काठमाडौं । लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ ।
धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्याङ्कअनुसार हालसम्म ७२ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३ दशमलव ९४ प्रतिशत हो । लुम्बिनी प्रदेशमा कूल तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ । प्रदेशमा कूल धानखेतीयोग्य जमिन छ लाख ८० हजार १५ हेक्टर जमिन रहेको छ ।
प्रदेशका जिल्लामा रोपाइँको स्थिति फरकफरक देखिएको छ । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा तीन लाख एक हजार आठ सय नौ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।
प्रदेश सरकारले धान उत्पादन वृद्धिका लागि प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवर्द्धन, रैथाने जात संरक्षणलगायत विविध कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ ।

