एसीसी यू–१६ इस्ट जोनकप क्रिकेटको सेमिफाइनलमा विजेता नेपाल उपविजेता मलेसियासँग सेमिफाइनलमा भिड्दै

खेलकुद समाचार

काठमाडौं । एसीसी यू–१६ इस्ट जोनकप क्रिकेटको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्ने भएको छ ।

क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले १५ ओभरको समाप्तिमा चार विकेट लिँदा मलेसियाले २८ रन मात्र जोड्न सकेको छ। सुरुमा ब्याटिङको निम्तो पाएको मलेसियाका लागि चार जना ब्याट्सम्यान डिज प्याट्रोबाहेक कसैले पनि दोहोरो रन जोड्न सकेका छैनन। उनले ३२ बलको सामना गर्दा १० रन जोडेका हुन्। नेपालका लागि अभय यादवले दुई विकेट हात पार्दा शुभम् खनालले एक विकेट हात पारेका छन्।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल भेट पक्का गरेको हो।
समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।

नेपाल आज मलेसियालाई हराउँदै उपाधि जित्ने दाउमा छ। दोस्रो सेमिफाइनलमा भने आजै हङकङ र सिंगापुर भिड्दै छन्। हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो। सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *