काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएको सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।
यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।
सिमित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर, सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक बन्द गराइको छ ।
यसैबीच, १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्ड पूरा नगरी २५ शय्याभन्दा बढीको सेवा सञ्चालन गरिरहेको पाइएपछि, १५ दिनभित्र मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।
मुख्यमन्त्री सिँहले हालसम्म एक सय ५७ निजी स्वास्थ्य संस्थाहरूको अनुगमन गरिसकेका छन्। तीमध्ये १७ वटा अस्पताल मात्र मापदण्डअनुसार सञ्चालनमा रहेका पाइएका छन्। मापदण्ड पूरा नगरेका एक सय आठ स्वास्थ संस्था बन्द गरिएका छन् भने नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गर्न निर्देशन दिइएको छ।

