काठमाडौं । पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच कटुवापाखाको एक हजार तीन सय रोपनी जग्गाका लागि सम्झौता भएको हो ।
धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसका अवसरमा बोर्ड र नगरबीच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । नगरप्रमसख अशोक ब्याञ्जू र बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसअघि बनेपा नगरपालिका–१० र १३ वडास्थित बाहुनडाँडा सामुदायिक वनमा अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माणको प्रक्रिया थालिएको छ । गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माण गर्ने योजना समावेश गरिएको थियो । डिसीका अनुसार सन् २०२६ भित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको छ ।
यसैबीच धुलिखेल नगर र दक्षिण कोरियास्थित मुङ्गयोङ्ग नगरबीच भगिनी सम्बन्ध कायम गरिएको छ । धुलिखेलको ३९औँ स्थापना दिवसकै अवसरमा आज दुई नगरबीच स्थापित भगिनी सम्बन्ध–सझदारीपत्रमा ब्याञ्जू र मुङ्गयोङ्ग नगरका प्रमुख ह्युन कोक सिङ्नल हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा संस्कृति, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

