काठमाडौं । जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै यस बाढी सृजना भएको प्रारम्भिक निष्कर्षमा पुगेको छ ।
यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको र आगामी दिनमा भू-उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरुले समेत थप पुष्ट्याइँ दिन सक्ने बिभागले जनाएको छ । साथै विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने बताएको छ ।
विभागले रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटर माथि लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रको अध्ययन गर्दा हिमनदीको करिब बीच भूभागमा विकास भएको (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिएको उल्लेख गरेको छ ।
विभागले उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको र बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको यी दुई चित्रको तुलनात्मक अध्ययनले तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको उल्लेख गरेको छ । हिमतालको सतही स्वरुपमा बाढीपछि उल्लेख्य परिवर्तन देखिएको बताएको छ । समयावधीमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको महाशाखाले उल्लेख गरेको छ ।

