अस्थिर राजनीतिले अस्थिर बन्दै मुलुक

राजनीति समाचार

वाम गठबन्धनको नयाँ सरकार बनेको पनि ४० दिन बितिसकेको छ । तर यो सरकारबाट पनि कुनै उपलब्धिमुलक काम हुन सकेको छैन । सत्ता र स्वार्थले भरिएको राजनीतिक क्षेत्रले निकास पाउन नसक्दा जनता मारमा परेका छन् । मुलुकको नेतृत्व गरेका र सरकारमा रहेका मन्त्रीहरू माथि पनि विभिन्न भ्रष्टाचार व्यथिति को आरोप लागेका छन । कुनै न कुनै रुपमा सरकारका मन्त्रीहरू नै यस्तो प्रकरणमा मुछिनुले राज्य कुन अवस्थामा छ भन्ने देखाउँछ ।

जो आएपनि कानै चिरेको भन्ने उखान अहिले नेपाली राजनीतिमा चरितार्थ हुन पुगेको छ । पुरानो गठबन्धनले काम गर्न नसकेको संज्ञा दिएर नयाँ गठबन्धन बनाई प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालन गरिरहँदा पनि उपलब्धिमूलक काम भने हुन सकेको छैन । न त कुनै ठोस योजना छ, न त कुनै जनतालाई राहत दिने काम नै भएको छ । केवल झारा टार्ने, सरकार बनाउने, सुख सुविधा लिने, भ्रष्टाचारमा लिप्त हुने, शक्तिको दम्ब देखाउने बाहेक अरु कुनै काम हुन सकेको छैन ।

सरकारले मुलुकको र जनताको नेतृत्व गर्ने हो । नेपालको सन्दर्भमा राजनीति जनता र देशका लागि नभई आफ्नो स्वार्थ र सुविधाको लागि गरिन्छ । वास्तवमा राजनीति जनताको लागि हुनुपर्छ । तर राजनीतिलाई व्यवसायीकरण गरेर व्यापार धन्दा चलाएका राजनीतिक दल मुलुकको अहिलेको अवस्था हेरेर नैतिक रूपमा सच्चिनुपर्ने देखिन्छ ।

राज्यको सुशासन कायम गर्ने र बेथितिको नियन्त्रण गर्ने जिम्मेवारी भएको गृहमन्त्रालय सम्हालेका गृहमन्त्री रवि लामिछाने पनि सहकारी प्रकरणमा मुछिएका व्यक्ति हुन् । नैतिक जिम्मेवारी हुने थियो भने सरकारभन्दा बाहिर रहेर अनुसन्धान टुंगिएपछि मात्रै सरकारमा जानुपर्दथ्यो । यसले पनि राजनीतिक दलका नेतामा सरकारमा सामेल हुन र मन्त्री बन्न कति मोह छ भन्ने स्पष्ट पार्दछ । त्यसैगरी मुलुकको नेतृत्वमा पुगेका सबै राजनीतिक दल हरू विभिन्न अन्तरालमा सरकार चलाउँदै आएका थिए ।

यी राजनीतिक दलबाट पनि त्यस्तो उपलब्धिमूलक काम हुन सकेको थिएन र अहिले पनि जनताले आशा गर्ने ठाउँ छैन । राजनीतिक दलहरूले आफूहरू सच्चिएको र मुलुकको हितको लागि काम गर्ने भनिरहँदा पनि व्यवहारले भने त्यही पुरानै प्रवृत्ति र परिपाटी अंगालेको देखिन्छ । अब पनि राजनीतिक दलहरू नसुध्रने र सरकार परिवर्तनको खेलमा रमाइरहने हो भने जनताले राजनीतिक दलकै विकल्प खोज्नु जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *