काठमाडौं । नेपालमा बर्षेनी कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
यसकारण विभिन्न जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । कृषकले यतिबेला मकै लगायतको खाद्यान्न तथा सागसब्जीका लागि आवश्यक पर्ने रासायनिक मल नपाउँदा कृषक मर्कामा परेका छन् ।
काभ्रे नेपालमै सबैभन्दा बढी रासायनिक मल खपत गर्ने जिल्लामा पनि बर्षेनि युरिया लगायतका रासायनिक मलको समस्या झेल्दै आउनु परेको किसानहरुले जानकारी गराएका छन् ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहकारीमार्फत कृषकका लागि कोटा प्रणालीमा रासायनिक मल उपलब्ध गराउँदै आएपनि मल वितरणमा त्यो पर्याप्त नदेखिएको कृषि कार्यालयले जनाएको छ ।प्रणाली लागू गर्दा त्यसको मूल्याङ्कन नगरी कम कोटा निर्धारण गरिएकाले बर्सेनि यस्तो झेल्दै आउनुपरेको यहाँका किसानहरुले बताउने गरेका छन् ।
अहिले खेतीपातीको सिजनमा रासायनिक मल अभावका कारण कृषकले एक हजार मूल्य पर्ने युरिया मल विचौलियासँग दुई हजार तीन सय देखि दुई हजार पाँच सयसम्म तिरेर मल किन्न बाध्य भइरहेका छन् ।

