काठमाडौं । पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना परियोजनाले १० मिलियन अमेरिकी डलर लगानी गरेर रोजगारी सिर्जना गर्ने भएको छ ।
पोखरा महानगरपालिकाले यस परियोजना मार्फत् १० मिलियन अमेरिकी डलरको लगानी गरेर तीन हजारभन्दा बढीलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको हो । फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरणको दाबी गरेको छ ।
प्रदर्शनी केन्द्र पोखराको पुरानो स्वरुप तथा अन्य कार्यक्रम गर्ने स्थललाई बिग्रन नदिने बरु सौन्दर्यीकरण गर्ने गरी कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोगमा सुरु गर्न लागेको हो । यही परियोजना अन्तर्गत कोसेली घरको शिलान्यास गरिएको छ । फोहोरबाट कोसेली बनाएर बेच्ने गरी यो घरको निर्माण थालिएको हो ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्ने छन् । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाडौंले पाएको छ ।
परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।

