काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले अवकाशलगत्तै परामर्श दाताको रुपमा काम गर्न र संवैधानिक नियुक्ति लिन नपाउने प्रावधान राख्ने तयारी गरेको छ ।
कुलिङ पिरियड राख्ने वा नराख्ने सहितका विषयमा मंगलबार सांसदहरुले यस विषयमा छलफल गरिरहेका छन् । निजामती सेवा प्रवेशका लागि पुरुषको हकमा अधिकतम उमेर ३५ वर्ष र महिलाको हकमा ३९ वर्ष राख्ने सहमती जुटेको छ ।
हाल महिलाको हकमा अधिकतम उमेर ४० वर्ष रहेको छ । ४० वर्ष राख्दा लोकसेवा आयोगको जाँच पास गरेर स्टाफ कलेजको तालिम लिएर नियुक्ति लिँदा केही समय व्यतित हुने र अवकाशमा जाँदा पेन्सन लिनका लागि केही वर्ष नपुग्ने समस्या भएकाले एक वर्ष कम गर्न लागिएको हो ।
निजामती कर्मचारीमा ट्रेड युनियनको विषय, अतिरिक्त सचिवको पद ब्युताउने विषय, अवकाशको उमेर ६० कसरी लागू गर्ने भन्ने विषयमा सांसदहरू छलफलमा छन् ।अधिकांश विषयमा भने सहमती जुटेको नेताहरू बताउँछन् ।

