काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय पछिल्लो समयमा बद्नाम हुन पुगेको छ । सर्वसाधारणको लागि जतिबेला पनि ढोका खुल्ला रहेको मन्त्रालयभित्र २ बजे अगाडि छिर्न बन्देज लगाएपछि मन्त्रालय आलोचित बन्न पुगेको छ । श्रममन्त्रालयमा अस्ति साँझ बसेको बैठकले सो निर्णय गरेको थियो । मन्त्रालयका अधिकांश गोप्य डकुमेन्ट हराएको र पत्रपत्रिकामा छ्यापछ्याप्ती समाचार आएको भन्दै बैठकै बसेर सर्वसाधारणलाई प्रवेश निशेष गरिएको छ । यसले गर्दा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा ‘नाच्न नजान्नेलाई आँगन टेडों’ भन्ने उखान चरितार्थ भएको छ । मन्त्रालयका कर्मचारीले गोप्य सूचना बाहिर ल्याउने अनि त्यसको दोष सर्वसाधारणलाई थोपरेर सर्वसाधारणलाई सास्ती दिने काम गरिएको छ ।
मन्त्रालयको गेटमा प्रहरी राखेर समस्या लिएर आउने सर्वसाधारणलाई रोक्दै ‘तपार्ईँ यहाँको कर्मचारी हो कि अन्य भन्दै आइडी कार्ड माग्ने र कर्मचारी बाहेक अन्यलाई प्रदेश निशेष गर्ने गरेका छन् । अर्कोतर्फ सोही मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार विभागमा सुधारको नाममा महानिर्देशक कमल भट्टराई र सचिव कृष्णहरि कर्ण (पुस्कर)को कमाउधन्दा फस्टाएको छ । ताहचलस्थिति विभागदेखि कालीमाटी आसपासम्म विचौलियाहरुको लर्को लाग्ने गरेको छ । त्यस आसपासमा खोलिएका विभिन्न पसलहरुमा ‘यहाँ श्रम स्वीकृति दिइन्छ र अनलाइनबाट सबै काम छिटोछरितो हुन्छ’ भनेर लेखिएको पाइन्छ । त्यसआसापस हिड्ने जो–कोहीलाई कुन देश जाने हो ? यता आउनुहोस् यहाँ सबै काम हुन्छ’ भन्दै सेवाग्राहीलाई तानातान गर्ने गरिन्छ ।
यसरी विचौलियाले सर्वसाधारणलाई ठग्ने र कर्मचारीलाई त्यसको भाग बुझाउने गर्दै आएका छन् । उता, विभागका कर्मचारीहरुले बिनाघुस कम्प्युटर नै खोल्दैनन् । सचिव कर्ण र महानिर्देशक भट्टराईको मिलेमतोमा अनलाइन सेवाबाट सेवाग्राहीलाई छिटोछरितो सेवा दिने भनिरहँदा उल्टै विचौलियासँग मिलेमतो गरी यो या त्यो बहानामा काम अड्काउने र ढिलासुस्ती गरी पैसा असुल्ने धन्दा चलाइरहेका छन् । त्यसैगरी म्यानपावर कम्पनी अनुगमनको नाममा कर्मचारी खटाएर असुलीधन्दा चलाइएको बताइन्छ । उता, म्यानपावर नविकरणको नाममा लाखौ असुल्ने गरेको म्यानपावर व्यवसायीहरुको गुनासो छ । अर्कोतर्फ नयाँ म्यानपावर दर्ता गर्नको लागि विभिन्न बहानामा दुःख दिने र पैसा असुल्ने धन्दा फस्टाउँदै गएको स्रोतले बताएको छ ।
कतिपय म्यानपावर सञ्चालक र कर्मचारीहरुले सेटिङ मिलाएर नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउने गरिराखेका छन् । पछिल्लो समय अध्यागन कार्यालयले कडा गरेपछि म्यानपावर कम्पनी र केही भ्रष्ट कर्मचारीहरुको निद हराम हुन थालेको छ । वैदेशिक रोजगार विभागमा तत्कालीन सचिव र मन्त्रीले पठाएका कर्मचारीहरुलाई समयावधी नपुग्दै छानीछानी अन्यत्र सरुवा गरी सो ठाउँमा सचिव र महानिर्देशकका आसेपासेलाई सरुवा गरिएको छ । त्यसले गर्दा अहिले मन्त्रालय, विभाग र श्रम कार्यालयमा कमाउधन्दाको सेटिङ फास्टाएको छ ।

