काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्न प्रक्रिया अघि बढाएको छ ।
अर्थ मन्त्रालयले रुग्ण उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । प्रक्रियाका लागि मन्त्रालयले यसका लागि आशय पत्र मागेको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, हेटौँडा र उदयपुर सिमेन्ट उद्योगलगायतका सार्वजनिक प्रतिष्ठानको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यताको अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गरिने उल्लेख गरेको छ ।
मन्त्रालयले पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कन (भ्यालुयसन) का लागि परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालनीको लागि आशय पत्र मागेको छ । यही असार २३ गतेसम्म जनकपुर चुरोटको सम्पत्ति मूल्याङ्कनको आशय पत्र पेस गर्ने भनिएको छ । यस्तै, असार २३ गते नै आशय पत्र खोल्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयले बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्टको सम्पत्ति मूल्यांकनका लागि असार २७ गतेलाई आशय पत्र पेस गर्ने मिति तोकिएको छ ।उद्योगहरूको लागि सोही दिन बोलपत्र खोल्ने जानकारी मन्त्रालयले दिएको छ । अर्थ मन्त्रालयका अनुसार रुग्ण चार उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गरेर मात्रै प्रक्रिया अघि बढ्ने छ ।