बिकासले जनताको जीवनयापनलाई सरल, सहज र सुखमय बनाउन सक्नु पर्छ । अहिले नेपालमा भईरहेको बिकासले नेपाली जनताको जीवनलाई झनै कठिन बनाउँदै लगेकोछ । नेपाल राष्ट्र ऋणमा डुव्दै गएको छ भने नेपाली जनता महंगीको सिकार बन्दै गएकोछ । नेपाल राष्ट्र ऋणले गर्दा टाट पल्टिने अवस्थामा पुगेको छ भने नेपाली जनता अफ्नो सुन्दर भविष्यको खोजीमा बिदेश तिर भटाभट पलायन भईरहेका छन । नेपाली जनताले आफ्नो सन्तानको सुन्दर भविष्य नेपालमा नदेखेपछि ऋणपान गरेरै भए पनि आफ्ना सन्तानलाई बिदेशमा भग्य बनाउनको लागि पठाउन बाध्य भएकाछन ।
नेपालमा अहिले सम्म भएका बिकासहरुमा ऋण वा अनुदान दिने बिदेशी मुलुकहरु वा संस्थाहरुको हस्तक्षेप धेरै झल्किएका छन । कागलाई वेल पाक्यो नहर्ष नबिष्मात भनेको जस्तो बिदेशीले सहुलियत ऋण वा अनुदानमा बनाईदिएको बिकास परियोजनाहरु नेपाली जनताको लागि बनेको छ । यस्ता डोनर ड्रिभेन परियोजनाहरुले नेपाल राष्ट्र र नेपाली जनताको खर्च मात्रै बढाएको छ भने आम्दानी फुटेको कौडी बढाएको छैन ।
संसारका अन्य मुलुकहरुमा पनि यस्ता परियोजनाहरु बन्ने बनाउने गरिएका छन । नजिकको उदाहरण हामी म्यानमारमा बनेको नयाँ राजधानी सहरलाई लिन सक्छौ । त्यो नयाँ वैकल्पिक अत्याधुनिक राजधानी सहर म्यानमारका जनताले विलकुलै रुचाएका छैनन् । फलस्वरुप पुरै सहर खाली भएर भुतिया सहर झै बनेको छ । पुरानो रंगुन सहरमा नै बसोबास गर्न त्यहाँको जनताले रुचाएको हुँदा सैनिक सरकारले अनेक दबाब हाल्दा पनि नयाँ सहरमा बसोबास गर्ने जनताको संख्या बढाउन सकीरहेको छैन । अब टाढाको उदाहरणमा हामी क्यानडामा बनेको एक वैकल्पिक अन्तराष्ट्रिय विमानस्थललाई नै लिन सकिन्छ ।
पुरानो र नयाँको बिचमा केवल २० किलोमिटर दुरीको मात्रै फरक भएतापनि नयाँ बनेको अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेन र आखिरमा त्यसलाई बन्द नै गर्न क्यानडा सरकार बाध्य भयो । क्यानडा जस्तो धनी देश सित लगानीको अभाव नभएको हुँदा चलेन भने बन्द गर्दा पनि कुनै फरक पर्दैन तर नेपाल जस्तो अरुको ऋण र अनुदान सहयोगमा चल्ने मुलुकलाई भने ठुलो फरक पार्नेछ ।
नेपालमा पनि राम्रो सित अध्ययन अनुसन्धान नगरी पोखरा र भैरहवामा दाताहरुको प्रभावमा परी बनाईएका अन्तर्राष्ट्रिय विमानस्थलहरु चल्न सकीरहेको छैन । उक्त अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन गर्दा नेपालको राष्ट्रिय खर्च धान्नै नसक्ने गरी बढेको छ भने राष्ट्रिय आम्दानी सुको बढेको छैन । उक्त अन्तर्राष्ट्रिय विमानस्थलहरु अब चल्ला जस्तो पनि छैन किनकि अन्तर्राष्ट्रिय उडानहरु त्यताबाट हुन नसक्ने अवस्था उत्पन्न भएकोछ ।
संघिय राजधानी काठमाण्डौको मुटुमानै धेरै लामो समय देखि चल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चलाउनको लागि पनि नेपाल सरकारलाई हम्मे हम्मे परेको अहिलेको अवस्थामा पोखरा र भैरहवामा थप दुई अन्तर्राष्ट्रिय विमानस्थलहरु चलाएर खाने क्षमता नै नेपाल सरकारको भएको जस्तो देखिन्न । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थपन नेपाल सरकारले राम्रो सित गर्न नसक्दा सुरक्षाको ठुलो चुनौती सामना गर्नु पर्दैछ । उक्त विमानस्थल सुन तस्करी र मानव तस्करीको अड्डा बनेकोछ र त्यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानहरु सुरक्षित छैनन् ।
अन्तर्राष्ट्रिय आतंककारीहरु, तस्कर जुवाडेहरु, ड्रग माफियाहरु र दलालहरुले काठमाण्डौलाई आप्नो ट्रान्जिट हब बनाएको हुँदा नेपाल राष्ट्र लगायत क्षिमेकी मुलुकहरुमा समेत सुरक्षाको चुनौती बढाएको छ । यदि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पनि सुचार बनाउने हो भने उल्लेखित सबै व्यवस्थापनका चुनौतहरु समना गर्नको लागि नेपाल सरकारले तयारी गर्नु पर्ने हुन्छ । अहिले कै अवस्थामा उक्त अन्तर्राष्ट्रिय विमानस्थलहरु चलाएर खान सक्ने क्षमता नेपाल सरकारको छैन र विदेशी उडान गर्ने गराउने कंपनीहरुले पनि नरुचाएको हुँदा अब उक्त अन्तर्राष्ट्रिय विमानस्थल भनिएका विमानस्थलहरु डोमेस्टिक उडानमा मात्रै सीमित हुनेछन ।
बदलिएको परिस्थिति अनुसार सबै भन्दा ठुलो डर त के हुने भयो भने गेमचेन्जर मानिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि चल्ला वा नचल्ला भन्ने संका उत्पन्न भएकोछ । त्यहि अन्तर्राष्ट्रिय विमानस्थल सित जोडिएको काठमाण्डौ तराई फास्ट ट्र्याक खरबौंको लागानीमा निर्माण भईरहेकोछ । यदि उक्त विमानस्थल बनाउन सकिएन भने त्यो सबै लगानी पानी बालुवामा खनाएको सरह नै हुने पक्का छ । नेपाली जनताको उज्वल भविष्य सित नजोडिएका यस्ता परियोजनाहरु बनाएपनि त्यो सबै उपयोगहिन बन्दै जान्छ र कालन्तरमा खारेज गरे सरह नै हुन्छ । त्यसकारण पूर्वाधार बिकासलाई मात्रै नेपालको बिकास ठानेर त्यसमा अन्धाधुन्द लगानी गर्नु भन्दा पनि नेपाल राष्ट्र र नेपाली जनताको आवश्यकतालाई हेरी आँखा खोलेर मात्रै ठुला पूर्वाधार बिकास परियोजनाहरुमा लगानी गर्नु वा बढाउनु पर्छ ।
ऋणदाताहरुको सर्तको प्रभावमा परी यस्ता ठुला परियोजनाहरुमा लगानी बढाउँदै जाँदा आखिरमा ठुलो भडखालोमा परिने संभावना नेपालमा मात्रै होइन संसार भर नै कायम छन । नेपाल सरकारले संसारमा भएका उदाहरणबाट पाठ लिएर गलत परियोजनाहरुमा लगानी गर्ने तिर सोचबिचार पुर्याएर मात्रै लाग्नु पर्छ । अहिले नेपालमा यस्तै ठुला तर गलत परियोजनाहरुको उदाहरणहरु धेरै छन । त्यसैबाट पनि पाठ सिकेर नेपाल सरकारले नयाँ ठुला परियोजनाहरुमा हात हालेमा पछि धोका पाउने छैन । रेल मार्ग परियोजनालाई पनि नेपाल सरकारले राष्ट्रको आवश्यकता सित जोड्न सकेको छैन । त्यसमा राष्ट्रको अमुल्य ठुलो लगानी डुबेर बसेको लामै काल बितिसक्यो तर नेपाल सरकारले त्यसलाई न अगाडि बढाउन सकेको छ न खारेज नै गर्न सकेको छ । गरिब नेपाली जनतालाई बस्नको लागि घर छैन तर नेपाल सरकारले भने राष्ट्रको अमुल्य लगानी अग्ला टावरहरु बनाएर नै खेर फालेका छन ।
सहरहरु बनाउँदा माध्यम र निम्न वर्गका नेपाली जनतालाई बसोबास गराउनको लागि भवनहरु बनाएर उचित मुल्यमा वितरण गर्दा राम्रो हुन्छ किनकि त्यो नेपाल राष्ट्र र नेपाली जनताको अवाश्यकता सित सिधै जोडिएको परियोजना हुन्छ । अहिले सम्म नेपाल सरकारले गलत परियोजनाहरु बनाईरहेको हुँदा त्यसबाट लाभ नेपाल राष्ट्र र नेपाली जनतालाई पटक्कै भएको छैन । घरजग्गाका दलालहरु र परियोजनाका दलालहरुले मात्रै नेपालमा मनग्गे लाभ उठाएका छन ।
नेपालका कमिसनखोर दलका नेताहरु र निजामतीका हाकिमहरुले मिलेरै गलत परियोजनाहरु बनाएर त्यसबाट कमिसन हसुर्दै अहिले सम्म आएको हुँदा नेपाल राष्ट्र र नेपाली जनता त्यस्ता परियोजनाहरुबाट हुने लाभ देखि बञ्जित हुनुपरेको हो भन्दा कुनै फरक पर्दैन । दलहरुले नेपाल राष्ट्रको स्वाभिमान बढाउने र नेपाली जनताको आत्मसम्मान जगाउने खालको ठोश परियोजनाहरु बनाएर त्यसको कार्यान्वयन गर्ने तिर ध्यान दिएको छैन । नेपालको धार्मिक र इतिहासिक पहिचानहरु मेटाएर नेपालको बिरोधी बिदेशीहरुलाई खुसी तुल्याउने कामहरु मात्रै दलहरुले नेपालमा गर्दै आएकाछन । अमेरिकी एमसीसी परियोजनामा त दलहरुले हदै सम्मको दलाली गरी नेपाली जनताको नाकैमा आची लगाई दिए । यति बेला नेपाल आमाको छातीमा एमसीसी परियोजनाहरुको कार्यन्वयन गर्ने बाहानामा अमेरिकी सेना बुट बजार्दै हिडेकाछन ।
हिजो अस्ति मात्रै नेपाल सरकारको एक मंत्री पनि उपस्थित रहेको एक सरकारी स्कुलको प्रांगनमा अमेरिकी सेनाको म्युजिक टुकडीले बाजागाजा बजाएर म्युजिकल फेस्टिवल मनाएका थिए । राष्ट्रिय सडकहरुको मल्टीलेन बिस्तार र बिजुलीको उच्चभोल्टेज प्रसारणलाईन बनाउने बाहानामा नेपाल छिरेका अमेरिकी सेनाले चीनलाई घेर्ने अमेरिकी नीति अनुसार नै नेपालमा काम गरीरहेकाछन । यसले गर्दा नेपाल राष्ट्रको सार्वभौमिकता माथि खतरा बढेको छ । ढिलो चाँडो नेपाल राष्ट्रलाई पनि दलहरुले शक्ति राष्ट्रहरुको तानातानी र हानाहान भित्र छिराएर युक्रेन कै हालतमा पर्याउने वतावरण तयार पार्दैछन ।
धेरैले गरेको संका अनुसार रास्वपा भन्ने नयाँ राजनीतिक दल नेपालको राजनीतिमा एकाएक उदय हुनुको पछाडि पनि पश्चिमी शक्ति राष्ट्रहरु कै हात रहेको अनुमान लगाएका छन । यसबारे थप जानकारी आउन नै बाँकी छ तर रास्वपा कै एक मंत्री अमेरिकी सेनाको सार्वजनिक स्थलमा आयोजना गरेको म्युजिकल कार्यक्रममा उपस्थिति हुनुले डाँडामा बाघ कराउनु र गैरामा बाख्रा हराउनु संयोग मात्रै होइन कि भन्ने नेपाली जनताको मानमा लाग्न थालीसकेको छ । रास्वपाको शीर्ष नेता रबि लामिछाने ज्यू धेरै नै बिबादित व्यक्तित्व भएको कुरा घटना क्रमहरुले देखाईरहेका छन ।
नेपालमा पत्रकारको रुपमा हुँदा उहाँले गर्नु भएका केही मानव कल्याणको कामहरुले मात्रै उहाँलाई र उहाँको नेतृत्वलाई नेपाली जनताले पत्याएका छन । उहाँको बिगतलाई खोतल्दै लाने हो भने उहाँले अहिले पाएको नेपाली जनताको सबै भरोषाहरु छिनमा नै गुमाउनु बेर लाग्ने छैन । यस्ता दुर्गन्धित नेताहरुले चलाएका राजनीतिक दलहरुबाट सुगण्धको बासना आउन सक्दैन । नेपालको बिकासको सन्दर्भमा भने भर्खरै नेपालको राजनीतिमा प्रवेश गरेको राजनीतिक दल रास्वपालाई द्वोष लगाउन सक्ने अवस्था छैन । नेपालमा फाल्तु उत्पादनहिन जेजति बिकास परियोजनाहरु बनेका छन त्यसको एकमुष्ट जिम्मेवार नेका, एमाले र माके नै हुन्छ ।
काठमान्डौ भित्रै पर्ने चोभारको चुन ढुंगा खानी क्षेत्रमा समेत सुखा बन्दरगाह बनाएर दलहरुले नेपालमा संसारलाई नै चकित पार्ने गरी बिकास गरेको दाबी गरेका छन । करोडौंको लागानीमा बनेको उक्त सुखा बन्दरगाहबाट सुको आम्दानी नभएपछि हाल निजी क्षेत्रलाई भाडामा चलाउन दिएकोछ । अब भाडामा लिने निजी क्षेत्रले पनि सुन तस्करी नगरी सरकारले तोकेको भाडा बुझाउन सक्दैन । कुनै दिन उक्त निजी सञ्चालक सबै अलपत्र छाडेर भागेको खवर अखबार प्रकाशित हुने पक्कै छ ।
बिशेष आर्थिक क्षेत्रहरुको हाल पनि राम्रो छैन । उपयुक्तताको अध्ययन अनुसन्धान नै नगरी सार्वजनिक प्रतिजग्गाको चौरहरु खोजी बनाएका संरचनाहरु कमिसन खान बाहेक राष्ट्रको उन्नतीको लागि कुनै कामको छैन । सरकारी औद्योगिक क्षेत्रहरुको पनि हालतमा पतला छ । उद्योगहरु नखुल्दा सरकारी औद्योगिक क्षेत्रहरु सबै गौचरणमा परिणत भईसकेका छन । काठमाण्डौमा नै भएको बालाजु र पाटन औद्योगिक क्षेत्रहरुको हालत पनि नाजुक नै देखिन्छ । नेपालमा सरकार छ भन्नु मात्रै हो त्यसको प्रभाव नेपालको बिकास र उन्नतीमा केही कतै देखिन्न । नेपाल सरकारको योजना र व्यवस्थापन प्रभावहिन भएको देख्दा नेपाली जनता नेपाल राष्ट्र भगवान भरोषाले मात्रै चलेको हो भन्ने बिश्वास गर्दैछन ।