषण समेत गर्न थालेका छन् । अर्थात् अहिले गठबन्धनलाई लिएर यसमा आवद्ध दलहरुले आफ्नो राजनीतिक फाइदाको हिसाबकिताब गरी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *