दीपक मलहोत्राकै कारण एमाले बदनाम

राजनीति समाचार

काठमाडौं । भूमाफिया र तस्करहरु एउटा न एउटा राजनीतिक दल समातेर आफ्नो काम फत्ते गर्न पछि पर्दैनन् । सामसुङ मोबाइलको डिलरबाट व्यवसाय थालेका दीपक मलहोत्रा पछिल्लो समय सुन तस्करीमा लाग्दै आएका थिए । विदेशबाट मोबाइल ल्याएको बहाना बनाउँदै त्यसभित्र सुन लुकाएर ल्याउने गरेको आरोप उनीमाथि लाग्दै आउने गरेको थियो । मलहोत्रालाई सुन ओसारपसार गरेको आरोप लागेपछि बेलाबखतमा पत्रकार सम्मलेन गरेर आफू चोखिनको लागि केही मिडियाकर्मी र शक्तिकेन्द्रहरुलाई रिझाएर उनी उम्किँदै आएका थिए । सुन र मोबाइलको व्यापारमा विवाद आउन थालेपछि भूमाफियासँग साठगाठ गरी झापाको विर्तामोडस्थित गिरिबन्दु टि–इस्टेटको जग्गामा आँखा गाड्न पुगेका थिए ।

त्यसपछि मलहोत्रा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रयोग गरेर गिरिबन्दु टि–इस्टेटको जग्गा सट्टापट्ट गरी हडप्न लागिपरेका थिए । सो जग्गा हडप्नको लागि तत्कालीन भूमि, सहकारी तथा गरीवी निवारणमन्त्री पद्मा अर्याललाई समेत प्रयोग गरिएको बताइन्छ । मन्त्री अर्यालका श्रीमान लक्ष्मीपति पौडेलले भूमाफियाको काम गर्दै आएका थिए । व्यवसायी दीपक मलहोत्रा र भूमाफियाहरुले झापाको विर्तामोडस्थित गिरिबन्दु टि–इस्टेटको जग्गा घडेरीको लागि प्रतिधुर ५ देखि १० लाख रुपैयाँसम्म पर्ने जग्गा सस्तो जग्गासँग सट्टापट्टा गरी आकर्षक ठाउँमा जग्गा किन्न पाउने आशामा अधिकांश व्यक्तिले विचौलियालाई पैसा बुझाएका थिए । कतिपय व्यापारीहरुले त्यसमध्येको ७० रोपनी जग्गामा होटेल, रेष्टुरेन्ट, लज र मेडिकल कलेज सञ्चालन गरेका छन् ।

गिरिबन्दु टि–इस्टेटको जग्गा विवादमा परेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरेर त्यसको पूर्णपाठ आएपछि झापाको गिरिबन्दु टि–स्टेटको जग्गा सरकारको नाममा आएपछि त्यहाँ व्यापार व्यवसाय गर्नेहरुको करोडौं रुपैया हिनामिना हुने भएको छ । त्यसैगरी अर्का भूमाफिया दीपक मलहोत्राले पनि जग्गा दिने नाममा सर्वसाधारणबाट अर्बौं रुपैयाँ उठाएका थिए । उनले गिरिबन्दु टि–इस्टेटको जग्गा दिने नाममा पैसा मात्रै उठाएका छैनन् । सर्वसाधारण जनतालाई सडकमा पु¥याउने काम गरेका छन् । उता जनताको भरपर्दो पार्टी भनेर चिनिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि गिरिबन्दु टि–इस्टेटको जग्गा हिनामिना प्रकरणमा मुछिएका छन् ।

एमाले अध्यक्ष ओली गिरिबन्दु टि–इस्टेटको जग्गा प्रकरणमा मुछिएपछि एमालेका आमकार्यकर्ताहरु त्रसित बनेका छन् । त्यसैगरी रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागिरहेको बेला एमालेले जोगाउन खोजेको भन्दै मिडियावाजी हुन थालेको छ । किन कि एमाले पार्टीभित्र अधिकांश नेता, कार्यकर्ताको सहकारीमा ठूलो लगानी रहेको छ । सहकारीका सञ्चालकहरु फरार भइरहँदा तीमध्ये अधिकांश एमालेका कार्यकर्ता पर्ने गरेको देखिन्छ ।

तिनीहरुलाई जोगाउनको लागि पनि एमालेले गृहमन्त्री रविलाई जोगाउन खोजेको चर्चा सार्वजनिक स्थलदेखि विभिन्न चोक, गल्लीहरुमा चल्न थालेको छ । गिरिबन्दु टि–इस्टेटको जग्गा प्रकरणले एमालेको बद्नाम भएको छ । त्योसँगै यति, ओम्नी, गोकर्ण रिसोट र गौशालाको धर्मशाला लिजमा दिने नाममा एमाले नराम्रोसँग मुछिएको छ । त्यस्तै अधिकांश स्थानमा सार्वजनिक जग्गा हडपेर पार्टी कार्यालय खोलेको आरोप पनि एमालेलाई लाग्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *