मुख्य सचिव र सिडियो बन्न कर्मचारीहरुको लबिङ

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मालदार मन्त्रालयमा आफू अनुकूलका सचिवहरु सरुवा गरिसकेका छन् । अब सरुवा गर्न बाँकी सचिवहरु पनि आफू अनुकूलका ल्याउन प्रयास गरिरहेका छन् । सचिवहरु पनि छेपारोले रङ्ग फेरेजसरी मालदार मन्त्रालयमा सरुवा हुनको लागि चलखेल गरिराखेका छन् । आगामी भदौ १५ पछाडि मूख्य सचिव लिलादेवी गौडतौलाको उमेर हदको कारण अवकास हुँदै छ । गडतौला अवकास भएपछि भावी मुख्य सचिवको लागि केही जेष्ठ सचिवहरु दौडधूप गरिराखेका छन् । तर, प्रधानमन्त्री ओलीले कनिष्ठ सचिव लिला गड्तौलालाई मुख्य सचिव बनाएपछि सचिवहरु अबदेखि सिनियर र जेष्ठताको आधारमा मुख्य सचिव नहुने भइयो भन्दै निराश भइरहेका छन् । हालका गृह सचिव एकनारायण अर्याल मूख्य सचिव बन्नको लागि न्वारनेदेखिको बल निकालेर लागेको कर्मचारी वृत्तमा चर्चा छ ।

अर्याल भारतको वाणिज्य राजदूत हुँदा ह्वाइट मनी कमाएको चर्चा छ । उनी जहाँ सचिव हुन्छन्, त्यहाँ केही काम पनि गर्दछन् । काम गरेसँगै आर्थिक लाभ लिन खुवी भएका व्यक्ति हुन् । अर्यालले मुख्यसचिव हुनको लागि प्रशस्त पैसा खर्च गर्ने बताइन्छ । ‘जुनजोगी आएपनि कानै चिरेको’ भनेजस्तै जुनसुकै पार्टीको सरकार आएपनि राम्रालाई भन्दा हाम्रालाई महत्व दिने गरिएको छ भन्दै कर्मचारीवृत्तमा गुनासो त्यत्तिकै छ । भदौको पहिला सातादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गर्दै छ । तर, सरकारले त्यो भन्दा पहिला नै सचिव सरुवा गरेर तमासा देखाइसकेको छ । अस्ति सोमबार मात्रै ठूलो मात्रामा सहसचिवहरु सरुवा गरेको चर्चा छ तर त्यसलाई सार्वजनिक गरिएको छैन । अब सरुवा हुन बाँकी सचिवहरु कहाँ–कहाँ पुग्ने हुन् एकिन भइसकेको छैन । त्योसँगै तत्कालीन सरकारले सहसचिव र उपसचिवलाई विभिन्न जिल्लामा सिडियो बनाएर पठाएको थियो ।

त्यो सरकारले बनाएका सिडियोहरुलाई हालको सरकाले परिवर्तन गर्ने तरखर गरिरहेको छ । अधिकांश मन्त्रालयका सचिवहरु मालदार मन्त्रालय गृहमा आउनको लागि लभिङ गरिराखेका छन् । तिनै लभिङमा रहेका सहसचिव र उपसचिवहरु मादलदार जिल्लाको सिडियो ताकिरहेका छन् । तर, कुन–कुन मन्त्रालयका सहसचिव र उपसचिवहरुले सिडियोमा बाजी मार्ने हुन् निश्चित भएको छैन । तर, नियमअनुसार अधिकांश जिल्लामा सहसचिवहरुलाई सिडियो बनाउने प्रावधान छ । तर, सोर्सफोर्स र लेनदेनको आधारमा उपससचिवलाई पनि सिडियो बनाउने गरिएका उदाहरण छन् ।

तत्कालीन सरकारका गृहमन्त्री रवि छामिछानेको पालामा २८ जना उपसचिवहरु सहसचिवमा बढुवा भएपछि सिंहदरबारमा थन्किएर बसेका थिए । ती बडुवा भएका सहसचिवहरुले सिडियो भएर जानको लागि गृहसचिव एकनारायण अर्याललाई मोटो रकम टक्र्याए सिडियो बनेका थिए । गृह सचिव एकनारायण अर्याल पनि पैसाको लागि जस्तोसुकै काम गर्न पछि नपर्ने व्यक्तिमा गनिन्छन् । हाल गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखक छन् । अब गृहमन्त्री लेखकले प्रहरी र सिडियो सरुवामा एकनायणलाई खटाउँछन् कि आफू अनुकूलको सचिव ल्याउँछन् त्यो हेर्न बाँकी छ । गृहसचिव एकनायण एमाले निकट कर्मचारी हुन् । अर्याल एमाले कर्मचारी संगठनका नेतादेखि पार्टीका शीर्ष नेताहरुलाई समेत गुमराहमा पार्न सक्ने व्यक्ति भएकाले गृहसचिवमै निरन्तरता पाउँछन् कि मुख्य सचिवमा बाजी मार्ने हुन् त्यो भविष्यले बताउने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *