कुनै कर्मचारी संगठनमा गुटैगुट, कुनैमा सिला खोज्नुपर्ने

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत पुराना राजनीतिक दलभित्र विकृति, विसंगति झागिँदै गएपछि नेता र खाँटी कार्यकर्ताबाहेक अन्य सर्वसाधारण भोटरहरुले पार्टीको विकल्पमा नयाँ पार्टीहरु रोज्न थालेका थिए । ती पार्टीहरु पनि नेताहरुकै कारण छिन्नभिन्न हुन थालेपछि सर्वसाधारण जनता अर्को विकल्पको खोजिमा भौतारिन थालेका छन् ।

सर्वसाधारण जनतासँगै कर्मचारीहरुमा पनि त्यो रोग सल्किन थालेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलनिकट कर्मचारीहरुमा पनि टे«ड युनियनका नेताहरु बाहेक अन्य कर्मचारीहरुले संगठन छोड्न थालेका छन् । किन कि दलनिकट निजामती कर्मचारी संगठनहरुले कर्मचारीको हकहितमा काम गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थ र फाइदाको लागि आ–आफ्ना पार्टीका नेताहरुको चाकडी गर्ने, संगठनलाई भँजाएर खाने, कर्मचारी सरुवामा रकमको चलखेल गर्ने, राज्यको सेवासुविधा उपभोग गर्ने र संगठनको नममा देश, विदेश घुम्ने प्रवृत्तिले अन्य कर्मचारीहरुले संगठन छाड्न थालेका हुन् । कांग्रेस निकट कर्मचारी युनियनले त झन् ९ औं महाधिवेशन गर्नपनि नसकेर संगठन नै ध्वस्त भइसकेको छ ।

एमाले निकट कर्मचारी संगठनले महाधिवेशन गरे तापनि गुटैगुट हाबिहुँदा संगठन चलायमान बनाउन सकेका छैनन् । संगठनभित्र आबद्ध कर्मचारीहरु पनि तितरवितर भइरहेका छन् । उता, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका तत्कालीन अध्यक्ष हरि रावलले संगठन छाडेपछि माओवादी समर्थक कर्मचारीमा सिला खोज्नुपर्ने अवस्था पुगेको छ । त्यसैगरी पार्टी नै तहसनहस हुन लागेको एकीकृत समाजवादी निकट राष्ट्रिय सहकारी कर्मचारी संगठन त झन् अस्तित्वबाटै नामेट हुन पुगेको छ । अर्कोतर्फ मधेसवादी कर्मचारी युनियनमा वर्षौसम्म एउटै व्यक्ति नेता भइरहने, संगठनको अधिवेशन पनि नगर्ने र सरकार फेरिएपिच्छे अवसर हेरेर नेताहरु पार्टी परिवर्तन गरिरहने गर्दछन् ।

नयाँ दलतिर झुकाव राख्ने कर्मचारीहरु पार्टीका नेता नै विवादमा पर्न थालेपछि अर्को विकल्पको खोजीमा देखिएका छन् । त्यसैगरी विद्यार्थी, युवा, किसान, पत्रकार, प्राध्यापक, शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आबद्ध संघ, संगठनमा पनि भागबन्डामा खाइपाई आएका टिपिकल कार्यकर्ता र नेताबाहेक अन्य साधारण सदस्यहरुमा संगठनप्रति आकर्षण घट्दै गएको छ । दलनिकट पेशागत संघ, संगठनप्रति आकर्षण घट्नुमा त्यसभित्रका नेतृत्व, पदाधिकारी र कार्यसमितिमा रहेका व्यक्तिहरुले संगठनको हकहितमा काम नगरी आफ्नो व्यक्तिगत फाइदाको लागि मात्रै संगठनलाई भजाउने गरेकाले अन्य साधारण सदस्यहरुले संगठनप्रति झुकाव राख्न छाडेका छन् ।

किन कि एउटै व्यक्ति संगठनको नेता, त्यही व्यक्ति राजनीतिक नियुक्तिदेखि विभिन्न अवसरको उपभोग गर्ने, त्यही व्यक्ति सहयोग, दान र पुरस्कृत हुने प्रवृत्तिले गर्दा दलनिकट पेशागत संघ, संगठनमा झुकाव राख्ने साधारण सदस्यहरु विकल्पको खोजीमा देखिन्छन् । दलका नेताहरुले पनि पेशागत संगठनका नेताहरुलाई मात्रै प्राथमिकता दिने, अन्य सदस्यहरुलाई वास्ता नगर्ने कारणले संगठनप्रति आकर्षण घट्दै गएको छ ।

पेशागत संघसंगठनका नेताहरुको कारण संगठन त कमजोर भएको छ नै त्योसँगै दलहरुप्रति नै आस्था घट्न थालेको छ । यसले गर्दा ‘दलहरुको मिसन ८४ ले’ नराम्रोसँग घुँडा टेक्ने देखिन्छ । एमाले कर्मचारी संगठनका महासचिव आरसी अधिकारीले निर्वाचन जितेदेखि अफिसमा हाजिरै नभईकन कर्मचारी सरुवा गरेर उठाउने धन्दामा लागेको कर्मचारीहरुले गुनासो गर्न थालेका छन् । न उठाउनु पनि किन ! देशमा महँगी बढेको छ, तलबको भरमा घरपरिवार पाल्न गाह्रो छ त्यसले गर्दा आरसीको काम पैसा उठाउने भन्दा अन्य नभएको पिडित कर्मचारीले उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *