हाम्रो परिवार शोकमा छ । हामी ५ दाजुभाई र ३ दिदी वहिनीको पिता, २ आमाको पति, १८ जनाको हजुरबुबा, ११ जनाको जिजुबुबाले ८८ वर्षको उमेरमा यो धर्ति छाड्नु भयो । हामीलाई प्रत्यक्ष भेटेरै, सामाजिक सञ्जालबाट, टेलिफोन लगायत विभिन्न माध्यमवाट समवेदना प्रदान गरिरहनु भएको छ । केहीले संस्थागत रुपमा श्रद्धाञ्जली तथा समवेदना रुपी बुवाको फोटो सहितको फ्रेम हस्तान्तरण गर्नुभएको छ । बुबाका २ जना श्रीमती, ५ छोराहरु, ३ छोरी र ५ वुहारीहरु विशेष चोखोनितो गरी धार्मिक मान्यता अनुसार वुबाको मोक्षकोलागि तपस्यामा बसेका छौं । तपस्या नैं त हामीले के गर्न सक्थ्यौं । तैपनि अरुबेला भन्दा फरक परिवेशमा वसिरहेका छौं । शोकमा रहिरहँदाका केही अनुभुतीहरु यहाँहरु समक्ष प्रस्तुत गर्ने कोसिस गरिएको छ ।
कोरा
चारकुनामा निगालो ढड्याएर काँचो धागोले घेरिएको पराल ओछ्याएको स्थानलाई कोरा भनिंदो रहेछ । हामी ५ जना दाजुभाई त्यसै भित्र छौं । हाम्रो छेउमा कहिल्यै ननिभ्ने गरि दियोमा वत्ति बालिएको छ । माटोको सानो गाग्री जस्तो हण्डोलाई झुड्याएको छ । हाम्रो अधिकांश समय यहि वित्छ । विहान उठ्यो नित्य कर्म ग¥यो । पुरोहित आए पछि नुहाउने, बुवाको नाममा पानी रुपी अञ्जुली दिने, सुमेरुमा पिण्ड दिने पूजा गर्ने काम १० दिनसम्म हुने गर्दछ । पिण्डदान लगायतका धार्मिक काममा जेठो छोराको प्रधान भुमिका हुने रहेछ अनी खानपिन तयारीमा कान्छाको भन्ने चलन रहेछ । म साहिंलो छोरोको खासै भूमिका देखिएन । यसरी कोरामा बसेको ५ दिन देखि ९ दिनसम्म १६ अध्याय भएको गरुड पुराण पण्डितबाट वाचन हुने गर्दछ ।
पण्डित पुण्य प्रसाद सुवेदीबाट हामीले सो पुराणको पाठ तथा कथा सुन्न पायौं । पितृ मोक्ष कर्म १३ दिनसम्म विशेष हुने भए पनि तेह्रौ दिनको कर्मका दिनमा सोमवार र वुधवार परेमा गर्न नमिल्ने चलन भएकोले १२ दिन मात्र वस्नु परेको थियो । तथापी खास कोरामैं वस्ने भनेको दशौं दिनको विहानसम्म रहेछ । यस बेलामा हरेक विहान साबुनको प्रयोग नगरी नुहाउने पर्ने रहेछ । तिल जौ मिसाएको पानी प्रयोग गरि नुहाउने अनी बायाँ घुँडा टेकेर अञ्जुली पानी दिनु पर्ने रहेछ । पहिलो दिन ३६ अनी दिनको १ अञ्जुली वढाएर दिनु पर्दोरहेछ ।
हामीलाई प्रत्यक्ष रुपमा समवेदना दिनेहरु नैं ६ सय भन्दा वढि हुनु भयो । ८ वटा संस्थाहरुले वुबाको फोटो फ्रेम सहित हाम्रो परिवारलाई समवेदना पत्र हस्तान्तरण गर्नुभयो । कुनै संस्थाहरुले यहि आएर श्रद्धाञ्जली सभा तथा १ मिनेट मौण धारण कार्यक्रम राख्नु भयो । आगन्तुकहरुले बुबाका वहुआयमिक पक्षका बारेमा हामीलाइ सुनाउनु भयो । हाम्रो बुवासँग जिवन जिउनकोलागि आवश्यक पर्ने धेरै सिपहरु थिए । लुगा सिलाउने, हलो हरिस बनाउने, पुरेत्याई गर्ने सिप थियो । डोको डालो फुङ्गलो, चित्रा, भकारी, डोरी, नाम्लो दाम्लो, घुम बनाउनु हुन्थ्यो । छरछिमेकलाई विक्रि वितरण समेत गर्नु हुन्थ्यो ।
सामाजिक सञ्जाल खास गरी फेसवुकबाट समवेदना दिनेहरु धेरै हुनुभयो । यस क्रममा फोनहरु पनि धेरै बजे । हाम्रो परिवारले यो परिवेश पहिलो पटक भोग्दै थियो । हामी अलमलिएका थियौं । आफन्त तथा साथीभाइ एवं अग्रज अनुभवीको वचनहरु हामीलाई सहयोगी भए ।
भेट्न आउनेहरुको प्रकृति फरक फरक देखियो । कोहीले वुवाको विशेषताको वर्णन गर्नु हुन्थ्यो । कतिपयलाई आएर वोल्न कठिन भएको महसुस हुन्थ्यो । कतिपय व्यक्तिहरु केहि नवोली नैं फर्कनु हुन्थ्यो । कतिपयले सान्त्वना दिएका थिए । मलाई पनि यस्तो ठाउँमा कसरी के बोल्ने होला भन्ने लाग्दथ्यो । अरुलाई पनि त्यस्तै लाग्दो रहेछ भन्ने अनुभुती भयो । कतिपयले रमाइलो पाराले हँसाइदिने गफ गर्नु हुन्थ्यो । यो अति जरुरी रहेछ ।
भेटघाट र गफगाफ
करिब ३० जिल्लाका कोही न कोही उपस्थीत भएर हामीलाई समवेदना प्रकट गर्नु भयो । पूर्वमा संखुवासभा देखि पश्चिम डडेल्धुरासम्मका हाम्रा शुभचिन्तकको भौतिक रुपमा उपस्थीति रहेको थियो । चरिकोट आसपासका धेरैको उपस्थीति रहेको थियो । काठमाडौंबाट आउनेको संख्या पनि वाक्लै थियो । पारिवारीक नाता वाहेक हाम्रा बुबा आमाका सन्तान आवद्ध रहेका राजनीतिक दल, संघ, संगठन तथा संस्थाहरुबाट प्रतिनिधित्व गर्दै हामीसँग भेटघाट गर्ने र समवेदना प्रकट गर्नु भएको थियो । नेकपा एमालेका पोलिट्व्युरो सदस्य सहित प्रदेश, जिल्ला, नगर र वडा कमिटीको नेताहरुको उपस्थीति रहेको थियो । नेकपा एकिकृत समाजवादीका पोलिट्युरो सदस्य लगायतका जिल्ला स्तरका नेताहरुको उपस्थीति थियो । प्रदेश सभा सदस्य, भीमेश्वर नगरका प्रमुख उपप्रमुख सहितका जनप्रतिनिधिहरु र कर्मचारी टिम, मेलुङ्ग गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष, जिल्ला स्तरीय सरकारी कार्यालयका पदाधिकारीहरु उपस्थीत हुनु भएको थियो ।
समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपालको केन्द्रीय अध्यक्ष लगायतका टिम, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा वाग्मती प्रदेशका अध्यक्ष लगायतका टिम, ग्रिन डेभेलप्मेन्ट साकोसको टिम, नेपाल कुरियर सेवा संघका केन्द्रीय अध्यक्ष सहितको टिमको संस्थागत उपस्थीती रहेको थियो । त्यसै गरी भीमेश्वरमा रहेका विभिन्न सहकारी संस्थाहरु, विद्यालय लगायतका सामुदायिक संस्थाहरुबाट समेत समवेदना प्रकट गर्न उपस्थीत हुनु भएको थियो । हामी दाजुभाईहरु विच सामुहिक छलफल हरेक साँझ हुने गर्दथ्यो । दिनभर भएका गफ र आगन्तुकका विचारहरुका बारेमा समिक्षा गरिन्थ्यो । अर्को अनौठो पक्ष चाँही यस बेलामा को को आए को आउन बाँकी छ भन्ने याद हुँदो रहेछ ।
सुरु सुरुमा आउने आगन्तुकहरु मध्ये केही अनुभवीहरुले यो बेलामा गर्नु पर्ने गर्नु नहुने कामहरु वताउँथ्ये । यसरी सल्लाह दिने मध्ये अधिकांशहरुले हतोत्साही वनाउने सल्लाह वढि आउँथ्यो । ३ दिन पछि खाना रुच्दैन, छाला खुइलिन्छ, सकस पर्छ, नुहाउन सकिन्न, विरामी परिन्छ होस् गर्नु भन्ने जस्ता अनुभवी सल्लाहहरु सुनाउँथ्ये । यो मामलामा हामी सवै नयाँ थियौं, होला भन्ने लाग्दथ्यो । केहीले मात्र केही हुँदैन सजिलै पार गरिन्छ भन्ने अनुभव सुनाए । तर हामीलाई खासै असहज भएन । सायद धेरैले मुस्कील पर्छ भन्ने सुनेकाले पनि हामी पूर्व तयारी भएका छौ क्यार । खाना नरुच्ने पनि भएन, कोही विरामी पनि परेनौं । ध्यू पनि खायौं । मिश्री पनि खाइयो । फलफूल खानामा अलि वढि जोड गरियो । म चिनी रोगीलाई पनि खासै असर गरे जस्तो लागेन । एक छाक अर्थात विहान मात्रै खाना खाइन्थ्यो । नून नभएको खाना खाएकोले होला मेरो स्वास्थ्य पनि प्रतिकुल भएन । सायद हरेक रोगको कारण नैं नून रहेछ कि क्या हो भन्ने लागिरहेको छ ।
पिण्डदान, तर्पण र सञ्चार
कतिपय आगन्तुकहरुका गफ हावादारी लाग्दथ्यो । ताल न बेतालका गफ हुन्थ्ये तैपनि सुनिदिनु नैं पर्ने । कतिपयले दार्शनिक तथा तर्कसँगत कुराहरु गर्नु हुन्थ्यो । एक जनाले पिण्ड दिने पद्धतीको वारेमा गरेको तर्क मनन् योग्य थियो । नासाको कार्यालयमा भ्रमण गरेको प्रसङ्ग सुनाउँदै विज्ञानका चरम उपलव्धीहरु गितामा आधारित छ भन्ने पुष्टि गर्ने कोसिस गर्नु भयो ।
पिण्ड दिंदा कस्को नाममा दिने गोत्र र नाम भन्ने चलन छ त्यो भनेको अहिलेको फोन नं छ भनेर तर्क राख्नु भयो । पिण्ड र तर्पण दिने सोचबाट प्रेरित भैं यी आधुनिक सञ्चारका साधान आविस्कार भएका हुन् । संग्राहलयमा भएको पहिलो फ्याक्स मेसिनको अगाडी टुप्पी भएको व्राम्हणले पिण्ड दिंदै गरेको फोटो देख्न पाइन्छ भनी वताउनु भयो । उहाँले नासाको कार्यालयमा गिताको श्लोक धेरै देखेको आफैले हेरेको दावी गर्नु भयो ।
ओखती र दबाइ रोचक कुरा पनि आगन्तुकले सुनाउनु भयो । ओखती भनेको जराबाट उखलेर वनाउने जडिवुटी हो । यस्ले रोगलाई निर्मुल पार्दछ । दबाई भनेको रोगलाई दबाएर राख्ने मात्र हो । निर्मूल पार्दैन । यी यस्ता विषयमा तर्कपूर्ण छलफल गर्दा हामीहरु सवैलाई चाखका विषय हुन्थ्ये ।
आगन्तुकले ल्याएको सामाग्रीहरुको डङ्गुर नैं भयो । हरेक आगन्तुकहरुले केही न केही लिएर आउने चलन छ । फलफूल, चामल, ध्यू, चिनी, मिश्री एक कोठा भरी भएको छ । आउने आगन्तुकलाई फलफूल दिने चलन रहेछ ।
मृत्यू अन्तिम सत्य हो । मृत्यू पछि गरिने कर्महरु जाती तथा धर्म अनुसार फरक फरक पाइन्छ । सनातन हिन्दु धर्म अनुसार मृत्यू पछिको गरिने १३ दिने कर्मलाई विशेष रुपमा लिने गरिन्छ । हाम्रो परिवारले यो कर्म पहिलो पटक व्यहोरेको हो । हाम्रा परिवारिक नाता सदस्य, शुभचिन्तक सवैबाट व्यक्त भावपूर्ण श्रद्धाञ्जलीले हाम्रो बुबाको आत्माले चिरशान्ती पाउने आशा लिएका छौं । हामीलाई परेको दुखद घडीमा सहयोग सद्भाव र समवेदना प्रकट गर्ने प्रति हाम्रो परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।