काठमाडौं । कांग्रेस र एमाले सरकारले देश र जनताको पक्षमा काम गर्नेभन्दा पनि कहाँबाट आफू र आफ्नो पार्टीलाई कमिसन आउँछ, कसले दानदर्बे दिन्छ भन्ने ध्याउन्नमा दिन बिताइरहेको छ । ठूला दुई दलको सरकार बनेपछि त्यसको आडमा झन् संस्थागत भ्रष्टाचार, महंगी, कालाबजारी र अनियमितता फस्टाएको छ । सर्वसाधारणको काम हुन सकेको छैन । उल्टै तीन–तीन महिनामा कर्मचारी सरुवा गरेर विकास निर्माणदेखि सर्वसाधारण सेवाग्राहीको काम लथलिङ्ग अवस्थामा पुगेको छ । अस्ति मात्रै उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, भूमि तथा अभिखेल विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटा र अध्यागमन विभागका गोविन्द रिजाललाई सरुवा गरिएको छ ।
ती खाली विभागमा महानिर्देशक बन्नको लागि कर्मचारीहरुको होडवाजी सुरु भएको छ । उद्योग विभागको महानिर्देशक बन्न राजेश्वर ज्ञवाली लागिपरेका छन् । त्यसैगरी अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलाई हटाएर गोविन्द रिजाललाई पठाउने तयारी भइरहेको छ । त्यस्तै भूमि तथा अभिलेख विभागको महानिर्देशक बनाउन मोलतोल भइरहेको छ । उता, गृहमन्त्रालयले विभिन्न जिल्लामा सिडीओ सरुवा गर्ने तयारी गरिरहेको छ । लामो समयदेखि १२ जना सहसचिवहरु गृहमन्त्रालयको बरन्डामा थन्किएर बसेका थिए । त्यसरी बिनाजिम्मेवारी तलब खाएर बरन्डामा थन्किएर बसेका १२ जना सहसचिवमध्येबाट जसले बढी रकम दिन सक्छ उसलाई मालदार जिल्लाको सिडिओ बनाउने तरखर भइरहेको छ ।
बरन्डामा थन्किएर बसेका सहसचिवहरुमा लालबाबु कवाडी, नारायणप्रसाद अर्याल, श्यामकृष्ण थापा, गोविन्द प्रसाद रिजाल, सूर्यप्रसाद सेढाँईं, राजेन्द्रदेव पाण्डे, बासुदेव घिमिरे, रमेश ढकाल, धिरेन्द्र बस्नेत र प्रकाश पौडेल रहेका छन् । त्यस्तै सिडिओ बन्नकै लागि उपराष्ट्रपति कार्यालयबाट तोयानारायण सुवेदी, सामाजिक विकास मन्त्रालय सूर्खेतबाट दीर्घबहादुर पोखरेल र सामाजिक मन्त्रालय लम्बिनी प्रदेशबाट विनोदकुमार खड्का, गृहमन्त्रालयमा आएका छन् । उता, गृहमन्त्री रमेश लेखकले कैलाली, वैतडी, अछाम र सूर्चेतमा आफ्नो मान्छेलाई सिडिओ बनाउन लागिपरेका छन् । त्यसैगरी स्याङ्जा, लमजुङ्ग, गुल्मी, ललितपुर र रौतहटमा पनि सिडिओ फेरबदल गर्ने तयारी गरिँदै छ ।