काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको ‘रमजान’ पर्व आज समापन हुँदैछ ।
यो सँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् । एक महिनासम्म सञ्चालन भएको रमजानमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन रहेको छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने परम्परा रहेको छ ।
रमजान उर्दू पात्रोअनुसार हिजरी संवत्को नवौँ महिना हो । रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।
अशक्तलाई दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन रहेको छ ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खालगायत हानिकारक खाद्यपदार्थ खाने बानीमा परिवर्तन आउँछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

