काठमाडौं । प्रतिनिधि सभाले आइतबार संघीय निजामती सेवा विधेयक पारित भएपछि फेरी चर्चामा रहेको छ ।
यो विधेयक पारित भएपछि बहुचर्चित ’कुलिङ पिरियड’ मा कर्मचारीहरुले चलखेल गरेको खुलासा भएपछि यो विषय चर्चामा रहेको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर सरकारले संसदमा पेश गरेको विधेयकमा पारित भएर आउदा अर्कै अर्थ लाग्ने गरि थपिएको खुलेको हो ।
यस अघि निजामती सेवा विधेयकबाट ‘कुलिङ पिरियड’ हटाउन सरकारका मुख्य सचिवसहित सचिवहरुले नै लबिङ गरेका थिए । तर समितिबाट पारित भएर गएको विधेयकमा कानुन तथा न्याय मन्त्रालय वा सामान्य प्रशासन मन्त्रालयमा गएको बेला परिवर्तन भएको देखिएको छ । तर यस बारे यो विधेयक पारित हुँदाको बखत सांसदहरुले थाहा नै नपाउने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ । ‘कुलिङ पिरियड’ मा कर्मचारीले एक किसिमको सर्जिकल स्ट्राइक गरेका छन् भने सांसदहरु र सिंगो प्रतिनिधि सभा हेरेको हेरै भएको विश्लेषण हुन थालेको छ ।
पारित भएको विधेयकको दफा ८२ को उपदफा ५ को क र ख बुँदामा सचिव र सहसचिव सेवा निबृत भएको दुई वर्षसम्म काम गर्न रोक्ने प्रावधानलाई एउटा ‘बाहेक’ शब्द थपेर चलखेल गरेको अहिले खुलासा भएको छ ।
अब यो विधेयक राष्ट्रियसभामा पुगेको छ र यसलाई अझै सच्याउन सकिन्छ भने सभामुखले पनि यसमा सुधारका लागि पहल गर्न सक्ने ठाउँ रहेको छ । अर्कोतर्फ सार्वभौम संसदमा गरिएको यो नियोजित कार्यमाथि छानबिन हुन्छ या हुदैन भन्ने प्रश्न उठेको छ । यो घटनालाई सामान्य रुपमा लिन सकिने अवस्था छैन । अर्को हिसाबले भन्ने हो भने सार्भभौम संसदमाथि कर्मचारीले धावा बोलेको अवस्था हो । यस विषयमा सभामुख, सांसद, मन्त्री र प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वले यस घटनालाई कसरी लिन्छन् भन्ने प्रश्न उठेको छ ।

