रामचन्द्र बस्नेत
अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको लागि डोनाल्ट ट्रम्पको उदय भएपछि नेपाललगायत विभिन्न देशलाई दिँदै आएको सहयोग कटौती गरेको छ । त्यो कटौतीमा नेपालमा लागु भइसकेको एमसीसी परियोजना पनि परेको छ । स्थगित गरिएको उक्त एमसीसी परियोजना फेरि लागु हुन्छ कि स्थगित नै हुन्छ त्यो निश्चित भइसकेको छैन । अमेरिकाले दिँदै आएको सहयोग रोकेपछि नेपालको विकास निर्माण ओझेलमा पर्ने भएको छ । उता, उत्तरी छिमेकी मुलुक चीनले विगत लामो समयदेखि नेपालको विकास निमार्मणको लागि वीआरआई लागु गर्न खोजिरहेको थियो ।
तर, नेपालका राजनीतिक दलहरुबीच सहमति नहुँदा चीनले नेपालमा बीआरआई परियोजना लागु गर्न सकेको थिएन । उता, अमेरिकाले दिएको एमसीसी परियोजना लागु गर्ने कि नगर्ने भनेर दलहरुबीच संसद्मा भाडभैलो भइरहेको थियो । राजनीतिक दलहरुबीच भाडभैलो भएसँगै एमसीसी परियोजना पास गराएरै छाडिएको थियो । तर, अहिले अमेरिकाले अन्य सहयोग रोकेसँगै एमसीसी परियोजना पनि स्थगित गरेको छ । अमेरिकाले एमसीसी परियोजना स्थगित गरेपछि एकाएक उत्तरी छिमेकी मुलुक चीनले नेपालमा बीआरआई लागु गर्न गतिविधि बढाउन थालेको छ ।
चीनले नेपालमा बीआरआई लागु गर्न विभिन्न विषय विज्ञहरुसँगै राजनीतिक दलहरुसँग छलफल अगाडि बढाएसँगै काष्ठमण्डप डाइलगले यही चैत २ र ३ गते होटल याक एण्ड यतिमा वृहत्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथिमा सभामुख देवराज घिमिरे रहेका थिए भने अध्यक्षता एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए ।
अन्य अतिथिमा नेपालका विभिन्न विज्ञलगायत नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग रहेका थिए । विषय विज्ञ समितिले नेपालको भौतिक पूर्वाधार, पर्यटन विकास, आर्थिक विकास र सामाजिक सुधारको लागि बीआरआईलाई वैकल्पिक स्रोतको रुपमा लिइएको छ । त्यसले गर्दा पनि नेपालमा विकासका पूर्वाधारहरु सञ्चालन हुने आशा गरिएको छ । उत्तरी छिमेकी मुलुक चीनले पहिलादेखि नै नेपालमा विकास निर्माणदेखि आर्थिक सहयोग प्रदान गर्दै आएको थियो । अहिले अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग कटौती गरेपछि झन् छिमेकी मुलुक चिनले नेपालको विकास निर्माणको लागि चासो देखाएको छ ।
नेपालको विकास निर्माणमा चीनले चासो देखाएपछि अमेरिकाले पनि स्थगित गरेको एमसीसी परियोजना छिट्टै सञ्चालन गर्ने सम्भावना बढेर गएको छ । तर, नेपालका राजनीतिक दलहरुले छिमेकी मुलुकहरुको आशा र भरोसामा विकास बजेट तर्जुमा गर्ने गरेका रहेछन् भन्ने कुरा यतिबेला प्रस्ट हुन आएको छ । अहिले विदेशी दाता मुलुक अमेरिकाले सहयोग रोकेपछि नेपालका राजनीतिक दलहरुको ओठतालु सुकेको छ । नेपालमा रहेका अधिकांश एनजीओ आईएनजीओहरु धरापमा परेसँगै विकास निर्माण पनि धरापमा परेको छ । अमेरिकालगायत विभिन्न दाता मुलुकसँगै विश्व बैंकले दिँदै आएको सहयोगसमेत विगत केही वर्षदेखि कमी हुँदै आएको थियो । त्यसले गर्दा पनि नेपालको अर्थतन्त्र कमजोर बन्दै गएको छ । अहिले झन् अमेरिकाले अन्य सहयोगसँगै लागु भइसकेको एमसीसी परियोजना स्थगित गरेपछि नेपालमा आर्थिक समस्या झन् जटिल हुने देखिन्छ ।

